बीआरआईले लगानीको ढोका खोलेको छ, नेपालमा लगानी गरेर मनग्य फाइदा लिनुहोला : राष्ट्रपति भण्डारी
इन्द्र रिजाल
बैशाख १५, २०७६ सोमबार १:१७:३५
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)ले लगानीका थप अवसरका ढोका खोलेकाले यसबाट फाइदा लिन उद्यमी र व्यवसायीलाई आह्वान गरेकी छिन् । उनले नेपालमा हाल कार्यरत बहुराष्ट्रिय कम्पनीले लगानीबाट नाफा कमाइरहेको र यसबाट नेपाल लगानीका लागि आकर्षक गन्तब्य हो भन्ने पुष्टि भएको पनि उल्लेख गरेकी छिन्।
नेपाल–चीन आर्थिक तथा व्यापार मञ्च (नेपाल चाइना इकोनोमिक एण्ड ट्रेड फोरम) मा आज सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लगानी सुरक्षाका लागि व्यापक नीतिगत, संरचनागत सुधार गरिएको र वैदेशिक लगानी सहजीकरणका लागि चाँडै एकल विन्दू केन्द्र कार्यान्वयन गरिने र कर प्रणाली उद्धार र अनुमान योग्य बनाइने जानकारी दिइन् । उनले नेपालले सफलतापूर्वक लगानी सम्मेलन आयोजना गरेको र उक्त सम्मेलनमा चिनियाँ उद्यमीको सबैभन्दा ठूलो उपस्थिति रहेको उल्लेख गर्दै नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र चीनबाट पयर्टक सङ्ख्या गुणात्मक रुपमा वृद्धि होस् भन्ने चाहेको बताइन् ।
उनले नेपाल र चीन मित्रता र सहयोगको लामो इतिहास बोकेको छिमेकी मित्र भएको तथा भूगोल, संस्कृति र परम्पराले दुई देशका जनतालाई जोडेको तथा चीन नेपालको सबैभन्दा विश्वासिलो तथा भरपर्दो विकास साझेदार भएको र नेपालको सामाजिक विकास प्रयासमा चीन सरकार तथा जनता निरन्तर सर्मथन एवं सहयोग दिएको उल्लेख गरिन् । उनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा दुई मुलुकको सम्बन्ध सञ्चालन हुँदै आएको र एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धता बलियो र अटल भएको तथा नेपाली भूमि चीनविरोधी गतिविधि हुन नदिइने कुराको सुनिश्चित गर्न नेपालले ठोस कदम चालेको जानकारी दिइन् ।
‘‘२०१५ को सेप्टेम्बरमा प्रगतिशील संविधान जारी गरेर नेपालले राजनीतिक मुद्दा टुङ्ग्याएको छ । राजनीतिक सङ्क्रणकालको अन्त्य गरेको छ र यो नेपालको इतिहासमै सबैभन्दा बलियो स्थिर सरकार हो । सरकारसँग देश विकासका लागि स्पष्ट दृष्टिकोण, कार्यसूची छ । आधुनिक रुपान्तरण नेपालको प्राथमिकता हो । जनताका उर्लँदो अपेक्षा सम्बोधन गर्न समय खेर फाल्ने सुविधा छैन र ‘समृृद्ध नेपाल, सुखी नेपाली’ सरकारको सङ्कल्प हो । विकास प्रयासका केन्द्र नेपाली जनता रहेका छन्’’, राष्ट्रपति भण्डारीले भनिन् ।
उनले नेपालमा लगानीमैत्री वातावरण भएको राजनीतिक स्थायीत्वले नीतिगत स्थिरता दिई लगानीकर्ताको सुरक्षालाई सुनिश्चित गरेको, विकासका चुनौती ठूला र बहुआयामिक भएको, मुलुक प्राकृतिक स्रोतले भरिपूर्ण भए पनि विकासका सम्भावित लाभ लिन पर्याप्त भौतिक स्रोत साधन र प्रविधिको नभएकाले छिमेकीलगायत अन्तर्राष्ट्रिय समुदायको समर्थन र सहयोगको आवश्यक भएको बताइन् ।
मञ्चमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले तुलनात्मक रुपमा छोटो समयमा अभूतपूर्व विकास गरेको र गरीबीबाट समृद्धतर्फ गएको बताउँदै नेपालले यसलाई प्रशंसाको रुपमा हेरेको बताइन् र यस विकासको फाइदा लिन चाहेको उल्लेख गरिन् । उनले चीन नेपालको महत्वपूर्ण विकास साझेदार रहेको र सबैभन्दा ठूला व्यापार साझेदार तथा विदेशी लगानीकर्तामध्ये एक भएको बताइन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषद्का पूर्वअध्यक्ष जियाङ जेङवी, चीनको वाणिज्य मन्त्रालयका एशिया विभागका निर्देशक पेङ गाङ, चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) का संयुक्त आर्थिक समिति (इकोनोमिक ज्वाइन्ट कमिटी) का अध्यक्ष वाङ फुकिङ, सिङघुवा विश्वविद्यालयका बेल्ट एण्ड रोड पोर्टलका निर्देशक सी जिसिन, रेलवे इन्टरनेशनलका उपाध्यक्ष वाङ लिजी, हुआजियान इन्टरनेशनल ग्रुपका झाङ हुवारोङ, चाइना रेलवे फस्र्ट सर्वे एण्ड डिजाइन इन्स्टिच्यूटका झु लिजेङले आफ्नो धारणा व्यक्त गरेका थिए ।
साथै लगानी बोर्डका महाप्रसाद अधिकारी, उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रिजका राजेश काजी श्रेष्ठ, कन्फेडरेशन अफ नेपाली इन्डस्ट्रिजका अध्यक्ष सतिशकुमार मोरेले पनि आफ्नो धारणा राखेका थिए । सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले ‘नेपाल अ ल्याण्ड अफ अबण्डन्ट् अपरचुनिटी’ पुस्तकको विमोचन गरे ।
तीन सम्झौतामा हस्ताक्षर
नेपाल–चीन व्यापार तथा आर्थिक मञ्च (नेपाल चाइना इकोनोमिक एण्ड ट्रेड फोरम) मा आज नेपाल तथा चीनका विभिन्न पक्षबीच तीन सम्झौतामा हस्ताक्षर भएको छ । पहिलो हस्ताक्षर नेपाल लगानी बोर्ड तथा इकोनोमिक ज्वाइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजबीच सहयोगको संरचनाका विषयमा भएको थियो ।
दोस्रो हस्ताक्षर नेपाल ट्रान्स हिमालयन फ्रेन्डसिप सोसाइटी र इकोनोमिक ज्वाइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजबीच सोही विषयमा भएको थियो । तेस्रो हस्ताक्षर चाइना ओभरसिज डेभलपमेन्ट एसोसिएशन तथा नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबीच सझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
नेता नेपाल स्वदेश फिर्ता
नेपाल कम्युनिष्ट पार्टी ने क पाका वरिष्ठ नेता माधवकुमार नेपाल छिमेकी चीनको बेइजिङमा भएको दोस्रो ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ का लागि अन्तर्राष्ट्रिय सहायता फोरममा भाग लिई आज स्वदेश फर्किएका छन् ।
स्वदेश फर्केपछि नेता नेपालले आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रभाढ भएको र नेपालप्रति चिनियाँ नेताको सद्भाव देखिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । नेता नेपाल यही वैशाख ११ गते त्यसतर्फ गएका थिए ।
बेइजिङबाट विशेष प्रतिनिधि सुरेन्द्र नेपालीको सहयोगमा
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार