दशैंलाई आर्थिक रुपमा अधिकतम उपयोग गर्ने सम्भावना, राज्यसंयन्त्र चुक्दै
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार ११:४१:३७
नेपालको दशैं विशेष छ । विभिन्न व्यक्ति वा समूहले यसका सांस्कृतिक पक्षका बारेमा अनेक अर्थ लगाए पनि यो सबै नेपालीको अत्यन्तै महत्वको चाड हो । दशैंले धामिक, सांस्कृतिक रुपमा महत्व राख्ने मात्रै होइन नेपालका लागि आर्थिक रुपमा पनि यसको महत्व ज्यादै माथिल्लो छ । यसले नेपालको शहर र गाउँ दुवैको अर्थतन्त्रलाई पूण रुपमा सक्रिय बनाउँछ । दशैंको १५ दिनमा नेपालको अर्थतन्त्र जति सक्रिय बन्न जान्छ त्यस्तो अरु दिनमा हुँदैन । नेपालमा यस्ता सांस्कृतिक तथा धार्मिक चाड अनेकौं भए पनि दशैंले आफैंमा बढी महत्व राख्छ भने शहरको त भयो नै प्रायः सुस्ताइरहेको ग्रामीण अर्थतन्त्रलाई पनि सक्रिय बनाउने काम गर्छ ।
अर्थतन्त्र एउटा लयमा सक्रिय त पार्छ नै राज्यसंयन्त्रले बृहत् सोचका साथ पहल गथ्र्यो भने नेपालको अहिलेको भन्दा कयौं गुणा बढी सक्रिय पार्न सकिन्थ्यो । अहिले सामान्य रुपमा शहरमा बस्नेहरुले उपभोग्य सामग्री खरिद गरेर गाउँ लैजाने तथा गाउँमा उत्पादित सामग्री शहरमा जाने र शहरका सामग्री गाउँमा दूत गतिले बिक्रीका लागि जाँदा अर्थतन्त्र चलायमान बन्ने गरेको छ । सरकारले ग्रामीण पर्यटन तथा खेल पर्यटनको विकास गर्न सक्ने हो भने अहिलेको भन्दा कयौं गुणा अर्थतन्त्र चलायमान बनाउन सकिन्छ । सरकार यो बाटोमा चुकिरहेको छ ।
नेपालमा आन्तरिक बसाइँसराइ तीव्र गतिले बढिरहेको छ । यसका अनेक कारणहरू छन् । गुणस्तरीय शिक्षा र स्वास्थ्यको खोजी तथा रोजगारीका लागि शहर पस्ने क्रम बढिरहेको छ । ग्रामीण क्षेत्रमा सार्वजनिक विद्यालय त पर्याप्त छन् तर शिक्षाको गुणस्तर खस्कँदै गएको छ । अनेक कुराको अभाव झेलिरहेका विपन्न परिवारका छोराछोरीले सार्वजनिक विद्यालयबाट गुणस्तरी शिक्षा पाउन वञ्चित बन्दै गएका छन् । यस्तो अवस्थामा निम्नमध्यम तथा मध्यम वर्गका सर्वसाधारण गुणस्तरीय शिक्षाको खोजीमा शहरी क्षेत्रतिर बसाइँ सर्ने गरेका छन् । अर्को, ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच नै नहुने तथा भएकामा पनि गुणस्तरीय सेवा नपाउने भएकाले पनि गाउँको बसाइँ सहज बन्न छाडेको छ । ग्रामीण क्षेत्रमा विभिन्न कारणले खेती गर्न कठिन पर्ने र खेतीबाट उब्जाएका सामग्री पनि बजारसम्म पुर्याउन कठिन भएकाले पनि कृषकको आयले अहिलेको खर्च धान्न नसक्ने अवस्था आएको छ ।
यी सबै कारणले छोराछोरीहरू विदेश जाने र बाआमा सहित परिवार शहरमा राख्ने बाध्यता बन्दा पनि बसाइँसराइ बढेको हो । यही अवस्थामा पनि दशैंका बेला आफन्त भेट्न गाउँमा जाने क्रममा कम्ती भएको छैन । अहिलेको दशैंको नवमीका दिनसम्म सडक मार्गबाट १३ लाखभन्दा धेरै सर्वसाधारणले काठमाडौं छाडेको तथ्यांक छ । हवाई मार्गबाट पनि ठूलो संख्यामा सर्वसाधारणले काठमाडौं उपत्यका छाडेका छन् । वर्षको एक पटक आफ्नो जन्मथलो वा पुर्ख्यौली थलोमा जाने लालसामा कमी भएको देखिन्न । विदेश भएका सन्तान पनि घर आउने र शहरमा भएका पनि गाउँ जाने क्रम चलेकै छ । शहरमा स्थायी बसोवास गर्नेहरू पनि दशैंमा आफन्त भेट्न गाउँ जाने तथा अस्थायी बसोवास गर्नेहरूका बाआमा गाउँमै रहने हुँदा दशैंमा जसरी पनि त्यता जाने क्रम चल्ने नै भयो । यसले अर्थतन्त्रलाई चलायमान गराउने गरेको छ ।
