बजारमा धेरै भयो पैसा, वित्तीय प्रणाली कै तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस
बैंकमा ५५ खर्ब १५ अर्ब र अन्यमा ७ खर्ब १६ अर्ब गरी ६२ खर्ब ३१ अर्ब पैसा छ प्रणालीमा
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार ११:१०:८
३२ जेठ, काठमाडौं । केही दिनयता नेपाल राष्ट्र बैंकले निरन्तर बजारबाट पैसा खिच्दै आएको छ । बिहीबार १४ दिनका लागि ३५ अर्ब खिच्यो । आज शुक्रबार १४ दिनकै लागि थप ३० अर्ब निक्षेपमा बोलकबोल छ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज फेरि राष्ट्र बैंकले ३० अर्ब झिक्न लागेको हो । यसरी वित्तीय प्रणालीमा रहेको पैसा व्यवस्थापनमा राष्ट्र बैंकलाई सकस भइरहेको देखाउँछ ।
पर्याप्त तरलता रहे पनि केही बैंकहरू प्राथमिक पुँजी कोष र कुल पुँजी कोषको दवावमा छन । उनीहरूले अपेक्षाअनुसार कर्जा प्रवाह हुन सकिरहेको छैन । तर, पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलन बढिरहेको छ । निक्षेप बढे अनुसार कर्जा माग नहुँदा बैंकमा तरलता थुप्रिरहेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ६२ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको जनाएको छ । कुल निक्षेपमध्ये वाणिज्य बैंकमा मात्रै ५५ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ । विकास बैंक र फाइनान्स कम्पनीमा ७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बोलाएको थियो । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने नियम राष्ट्र बैंकले बनाएकोमा बोल कबोलमा क, ख र ग वर्गका वित्तीय संस्था मात्र सहभागी थिए । जसमा १६ बैंक तथा वित्तीय संस्थाले ५१ आवेदन मार्फत ५९ अर्ब १० करोडको निक्षेप संकलन सुविधा लिन तयार भए । बैंकहरुले न्यूनतम् २.९९०० देखि अधिकतम ३.०६०० ब्याजदर माग गर्दै उक्त रकमको स्थायी निक्षेप सुविधा उपयोग गर्न चाहे ।
राष्ट बैंकले भने ३.०२९२ ब्याजदरमा ३५ अर्ब निक्षेप लियो । बैंकहरुले माग भन्दा अधिक रकम निक्षेप संकलन उपकरणमा राख्न चाहेपछि केन्द्रीय बैंकले शुक्रबार १४ दिनका लागि थप ३० अर्ब निक्षेप संकलन गर्ने भएको हो । बैंकहरुले गत बुधबार मात्रै २४ अर्ब ७५ करोड रुपैयाँ बराबरको अधिक तरलता केन्द्रीय बैंकमा राखेका थिए । उक्त स्थायी निक्षेप मार्फत वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन नहुने भएपछि बिहीवार केन्द्रीय बैंकले १४ दिन अवधिको लागि ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको हो ।
कर्जाको माग नबढ्दा बैंक तथा वित्तीय संस्थामा ६ खर्बभन्दा बढी लगानी योग्य रकम थुप्रिएको छ । निक्षेप बढिरहे पनि त्यसको अनुपातमा कर्जा प्रवाह छैन । अर्थतन्त्रका बाह्य सूचकमा राम्रा देखिएपनि आन्तरिक तर्फ राम्रो छैन । बैंकहरु घट्दो ब्याजदरमा छन् । तरलता अधिक छ । कर्जा माग बढ्ने संकेत देखिएकै छैन् । कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थाको औसत कर्जा–निक्षेप अनुपात ८०.२० प्रतिशत छ ।
अर्कातर्फ अधिक तरलताले बढेको स्रोत लागत र निष्क्रिय कर्जाका कारण बढेको नोक्सानी व्यवस्थाले बैंकहरूको नाफा प्रभावित बन्दै गएको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाले कुल ५३ अर्ब ३१ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरे । गत आव सोही अवधिमा ६२ अर्ब ६० करोड ७० लाख नाफा आर्जन गरेकोमा चालु आव सोही अवधिमा नाफा १४.८६ प्रतिशत घटेको छ ।
बढ्दो सञ्चालन खर्च, अधिक तरलताले ब्याज आम्दानीको तुलनामा ब्याज खर्च बढ्दा खुद ब्याज आम्दानी बढ्न नसक्ने र कर्जा नोक्सानी व्यवस्था बढ्दा वाणिज्य बैंकहरूको नाफा नै प्रभावित बनेको हो । आव २०७८÷७९ मा नै बैंक तथा वित्तीय संस्थाले ८३ अर्ब ८४ करोड नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । उक्त नाफा गत आव ७७ अर्ब ७७ करोडमा झरेको थियो । चालु आव १० महिनामा गत वर्ष सोही अवधिभन्दा नाफा करिब १५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।
ब्याजदर घटेको छ भने बैंकहरूको कर्जा विस्तार हुन सकेको छैन । जसले गर्दा बैंकहरूसँग अधिक तरलताको अवस्था छ । अर्कातर्फ, गत आव अधिकांश बैंक मर्जरमा गएका कारण त्यसको लाभले कर्जा र निक्षेप बीचको भारित औसत ब्याजदर अन्तर थप एक प्रतिशत गर्न पाइने थियो भने २०७९ पुससम्म ४.४ प्रतिशत रहेको स्प्रेड दर २०७९ चैतमा ४.२ प्रतिशत हुँदै २०८० असारमा आउँदा राष्ट्र बैंकले ४ प्रतिशत कायम गर्यो ।
चालु आव १० महिनामा वाणिज्य बैंकहरूले ४ खर्ब ९४ अर्ब ४६ करोड ब्याज आम्दानी गरेर ३ खर्ब ३४ अर्ब ब्याज खर्च गरेका छन् । गत आव सोही अवधिमा ४ खर्ब ६२ अर्ब ४१ करोड ब्याज आम्दानी गर्दा ३ खर्ब ५ अर्ब ६६ करोड ब्याज खर्च गरेका थिए । ब्याज आम्दानी र खर्चबीच अन्तर खासै बढ्न सकेको छैन । चालु आव १० महिनामा ब्याज आम्दानी र खर्चबीच अन्तर १ खर्ब ६० अर्ब छ । गत वर्ष सोही अवधिमा यस्तो अन्तर करिब १ खर्ब ५७ अर्ब थियो ।
गत वर्षको तुलनामा ब्याज आम्दानीमा खर्च कटाएर हुने खुद आम्दानी करिब ३ अर्बले मात्रै बढेको देखिन्छ । तर, खर्च र नोक्सानी व्यवस्था भने बढ्दै गएको छ । वाणिज्य बैँकहरूको कर्जा नोक्सानी व्यवस्था ४४ अर्ब ८९ करोडबाट बढेर ६५ अर्ब ५३ करोड पुगेको छ । चालु आव मर्जरको लाभले थप स्प्रेड कायम गर्न पाइने सुविधा सकिएको र स्प्रेड दर नै घटेका कारण बैंकहरूको खुद ब्याज आम्दानी नै घटेको छ । ब्याजदर घट्दा पनि बैंकहरूसँग निक्षेप बढ्दा ब्याज खर्च बढेको छ । तर, व्यवसाय विस्तार अपेक्षाकृत हुन नसक्दा र स्प्रेडका कारण ब्याज आम्दानी भने सोही अनुपातमा बढ्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको मूल्य घट्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ १०, २०८१ बिहिबार
विनिमय दरः अमेरिकी डलरको मूल्य आज पनि बढ्यो
माघ ९, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
अमेरिकी डलरको मूल्य घट्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ १०, २०८१ बिहिबार