एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
नेपालबहस संवाददाता
मंसिर १२, २०८१ बुधबार ११:३५:३७
१२ मंसिर, काठमाडौं । एमसीए नेपालले एमसीसी परियोजना अन्तर्गत विद्युत् प्रसारण लाइन निर्माणका लागि बोलपत्र निकालेको छ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त प्रसारण लाइनले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सशक्तीकरण गर्ने भनिएको छ । चार सय केभी विद्युत् प्रसारण लाइनका लागि विस्तृत खरिद प्रस्ताव आह्वान गरिएको हो ।
एमसीए नेपालले आज सूचना जारी गरी प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना र परीक्षणका लागि खरिद प्रस्ताव आह्वान गरेको छ । पहिले गरिएको बोलपत्रमा लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको थियो । त्यसैले प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गरिएको एमसीए नेपालले जनाएको छ ।
लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीनवटा खण्डमा विभाजन गरिएको उक्त प्रसारणलाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ माघ १७ गते तोकिएको छ । अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको विस्तृत समीक्षापछि पुनःआह्वान गरिएको यस बोलपत्रमा परिमार्जित डिजाइन, टावर निर्माण स्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधानहरू समेटिएको एमसीए नेपालको भनाइ छ ।
यी समायोजनले थप कार्यान्वयनयोग्य र लागत–प्रभावकारी प्रस्तावहरू प्राप्त हुने सुनिश्चित गर्दै अघिल्लो बोलपत्र आह्वानमा पहिचान गरिएका मुख्य लागत निर्धारकहरूलाई सम्बोधन गरेका छन् । एमसीए नेपालले ३१५ किलोमिटर लामो प्रसारणलाइन परियोजनालाई तीन भागमा बाँडेर निर्माण प्रक्रिया अघि बढाउँदै छ । प्रसारणलाइनको पहिलो लटमा लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा खण्ड पर्छ । दोस्रो लटमा रातमाटे–न्यू दमौली खण्ड र तेस्रो लटअन्तर्गत न्यू दमौली–न्यू बुटवल–भारतको सीमासम्म तोकिएको छ ।
नयाँ रातमाटे सबस्टेशन निर्माणको लागत ६ अर्ब भन्दा बढी छ । यो पूर्वाधारले लप्सीफेदी र नयाँ हेटौँडा सबस्टेशनहरूबीच विद्युत् प्रसारणका लागि ‘महत्त्वपूर्ण सेतुका रूपमा’ काम गर्ने एमसीए नेपालले जनाएको छ । एमसीसीको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ५० लाख अमेरिकी डलर योगदानमा विद्युत् प्रसारण लाइन, सबस्टेसन र सडक सुधार आयोजना सञ्चालन हुँदैछ ।
त्यसमध्ये ३ सय १५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन, ४ सय केभीकै तीनवटा सबस्टेसन तथा दाङको भालुबाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति गर्ने तीन परियोजना कार्यान्वयन हुनेछन् । यसअघि गत वर्षको ८ जेठमा प्रसारण लाइनलाई तीन लटमा बाँडेर टेन्डर आह्वान भएकोमा निर्माणको प्रस्ताव गर्ने कम्पनीमध्ये पाँचवटा प्राविधिक रुपमा योग्य ठहरिएका थिए । ५ वर्षमा निर्माण सम्पन्न हुनैपर्ने, नभए अमेरिकी अनुदान फिर्ता जाने प्रकृतिको एमसीए परियोजना गत वर्षको १३ भदौमा कार्यान्वयनमा गएको थियो ।
नेपाल र अमेरिकाबीच २०७४ भदौ १४ मा नै एमसीसी सम्झौता भए पनि राजनीतिक अवरोधका कारण कार्यान्वयन ढिलो गरी सुरु भएको थियो । सरकारले यो परियोजना कार्यान्वयनको जिम्मेवार निकायका रूपमा ५ वैशाख ०७५ मा एमसीए नेपाल स्थापना गरेको थियो । निर्माणाधीन प्रसारण लाइनमध्ये १८ किलोमिटर खण्डको निर्माणका लागि सम्झौता सम्पन्न भइसकेको वर्तमान अवस्थामा परिमार्जित प्रावधानहरूका कारण बाँकी २९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि बोलपत्र गरिएको हो । तीनवटा ४०० केभी सबस्टेसन र १८ किलोमिटर प्रसारणलाइन निर्माण कार्यमा ठेकेदार कम्पनीहरूले काम सुरू गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार