यो एक वर्षमा मकवानपुरमा आमा र नवजात शिशुको मृत्यु भएन
नेपालबहस संवाददाता
भदौ १४, २०८१ शुक्रबार १२:६:५६
१४ भदौ, मकवानपुर । विगत केही वर्षअघिसम्म घरमा सुत्केरी गराउने मकवानपुरका गर्भवती पछिल्लो समय स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन थालेपछि मातृ मृत्युदर र शिुशु मृत्युदरमा केही सुधार आएको छ ।
स्वास्थ्य संस्थामा गएर नियमित गर्भवती जाँच गराउने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउनेको संख्या बढेका कारण मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले बताए ।
स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई सरकारले भत्तालगायत सुविधा दिनु, पछिल्लो समय बाटोघाटो बनेर यातायातको सहजता हुनु र स्वास्थ्य संस्थाप्रति विश्वास बढ्नुजस्ता कारणले स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउने दर बढ्दै गएको हो । घरमा सुत्केरी गराउँदा आमा र नवजात शिशु दुवैको ज्यान जोखिममा पर्ने गरेकाले पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेको संख्या पछिल्ला वर्षमा बढेको उनको भनाइ छ । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मकवानपुरमा सुत्केरी गराउने क्रममा कुनै पनि आमा र नवजात शिशुको मृत्यु भएको छैन ।
आव २०८०/८१ मा ६६ प्रतिशत गर्भवतीले स्वास्थ्य संस्थामा गएर सुत्केरी गराएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । आव २०७९÷८० मा ७६ प्रतिशत गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी गराएको थियो । मकवानपुरबाहेक काठमाडौँ, ललितपुर र भक्तपुरलगायत जिल्लाका स्वास्थ्य संस्थामा पुगेर पनि सुत्केरी गराउने गरेकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष संख्या केही कम देखिएको प्रमुख मिझारले जानकारी दिए ।
यस्तै स्वास्थ्य संस्थामा गएर गर्भजाँच गराउने गर्भवतीको सङ्ख्या पनि विगत वर्षको तुलनामा बढेको छ । गर्भजाँच कम्तीमा आठपटक गराउनुपर्ने हुन्छ । गर्भको नियमित जाँच गराउने गर्भवतीको संख्या आव २०७९/८० मा ३० प्रतिशत रहेकामा आव २०८०/८१ मा बढेर ४८ प्रतिशत पुगेको उनले बताए ।
स्वास्थ्य संस्थामा गएर पहिलोपटक गर्भवती जाँच गराउनेको संख्या शतप्रतिशत रहे पनि नियमित चारपटकसम्म स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलाको संख्या ५६ प्रतिशतमात्र रहेको उनले बताए । मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी ल्याउन प्रोत्साहन कार्यक्रम सञ्चालन भएको र सर्वसाधारणमा चेतनाको विकास हुँदै गएका कारण स्वास्थ्य संस्थामा गएर गर्भजाँच गराउने र सुत्केरी हुनेको संख्या बढेका कारण मातृ तथा नवजात शिशु मृत्युदरमा कमी आएको उनले जानकारी दिए ।
पुरानो सोच र चेतनाको अभावमा गर्भवती स्वास्थ्य संस्थामा नगई घरमै सुत्केरी हुने प्रवृत्तिमा सुधार हुँदै गएकाले मातृ तथा नवजात शिशु मृत्युदर विस्तारै घट्दै गएको हेटौँडा अस्पतालका चिकित्सक डा बिदुर भण्डारीले बताए । पहिला–पहिला थुप्रै समस्या थियो, चेतना पुगेको थिएन, दुर्गम ठाउँमा यातायात पुग्न सकेको थिएन, डा भण्डारीले भने, त्यही भएर गर्भवती अस्पताल नपुगी गाउँघरकै सुडेनीबाट सुत्केरी गराउने गर्दथे, जसका कारण थुप्रै आमा र बच्चाको मृत्यु हुन्थ्यो, अहिले धेरै सुधार आएको छ ।
अहिले धेरैको सोचमा परिवर्तन आएको छ, धेरैजसो गर्भवती नियमित गर्भजाँचसँगै स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउन थालेका छन्, जसले गर्दा आमा तथा नवजात शिशुको मृत्युदर कम भएको उनको भनाइ छ । गर्भवतीलाई सुत्केरी गराउने क्रममा जटिलता आउन सक्ने कुरालाई दृष्टिगत गरी जिल्लाका बर्थिङ सेन्टरमा गर्भवतीका लागि प्रतिक्षा कक्षको व्यवस्था मिलाइएको छ ।
गाउँमा गर्भवती बस्दा अचानक केही समस्या आउन सक्छ, त्यही भएर हामीले सुत्केरी हुनुभन्दा तीन–चार दिनअघि नै गर्भवतीलाई बर्थिङ सेन्टरमा बोलाउँछौँ, मनहरी गाउँपालिका–४ स्थित बर्थिङ सेन्टरका स्वास्थ्यकर्मी मीरा थापाले भनिन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार तीन वर्षअघिसम्म जिल्लामा ८३ प्रतिशत गर्भवतीले सामान्य सुत्केरी र १३ प्रतिशतले शल्यक्रिया विधिबाट सुत्केरी गराउने गरेकामा पछिल्लो आव २०८०/८१ मा सामान्य सुत्केरी गराउनेको सङ्ख्या ७७ प्रतिशमा झरेको र शल्यक्रिया विधिबाट सुत्केरी गराउनेको संख्या २२ प्रतिशत पुगेको छ । तिथिमिति हेरेर सन्तान जन्माउने, पीडा झेल्न नसक्नेलगायत कारण पछिल्लो समय शल्यक्रिया गरेर बच्चा निकाल्ने क्रम बढेको र यो चिन्ताको विषय भएको प्रमुख मिझारको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार