अब सम्झनामा मात्र रहे पूर्वसभामुख दमननाथ ढुंगाना, सोमबार अन्तिम संस्कार गरिने
नेपालबहस संवाददाता
मंसिर २, २०८१ आइतबार १७:१६:४९
२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको हो । उनी २०४८ सालमा काठमाडौंबाट निर्वाचित भएपछि प्रतिनिधिसभामा सभामुख बनेका थिए । अस्पतालका सूचना अधिकारी कृष्ण नेपालीका अनुसार उनलाई घरबाट अस्पताल ल्याइपु¥याउँदा उनको निधन भइसकेको थियो । ८३ वर्षको उमेरका उनको निधन भएको हो ।
आइतबार निधन भएका उनको सोमबार बिहान अन्तिम संस्कार गरिने भएको छ । वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनको श्रीमती, दुई छोरा र एक छोरी छन् । ढुंगानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । गणतन्त्र स्थापनाका लागि भएको २०६२÷०६३ को आन्दोलनमा नागरिक आन्दोलनको अगुवाइ गर्नेमा ढुंगाना पनि थिए । वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगानाले लामो समय वकालत पेश अंगाले ।
नागरिक अधिकार र लोकतान्त्रिक व्यवस्थाको सदृढीकरणका लागि निरन्तर लड्दै आएका ढुंगाना लामो समय सक्रिय राजनीतिमा नरहेपनि उनको विचार र उपस्थिति भने भइरहेको थियो । राज्य सत्ताको विपक्षीमा र लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आएका थिए । यस हिसाब उनी सत्तालाई खबरदारी गरिरहने प्रतिपक्षी नेता जस्ता थिए ।
२०४८ सालमा काठमाडौं क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा ढुंगाना निर्वाचित भएका थिए । त्यसपछि उनी सभामुख भए । ०४८ देखि ०५१सम्म उनी सभामुख भएर काम गरे । ०५१ मा पनि उनी चुनाव लडे, तर जित्न सकेनन् । पछिल्लोपटक ०७४ मा भक्तपुर–२ बाट चुनावी प्रतिस्पर्धा गरेका थिए । त्यहाँबाट पनि सफल हुन नसकेपछि उनी सक्रिय राजनीतिमा आउन छाडेका थिए ।
माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउने भूमिकामा ढुंगानाले धेरैपटक सहजकर्ताको भूमिका समेत खेलेका थिए । सभामुख भएको समय बाहेक उनले राज्यसत्ताको सुविधा समेत लिएनन् । उनी भन्ने गर्थे, लोकतन्त्रका लागि जति मैले काम गरें, त्यति काम पार्टीका लागि गर्न सकेको छैन । ढुंगानाले २०२८ सालदेखि वकालत पेशामा लागेका हुन् । ०४६ साल सम्म सक्रिय वकालतमा थिए । बहुदलीय व्यवस्थपछि पार्टी राजनीतिमा सक्रिय भए । वकालतमा आउनु अघि ढुंगाना केही समय शिक्षक समेत भएका थिए ।
पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मााओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतले दुःख व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुःख व्यक्त गर्दै उनको मृत्युको खबरले आफू मर्माहत बनाएको बताएका छन् ।
पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुंगानाको निधनको खबरले मलाई मर्माहत बनाएको छ । पञ्चायतकालमा विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्नुभएको उहाँले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान बनाउनुभएको छ,’ उनले भनेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा ढुंगानाले पुर्याएको योगदानलाई मुलुकले सधैँ स्मरण गरिरहने राष्ट्रपतिको भनाइ छ ।
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले दुःख व्यक्त गरेका हुन् । ’२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी छु । नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवंगत मित्र दमननाथ ढुंगानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना !,’ उनले लेखेका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनले दुःखी बनाएको बताएका छन् । ‘नेपालको लोकतान्त्रिक आन्दोलनका महत्त्वपूर्ण व्यक्तित्व, पूर्वसभामुख, मानव अधिकार तथा नागरिक आन्दोलनका अगुवा आदरणीय दमननाथ ढुंगानाको निधनको खबरले दुःखी बनाएको छ । नेपाल र नेपाली जनताले देशको राजनैतिक तथा सामाजिक परिवर्तनमा उहाँले पुर्याएको योगदानलाई सदैव सम्झिरहनेछन् । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार