गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
नेपालबहस संवाददाता
कात्तिक २४, २०८१ शनिबार ६:५९:५९
२४ कात्तिक, काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलबाट पहिलोपटक आज अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेका छन् । “गौतमबुद्ध विमानस्थल उद्घाटन भएपछि पहिलोपटक यती धेरै सङ्ख्यामा उडान हुन लागेको छ, यसले यो विमानस्थल आगामी दिनमा व्यावसायिक उडानहरु बढ्नेछन् र यात्रुहरुको आकर्षण पनि बढ्नेछ”, उनले भने ।
नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो । योसँगै गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ ।
साथै थाई एयर एसियाले शुक्रबार दोस्रोपटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको छ । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । कम्पनीले साताको दुई दिन (सोमबार र बिहीबार) बैङ्कक उडान गर्नेगरी उडान अनुमति लिएको छ । गौतमबुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ ।
उडान तालिकाअनुसार आज बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरको विमान भैरहवा अवतरण हुँदैछ । यो विमान भैरहवाबाट बिहान साढे ८ बजे कुवेत फर्किनेछ । यसअघि १० महिना उडान भरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।
यस्तै फ्लाई दुबईको विमान पहिलोपटक भैरहवा विमानस्थलमा अवतरण हुँदैछ । आज दिउँसो १२ बजे फ्लाई दुबईको विमान भैरहवा आउने महाप्रबन्धक तिवारीले जानकारी दिनुभयो । भैरहवाबाट यात्रु लिएर फ्लाई दुबईको विमान काठमाडौँ भएर दुबई फर्किने तालिका छ । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो ।
नेपाल एयरलाइन्सको भैरहवाबाट दुबई र क्वालालम्पुर उडान
नेपाल एयरलाइन्सले भैरहवा विमानस्थल बेस बनाएर मलेसियाको क्वालालम्पुर र दुबई उडान भर्दैछ । शुक्रबारका लागि निर्धारित नेपाल एयरलाइन्सको विमानको उडान समेत आजलाई सारिएको महाप्रबन्धक तिवारीले बताउनुभयो । नेपाल एयरलाइन्सले प्राविधिक कारण देखाउँदै शुक्रबारको उडान शनिबारलाई सारेको जनाएको छ । नेपाल एयरलाइन्सको विमान काठमाडौँबाट भैरहवा अवतरण गरी दुबई उड्ने विमानस्थलले उडान तालिका बनाएको छ ।
नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा साताको मङ्गलबार एक उडान भर्नेछ । यो एयरलाइन्सको विमान बिहान ७ बजे भैरहवा अवतरण हुनेछ । यो गन्तव्यमा नेपाल एयरलाइन्सले अघिल्लो वर्ष उडान सुरु गरेको थियो ।
दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । पछि प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगित गरेको थियो । फ्लाई दुबईले कात्तिकदेखि दुबई–भैरहवा र भैरहवा–काठमाडौँ हुँदै दुबई उडान भर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो । विमानस्थल उद्घाटन भएको लामो समय भए पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका निजी क्षेत्र निराश भएका छन् । सुरुआती उडान गरेका जजिरा एयरले पनि केही समययता उडान रोकेको थियो ।
दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजनाअनुरुप गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले बताए । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ ।
अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेकाले सोही बमोजिम आवश्यक प्राविधिक जनशक्तिदेखि सबैखाले तयारी गरिएको छ । प्राधिकरणले अन्तर निकायसँग समन्वय र छलफल गरिरहेको छ । अध्यागमन, भन्सार कार्यालय, सुरक्षा निकायको सबैखाले तयारी भएको छ । अध्यागमनमा यात्रु डेस्क निर्माण भएको छ । प्राविधिक पक्ष व्यवस्थापन गरिएको छ । विमानस्थलमा २१ यात्रुसेवा काउन्टर छन् । उपकरण जडान भई अटोमेसनको काम भएको छ ।
टिआइएको स्तरोन्नति सुरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टिआइए० को स्तरोन्नतिको काम शुक्रबार रातिदेखि सुरु भएको छ । काठमाडौँ विमानस्थल मर्मत र विस्तारको काम सुरु भएकाले गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेको हो ।
नेपाल नागरिक उड््डयन प्राधिकरणले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिना विमानस्थल विस्तार गर्न लागेको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ ।
सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । सोही योजनाअनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान गर्न लागेका हुन् ।
अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाएको विमानस्थलका अधिकारीले बताएका छन् । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज घोषण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलहान नगरपालिकाले गर्यो प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
पुष २३, २०८१ मंगलबार
अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
प्रि-ओपन सेसन नेप्से १३.६५ अंकले बढ्यो
पुष २३, २०८१ मंगलबार
सुनको भाउ आज पनि स्थिर, चाँदीको बढ्यो
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट चीनमा कम्तिमा ३२ जनाको मृत्यु, ३८ घाइते
पुष २३, २०८१ मंगलबार
लहान नगरपालिकाले गर्यो प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार