ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार १२:२५:३९
११ मंसिर, काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्नेदेखि ७२ कम्पनीको आईपीओ जारी गर्नेसम्मको जिम्मेवारीसहित करिब ११ महिनापछि नेपाल धितोपत्र बोर्डले अध्यक्ष पाएको छ । पूर्वानुमान अनुसार नै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको हो । एमाले र माओवादी सरकारको समयमै नियुक्त हुन खोजेका श्रेष्ठलाई त्यतिबेला वर्षमान पुनले रोकेपछि सरकार नै ढलेको आरोप लागेको थियो । केही दिन अघि पुनले धितो पत्र बोर्डमा बिचौलियाहरुको चलखेल रहेको बताएका थिए ।
४२ खर्ब बजार पुँजीकरण भएको नेपाली शेयरबजारको नियामकले करिब एक वर्षको रिक्ततापछि नेतृत्व पाउँदा अध्यक्षको टेबलमा रहेका सबै फाइलहरू अब कसरी खुल्छन् भनेर हेर्न बाँकी रहेको छ । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण, वस्तु विनिमय बजारको लाइसेन्स वितरण, ७२ भन्दा बढी कम्पनीहरूको आईपीओ निस्कासनलगायतका दर्जनौं काम श्रेष्ठको टेबुलमा रहेका छन् ।
अध्यक्षका रूपमा श्रेष्ठले कार्यभार सम्हालेपछि सर्वाधिक पेचिलो विषय नयाँ स्टक एक्सचेन्जको लाइसेन्ससम्बन्धी फाइलमा नै रहेको छ । विचौलिया दीपक भट्ट, थर्मल गणको कालोबजारी गर्ने सुलभ अग्रवाल लगायतको टीमले नयाँ स्टक एक्सचेन्जको लाइसेन्समा राजनीतिक दबाब दिइरहेका छन् । गत आर्थिक वर्षमा नै पूर्वअध्यक्ष रमेश हमालले लाइसेन्स दिनका लागि आवेदन माग गरेका थिए। तर, उनले निर्णय प्रक्रियामा लैजान सकेनन् । धितो पत्र बोर्डले २०७९ असोजमा पहिलोपटक र २०७९ चैतमा दोस्रोपटक नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन माग गर्दा निर्णय दिन नसक्नुको मुख्य कारण प्रतिस्पर्धी व्यापारिक समूहको संघर्ष र शक्तिकेन्द्रमा तिनीहरूको प्रभाव नै मुख्य मानिएको थियो । लाइसेन्स दिन हमालले निकै प्रयास गर्दा पनि नसकेपछि निर्णयविहीन अवस्थामै छाडेर उनी बिदा भएका थिए ।
हाल लाइसेन्सका लागि तीनवटा स्टक एक्सचेन्ज प्रतिस्पर्धामा छन् । यस अगाडि सञ्चालन अनुमतिका लागि आवेदन माग गर्दा हिमालयन स्टक एक्सचेन्ज, अन्नपूर्ण स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्जले आवेदन दिएका थिए । धितो पत्र बोर्डको अध्यक्ष नियुक्ति नै विवादास्पद बनाएको एक्सचेन्जको लाइसेन्स वितरणमा नयाँ अध्यक्षले ‘बोल्ड डिसिजन’ गर्दै कुनै एउटालाई सञ्चालन अनुमति दिनुपर्नेछ । यसअघिका दुई अध्यक्षको कार्यकालदेखि नै विवाद बढेसँगै पेचिलो बन्दै आएको स्टक एक्सचेन्जको लाइसेन्स वितरण नयाँ अध्यक्षको प्रमुख चुनौती रहेको छ ।
धितो पत्र बोर्डबाट हुने नियमकीय कामबाट अर्बौँ लाभ उठाउने हिसाब–किताब सहित ठूला कर्पोरेट घरानाहरु एक आपसमा भिडिरहेका छन् । तीन वटा अर्थमन्त्रीले पनि अध्यक्ष नियुक्ति गर्न नसकेपछि यसमा कति ठूलो कर्पोरेट ‘डिल’ छ भन्ने कुरा अनुमान गरिएको मात्र होइन आरोप पनि लाग्दै आएको छ । बोर्ड अध्यक्ष नियुक्ति प्रकृया लम्बिए सँगै यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत प्रवेश गरेको थियो । बोर्ड अध्यक्ष नियुक्ति विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत ध्यानाकर्षण भइसकेको छ । २०८१ जेठ ३२ गते अख्तियारमा दर्ता भएको उजुरीमा धितो पत्र बोर्डको अध्यक्ष नियुक्ति र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकरणमा पाँच अर्ब कमिसनको खेल रहेको दाबी गरिएको छ । तर श्रेष्ठको नियुक्ति पछि अब हुने निर्णयले यसको असर देखिने बताइन्छ ।
बोर्डका पूर्व अध्यक्ष हमालको नियुक्तिको मुख्य शर्त नै नयाँ स्टक एक्सचेन्ज थियो । तर उनले कैयौं प्रयास गर्दा पनि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्न सकेनन् । नयाँ स्टक एक्सचेन्जलाई कर्पोरेट घरानाहरुले पैसा छाप्ने मेसिनको रुपमा परिभाषित गरिदिएका छन् । स्रोतका अनुसार नेपालका व्यावसायिक घरानाहरु स्टकको लाइसेन्स हात पार्नका लागि कुनै पनि सम्झौता गर्न तयार रहेका छैनन् । नयाँ स्टकको लाइसेन्स विवाद मिलाउन बालुवाटारमै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यस्थताको प्रयास गरेका थिए । सो मध्यस्थतामा दुई घरानाबीच कुटाकुट नै हुने स्थिति बनेको बताइन्छ ।
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिनका लागि त्रिपक्षीय भिडन्त जारी छ । केही व्यवसायीहरूको प्रतिनिधित्व गर्दै व्यवसायी दीपक भट्ट हिमालयन स्टक लिएर अघि बढेका छन् । यो स्टकमा हिमालयन रि–इन्स्योरेन्सका अधिकांश शेयरधनीहरु रहेका छन् । यसैगरी, गैर आवासीय व्यवसायीहरूलाई समेटेर नेशनल स्टक लिएर व्यवसायी दीपक तिमल्सिना अघि बढेका छन् । यस्तै, केपी ओली निकट रहेर काम गरिरहेका व्यवसायी रामेश्वर थापाले अन्नपूर्ण स्टक लिएर अघि बढेका छन् ।
नेकपा एमाले र नेकपा माओवादीको सरकारको समयमा केपी ओलीले वर्षमान पुनलाई मुख नै खोलेर पाँच जना मध्ये सन्तोष नारायण श्रेष्ठलाई बोर्ड अध्यक्ष बनाउन दबाब दिएका थिए । उनको दबाब अनुसार बोर्ड अध्यक्ष नियुक्त नहुनु र सरकार पनि सोही समयमा ढलेपछि प्रमुख विपक्षी दल नेकपा माओवादीले सरकार ढल्नुको मुख्य कारण नै बोर्ड अध्यक्ष भएको दाबी गरिरहेको छ । बोर्ड अध्यक्ष नियुक्तिकै कारण सरकार ढलेको माओवादी अध्यक्ष प्रचण्ड र माओवादीका उपमहासचिव वर्षमान पुनले बारम्बार आरोप लगाइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार