मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार १८:२९:३६
७ मंसिर, विराटनगर । देशको राजश्व संकलनमा कमी आएपछि राजश्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीको विशेष निर्देशनमा सम्बद्ध निकायले चासो लिइरहँदा विराटनगर लगायत कोशी प्रदेश क्षेत्रबाट व्यापक तस्करी शुरु भएको खबर छ ।
राजश्व चुहावट नियन्त्रण गर्ने मुख्य जिम्मेवारी पाएका राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी, सशस्त्र प्रहरी बल कोशी प्रदेश बराहा बाहिनीका डीआईजी शम्भु सुवेदी, नेपाल प्रहरी कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी चन्द्रकुवेर खापङकै सेटिङमै मातहतका निकाय र प्रमुख जिल्ला अधिकारीहरूको मिलोमतोमा संगठित तस्करी फैलिएको बताइएको छ ।
पुर्वी नेपालको प्रमुख व्यापारिक नाका रानी विराटनगर तथा काँकडभिट्टा नाका लगायत भारतसँग जोडिएका सीमावर्ती जिल्लाहरू इलाम, झापा, मोरङ र सुनसरीका प्रमुख नाका र खुला सीमावर्ती क्षेत्रबाट व्यापक रूपमा तस्करी बढेको देखिएको छ । तर नियमन र नियन्त्रण गर्ने निकाय नै सेटिङमा चलेपछि कसको के नै पो लाग्छ र ? यस क्षेत्रका डीआईजी, एसपी, सिडिओ र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान कार्यालयका उपअनुसन्धान निर्देशकदेखि चौकी इन्चार्जसम्मले आ-आफ्नो भाग खोज्दै घुमुवा खटाएर तस्करहरूबाट पैसा असुल्न थालेको स्थानीयहरू दावी गर्छन् ।
रानी भन्सार नाकाबाट यसरी हुँदैछ तस्करी
मोरङको प्रमुख व्यापारिक नाका रानी भन्सार नाकाबाट यतिबेला व्यापक तस्करी फस्टाएको छ । तस्करहरूले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको प्रदेश प्रमुखदेखि जिल्ला हुँदै इलाका र चौकी इन्चार्जसम्मलाई लाइन मिलाएर पुनः तस्करी शुरु गरेको स्थानीयहरूले नेपालबहसलाई बताएका छन् । तस्करहरूको विभिन्न समूहले मुख्य भन्सार नाकादेखि छोटी नाकाबाट दैनिक करोडौंको भन्सार छलीका सामाग्रीहरु दुवै तर्फ निर्वाध रुपमा पास गर्ने गरेको बताइएको छ । तस्कर समूहले नेपाल प्रहरी र सशस्त्र प्रहरी मात्र होइन भन्सार कर्मचारी, राजश्व अनुसन्धानका कर्मचारी, मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा गुप्तचर कार्यालय राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख उप अनुसन्धान अधिकृत तुलसी प्रसाईंसमेतलाई मिलाएर अवैध धन्दा चलाएको सो समाचार स्रोतको भनाई छ ।
यही मेसोमा रानी भन्सारबाट तस्करी गर्ने सन्ध्या नामक महिला तस्करबाट इलाका प्रहरी कार्यालय रानी विराटनगरका घुमुवा प्रहरी उरसिल उराउले लाइनवापत ३० हजार नगद बुझेको तथ्यसहितको भिडिओ नेपालबहसलाई प्राप्त भएको छ । नेपाल प्रहरीका सहायक हबल्दार उरसिल उराउले रानी भन्सारकै एउटा सटही काउण्टरमा राख्न दिएको ३० हजार नगद र कुराकानी सो भिडिओमा समावेश छ । कपडाको तस्करी गर्ने ती महिलाले बुझाएको पहिलो महिनाको लाइनको पैसा फिर्ता माग्दै ती प्रहरीलाई भन्छिन्, “मैले सुन राखेर एक लाख ल्याएको थिए, हिजो दिए तर बाङ खाए......अब यसरी त मेरो काम हुँदैन, अब कहाँबाट ल्याउनु फेरि ? मेरो पैसा फिर्ता ल्याउनुस्.....”
मोरङ मै कार्यरत एक प्रहरी अधिकृतले नाम नबताउने शर्तमा नेपालबहसलाई दिएको जानकारी अनुसार सो रकम जिल्लाका घुमुवा सई भुवन श्रेष्ठसमेतको भाग हो । पहिले ती तस्कर महिलाले इप्रकालाई मात्र ८ हजार दिने गरेकी थिइन तर जिल्ला एसपीका घुमुवा समेतको भाग दिनु परेको हो ।
यसै बीच यो समाचार तयार पार्दै गर्दा कोशी प्रदेशका डीआईजी चन्द्रकुवेर खापुङको निर्देशनमा बिना कारबाही १२ घण्टे रमानामा यी घुमुवा प्रहरी उराउलाई गत बुधबार भोजपुर लखेटिएको छ । भोजपुर दरबन्दी भएर पनि बिगत लामो समयदेखि रानी चौकीका बसेर घुमुवाको काम गर्दै आएका उराउले ९८२०५०४२८२ र ९७०९५३९६४३ का मोबाइल नम्बरको प्रयोग गरि तस्कर र व्यापारीसँग डिल गर्ने गरेका थिए । यी दुवै सीम भने उनले अर्कै व्यक्तिको नाममा लिएर तस्करसँग डिल गर्ने गरेको स्रोतको दावी छ ।
यसैगरी रंगेलीबाट जिल्लाको घुमुवा हुन तँछाडमछाड गर्दै आएका सई भुवन श्रेष्ठ पनि लखेटिनेमा परेको समाचार छ । उनलाई मोरङ कै प्रहरी चौकी निमुवा पठाइएको स्रोतले जानकारी दिएको छ । तर उनको दरबन्दी भने दंगा गण दुहबी हो । सई भुवनलाई आफ्नै दरबन्दीमा फिर्ता नपठाएर किन आकर्षक चौकीको इन्चार्ज बनाएर पठाइयो भन्ने चर्चा मोरङका प्रहरी अधिकृतहरू बीच हुन थालेको छ । फ्याक्ट्री एरिया तथा तस्करीका सामान सोही बाटो भएर इटहरी लगायतका ठाउँमा जाने चेक पोइन्टमा उनलाई काज खटाइएको हो ।
बिगत ६ वर्षदेखि मोरङ नछाडेका उनी असई हुँदा शुरुमा आकर्षक मानिने सीमा प्रहरी चौकी बखरीको इन्चार्जमा खटिएका थिए । त्यसपछि जिल्लाको घुमुवा हुँदै सईमा बढुवा भएपछि आकर्षक सीमा प्रहरी चौकीहरू मटिअर्वा, मझारे, अमाई बराते, सिक्टीमा इन्चार्जका रुपमा बसेका थिए । केही अघिसम्म रंगेली इप्रका बसेर पूर्वी नाका हेर्ने गरि जिल्ला घुमुवाको रुपमा काम गरेका भुवन श्रेष्ठले आफ्ना विश्वासपात्र प्रज रघु यादवलाई भने रंगेलीमै राख्न सफल भएका छन् । एक जुनियर प्रहरी अधिकृत भन्छन्, “हामी लगायत अधिकांशले एकपटक पनि चौकी इन्चार्ज पाउँदैनौँ तर उनलाई भने रोजी रोजी आकर्षक सीमा प्रहरी चौकी र घुमुवाका रुपमा खटाइन्छ किन ?” एक प्रहरी अधिकृत भन्छन्,“ सई भुवनलाई चौकीमा खटाएको देखाएर अरूको आँखा छल्न मात्र पठाइएको हो, उनको अहिले पनि खास काम मोरङ एसपीको घुमुवाका रुपमा तस्करसँग पैसा असुल्नु नै हो । नत्र त उनलाई आफ्नै दरबन्दी पठाइन्थ्यो नी ।”
मोरङका प्रहरी प्रमुख एसपी चिमरियाले खोले लाइन
मोरङका तत्कालीन एसपी नवराज कार्कीले अनलाइन जुवा तथा क्रिप्टो कारोबार गर्ने समूहलाई धम्काएर २५ लाख असुलेको आरोप लागेपछि हेडक्वार्टर तानिएका थिए । कार्कीलाई छानविनका लागि हेडक्वार्टर तानिएपछि राजन लिम्बुलाई त्यहाँ काज सरुवा गरिएको थियो तर दुई दिनमै उनको काज रद्द गरि दुहबी गण प्रमुख रहेका नारायण प्रसाद चिमरियालाई मोरङ काज सरुवा गरिएको हो ।
एसपी चिमरिया हाजिर भएको हप्ता दिनमै इप्रका रंगेली काजमा बसेर पूर्वी क्षेत्रको उठतीपुठ्तीमा रमाएका सई भुवन श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा झिकाएर घुमुवाको रुपमा परिचालन गरिएको थियो । त्यतिबेला उनको फूर्तिफार्ती हेर्न लायकको रहेको कतिपय प्रहरीहरू बताउँछन् ।
सरुवा भएको केही समय पर्ख र हेरको मनस्थितिमा रहेका एसपी चिमरियाले मंसिर १ गते शनिबारदेखि भने पूर्वी नाका र रानी भन्सार एरियाबाट व्यापक तस्करी लाइन दिएको स्रोतको दावी छ । उनले गाई गोरुदेखि कपडा, खाद्यान्न, चिनी, लसुन, प्याज, सुपारी, मरिच, धान, रक्सी, काजु किसमिस बदाम लगायतको तस्करी लाइन संगठित रुपमै खोलेको दावी समाचार स्रोतको छ ।
अहिले मोरङका प्रमुख व्यापारिक नाका रानी भन्सारदेखि अन्य छोटी नाकाहरूबाट दिनहुँ भन्सार छलेर करोडौंको सामान नेपाल भारत वारपार भइरहेको स्रोतले बतायो । रानी भन्सार, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान तथा सिडिओ सबैलाई मिलाएर संगठित तस्करी मौलाएको स्थानीयहरू बताउँछन् ।
भारतीय सीमा नाका रानीको १ नं. गेट, ढाँट, दरैया पोस्ट, दक्षिणगेट, उखुबारी, मटेरुवा, इस्लामपुर तथा पूर्वी नाकाहरू डुमरिया, डायनियाँ, रंगेली, सिक्टी, बोका चोपरा, अमाईबरातेबाट खुलेयाम तस्करी भइरहेको स्थानीयहरू बताउँछन् । तस्करहरूले भन्सार नतिरी लत्ताकपडा, खाद्यान्न एवं किराना आइटम, कस्मेटिक आइटम, सुर्ती, सुपारी, लसुन प्याज, धान, मोटरपाटर्स लगायतका विभिन्न सामानहरू ठूलो मात्रामा वारपार भइरहेको छ ।
विराटनगर भन्सारको १ नं. मेन गेटबाटै ५० औं जना झोलेपोके लगाएर तथा अन्य नाकाबाट टेम्पो, ट्याक्टर र मोटरसाइकलबाट तस्करी भइरहेको हो । तस्करहरूले माथिदेखि डिउटीमा खटिएका भन्सार कर्मचारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी बीओपी, सीमा प्रहरी चौकीका इन्चार्ज सबैलाई मिलाएर तस्करी धन्दा निर्वाध चलाउने गरेको स्थानीयको भनाई छ ।
यस बारेमा नेपाल प्रहरीका कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङसँग जिज्ञासा राख्दा तस्करी खुलेको बारे आफूलाई कुनै जानकारी नभएको बताए । आफू आएदेखि कोशी प्रदेशमा हुने तस्करी र अवैध धन्दा नियन्त्रणमा लागेको दावी गर्दै राजश्व चुहावट नियन्त्रणमा आफू इमान्दारितापूर्वक लागेको डीआईजी खापुङले बताए ।
यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमरियाले तस्करी भइरहेको भन्ने नेपालबहसको प्रश्नमा ठाडै इन्कार गर्दै भने,“कहाँ हुनु तस्करी ? यही आएर हेरे भइहाल्यो नी ! सबै कुरा गलत हुन । ” चोरी तस्करी नियन्त्रणमा प्रहरीको सक्रियता कै कारण अपाङहरु आज जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन गएको जानकारी दिए । उनीहरुले ब्हीलचेयरमार्फत खुद्रा समान बिना भन्सार ल्याउने गरेको सुनाउँदै सो काम रोकिएपछि सिडिओ सा'बकोमा डेलिगेशन गएको हुनसक्ने बताए । मोरङ प्रहरी चोरी तस्करी नियन्त्रणमा कडा रुपमा परिचालन भएको एसपी चिमरियाको दावी छ । सई भुवन श्रेष्ठ आफ्नो घुमुवा नभएको जानकारी दिँदै उनले आफूले कुनै पनि घुमुवा नराखेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार