प्रधानमन्त्री ओलीको दल विभाजन योजनाविरुद्ध किन उभिए शेखर ?
केदार भट्टराई (काका)
कात्तिक १२, २०८१ सोमबार १२:४४:४
१२ कात्तिक, काठमाडौं । कुनै बेला सभापति शेरबहादुर देउवासहित अधिकांश नेताहरूले नेकपा एमालेसँग मिलेर सरकार बनाउन नसकिने र नबन्ने तर्क गरिरहेका समयमा एमालेसँग मिल्नुको विकल्प नभएको भन्दै हिँडेका कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइराला यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्तै महत्वाकांक्षी योजनाको विपक्षमा बोलिरहेका छन् । उनले यसलाई आपराधिक कार्य भनेका छन् ।
संसद अधिवेशन अन्त्य भएदेखि प्रधानमन्त्री ओलीले भित्री रुपमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको तयारी थालेको थिए । सत्ता सहयात्री दल नेपाली कांग्रेससँग यसमा सहमति लिने कोसिस गरिरहेको बेला कोइराला अध्यादेशको विपक्षमा देखिए । दशैंभर विराटनगर बसेका कोइरालाले दल विभाजनसम्बन्धी अध्यादेशको विरुद्धमा बोले । काठमाडौं आएर पनि कांग्रेसका टोल समितिहरुले राखेका कार्यक्रममा पनि यही विषय उठाइरहेका छन् ।
दशैं लगत्तै बस्ने मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश लाने र राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी गरेका थिए । अन्तिम चरणमा कांग्रेस सभापति देउवासँग छलफल गर्दा उनले शेखरलाई नमनाएसम्म सहमति दिन नसक्ने बताएका थिए । त्यो बेला कोइराला विराटनगर भएकाले ओली र उनीबीच छलफल भएन । विपक्षी दलहरूले पनि विरोध थालेपछि ओलीले यस्तो अध्यादेश ल्याउने कुनै तयारी नभएको भन्दै अध्यादेश भने आवश्यक रहेको बताएका थिए ।
यो बीचमा शेखर कोइराला र प्रधानमन्त्रीबीच भेट भएको छैन । तत्काल अध्यादेश ल्याउँदा धेरै विरोध हुने देखेर भित्री तयारी गरिरहेपनि बाहिर ओली आफैंले तयारी नभएको भनेका छन् । तर, अध्यादेशको तयारी भने भइरहेको ओलीकै निकटस्थहरु बताउँछन् । विराटनगरबाट फर्किएपछि कोइराला दुई टोल समितिका कार्यक्रममा सहभागी भए । त्यसमा उनले दल विभाजनसम्बन्धी अध्यादेशलाई नै प्राथमिकता दिएर बोले । नेपाली कांग्रेस कामपा –३२ का टोल समितिले पेप्सीकोलामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पनि कोइरालाले अध्यादेशको विरोध गरे ।
कोइरालासँगै पूर्वमन्त्री एवं केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत पनि हिँडिरहेका छन् । डा. गोविन्दराज पोख्रेल, काठमाडौं कांग्रेस नेता लोकेश ढकालको टिम यतिबेला उनीसँग छन् । जहाँ कोइरालाले राजनीतिक दल विभाजन गर्ने आपराधिक कार्य नगर्न ओलीलाई चेतावनी दिए । दल विभाजन ऐन सरकारको प्राथमिकतामा पर्न नहुने उनको भनाइ थियो ।
उनले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने, मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा मर्न दिन नहुने भन्दै अध्यादेश छाडेर जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राखे । मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको पनि उनी बताइरहेका छन् । कोइरालाले मुलुकको समग्र विकासका लागि संघीयता आवश्यक रहेको तर, संघीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनतर्फ लाग्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
अझै पनि प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमै छन् । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग छलफलपछि ओलीले अध्यादेश ल्याउने कुरा केही समयलाई रोकेका मात्र हुन् । राति अबेरसम्म भएको छलफलमा ओलीले विभाजन सहज हुने गरी अध्यादेश ल्याउने विषयमा देउवाको साथ खोजेका थिए । तर, ओलीको प्रस्तावमा देउवा मौन मात्र रहेनन् शेखरलाई मनाउन सुझाव दिए । उक्त बैठकमा एमालेबाट महासचिव शंकर पोखरेल, अर्थमन्त्री समेत रहेका विष्णु पौडेल लगायत शीर्ष नेताहरूसमेत सहभागी थिए ।
कांग्रेसबाट सभापति देउवासहित गृहमन्त्री समेत रहेका रमेश लेखक, महामन्त्री गगन थापा लगायत नेताहरू सहभागी थिए । एमालेको सचिवालय बैठकबाट ओलीले अध्यादेश ल्याउनका लागि म्यान्डेट पाएसँगै देउवासँग छलफल गरेका थिए । अध्यादेश ल्याउने विषयमा प्रधानमन्त्री ओली र देउवाजीबीच छलफल चलिरहेका बेला विपक्षी दलहरू ध्यानाकर्षण पत्र बोकेर राष्ट्रपति कार्यालय पुगेका थिए । अध्यादेश ल्याउन एकपटक शेखरसँग सल्लाह गर्नु भनेर देउवाले ओलीलाई सुझाव दिएदेखि शेखर यसको विरुद्धमा बोलिरहेका छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
आज यी चार प्रदेशमा छिटपुट वर्षाको सम्भावना
माघ १, २०८१ मंगलबार
६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन, लक्ष्य भेट्टाउन सकेन
माघ १, २०८१ मंगलबार
फेरि सक्रिय हुँदै समाजवादी मोर्चा, आज कार्यदलको बैठक बस्दै
माघ १, २०८१ मंगलबार
मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, आज कार्यदलको पहिलो बैठक
माघ १, २०८१ मंगलबार
बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : नेता कोइराला
माघ १, २०८१ मंगलबार
मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक
माघ १, २०८१ मंगलबार