गाउँका उत्पादन शहर बजारमा बिक्रीका लागि जाने, शहरबाट पनि ग्रामीण आवश्यकता पूर्तिका सामग्रीको व्यापारिक माध्यमबाट जाने हुँदा दुवै क्षेत्रको अर्थतन्त्र चलायमान हुन्छ । यति मात्रै होइन उपहारका रुपमा गाउँ जाँदा लगिने सामग्री तथा गाउँबाट शहर फर्किँदा ल्याउने सामग्रीले पनि अर्थतन्त्रलाई चलमल बनाउँछ । यो त अर्थतन्त्रको सल्बलाउने एउटा पाटो भयो । यति मात्रै होइन अर्थतन्त्र सक्रिय बनाउने अरु पाटाहरु पनि छन् जो बेवास्तामा परिरहेका छन् । सरकारले ग्रामीण क्षेत्रका प्राकृतिक सौन्दर्य, सांस्कृतिक संरचनाको प्रवद्र्धन तथा संरक्षण गरेर आन्तरिक वा बाह्य पर्यटनको विकास गर्ने पर्याप्त सम्भावना छन् । पछिल्लो समय देशका विभन्न क्षेत्रमा बनेका अग्ला झोलुङ्गे पुलहरु, केही ठाउँमा निर्माण गरिएका आधुनिक उद्यानहरू तथा केही समययता सामाजिक सञ्जालबाट प्रचार प्रसारमा आएका विभिन्न मठमन्दिरहरूको अवलोकनमा आन्तरिक पर्यटकको आकर्षण बढ्न गएको छ ।
देशैभरि रहेका अग्ला नदी तथा खोंचहरुमा त्यस्ता झोलुंगे पुल निर्माणमा तीव्रता दिने, सुन्दर जंगल, डाँडा प्राकृतिक रुपमै व्यवस्थित गरेर उद्यानका रुपमा विकास गर्ने, क्षेत्र, संस्कार, संस्कृति अनुसार परम्परागत मौलिक खानेकुराहरूको प्रवर्द्धन गरेर आन्तरिक पर्यटकलाई आकर्षण गर्न राज्यको ध्यान केन्द्रित हुनु आवश्यक छ । पदयात्रा गर्न सकिने डाँडा, थुम्कालाई प्राकृतिक रुपमै व्यवस्थित गर्न सरकार लाग्नु आवश्यक छ । यसले दशैंको समयमा आन्तरिक पर्यटकको ओइरो लगाउन सकिन्छ । ती क्षेत्रमा अन्य पूर्वाधारको विकास हुन सके बाह्य पर्यटकको संख्या पनि बढ्न जान्छ । यसका लागि शासक, प्रशासकमा वृहत् सोच र योजनाको आवश्यकता हुन्छ । अहिलेसम्म सरकार यतातिर चुक्दै आएको छ ।
दशैंका बेला नेपालका गाउँहरू पनि सक्रिय हुने भएकाले संघ, प्रदेश र स्थानीय सरकारहरूले गाउँगाउँमा विभिन्न खेलकुदका कार्यक्रमहरुको आयोजना गरेर पनि आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ । व्यापक रुपमा त्यस्ता खेलकुदका कार्यक्रम आयोजना हुन सक्ने हो भने शहरमा बस्ने र गाउँमा बस्नेहरुबीचको विशेष सम्बन्ध कायम गर्न मद्दत पुग्नेछ । खेलकुदले ग्रामीण तथा शहरीया दुवै सर्वसाधारणलाई खुसी पनि दिन सक्षम हुनेछ । ग्रामीण क्षेत्रमा व्यापक रुपमा खेलकुदको आयोजना हुने हो भने गाउँ गएका शहरीयाहरु थप केही दिन गाउँमै रोकिने अवस्था सिर्जना हुन्छ । यसले ग्रामीण होटल, पसल, स्थानीय उत्पादनको खपत बढ्न जाँदा अर्थतन्त्र अझ बढी सक्रिय बन्न जानेछ । अर्थतन्त्र सक्रिय बनाउन सुझाइएका कुराहरू गर्न सरकारलाई कुनै ठूलो भारी पर्नेछैन । सडकदेखि अन्य विभिन्न आयोजनामा आवश्यक बजेटभन्दा अति न्यून रकम दिने प्रवृत्तिलाई रोकेर यो रचनात्मक काममा लगाउने हो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
ठूलो जनशक्तिलाई बेरोजगार बनाएको शिक्षाका कुरा गरौँ
पुष २, २०८१ मंगलबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार