आईडिमियालाई मात्र मिल्ने प्रावधान हटाउन सरकारको निर्देशन, अख्तियारको अनुसन्धान तीव्र
नेपालबहस संवाददाता
पुस ४, २०८१ बिहिबार १६:३२:३७
४ पुस, काठमाडौं । राहदानी विभागले ई–पासपोर्ट छपाइका लागि खुलाएको टेण्डरमा एउटा मात्रै कम्पनीलाई मिल्ने प्रावधान उल्लेख गरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले सच्याउन निर्देशन दिएको छ । करिब १२ अर्बको टेन्डरमा पुरानै कम्पनी आईडिमियालाई मात्र मिल्ने प्रावधान राखेर टेण्डरको सूचना प्रकाशित भएपछि सो प्रावधान हटाउन सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दिन अघि निर्देशन दिएको हो ।
आईडिमियाले सफ्टवेयर प्रणालीमा छिरेर ह्याकरले आक्रमण गरेको र भाइरस पसेको कारण देखाएर एक सातासम्म सर्वसाधारणलाई पासपोर्ट लिनबाट वञ्चित गरेको समाचार बाहिरिएको थियो । गत मंसिरमा एक सातासम्म राहदानी विभागको सफ्टवेयर प्रणालीमा समस्या आएपछि सर्वसाधारणले सास्ती पाएको र त्यसमा आईडिमिया कम्पनीको हात रहेको बताइएको थियो ।
आईडिमियाले सो सफ्टवेयरको सञ्चालन र व्यवस्थापन गर्दै आएको छ । सोही कम्पनीले मात्रै ठेक्का लिन पाउने गरी प्रावधान नराख्दासम्म सफ्टवेयर प्रणालीमा नियोजित रूपमा समस्या उत्पन्न गराएको भन्दै सरकारी कम्प्युटर अधिकृतहरूले आपत्ति जनाएका थिए । सो विषयलाई सम्बोधन गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले टेण्डरमा भएको प्रावधान सच्याउन निर्देशन दिएको हो । विभाग स्रोतका अनुसार केही दिनमा राहदानी छपाईका लागि गरिएको टेण्डर सच्याएर पुनः प्रकाशन गरिनेछ । ‘सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रश्न उठाएको छ, यो विषयमा छलफल हुँदैछ’, विभागका एक अधिकारीले भने । ‘सार्वजनिक खरिद ऐन २०६४ को दफा ४ को उपदफा ४ र दफा ७ को उपदफा ३ खण्ड (ख) र दफा १० को उपदफा ३ तथा यस कार्यालयले जारी गरेको नमुना बोलपत्रसम्बन्धी कागजातको प्रावधानहरूको पूर्ण पालना हुने गरी गुनासो सम्बोधन गर्न हुन निर्देशन साथ अनुरोध छ,’ सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको पत्रमा उल्लेख छ । इन्जिनियर अद्वैतराम भण्डारीले जारी गरेको सो पत्रअनुसार राहदानी विभागले अब आईडिमियालाई मात्रै मिल्ने गरी राखिएको प्रावधान हटाउनुपर्नेछ ।
आईडिमियाको बदमासीलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो राखेको थियो । साथै २० लाख विद्युतीय राहदानी छपाइका लागि गरिएको सम्झौता र भुक्तानी सम्बन्धी कागजातहरू नियन्त्रणमा लिएको थियो । आयोगले हालै खुलाएको नयाँ टेण्डर प्रक्रिया र यसअघि २० लाख विद्युतीय राहदानी छपाइका लागि छनोट गरेको ‘आईडीईएमआईए’ कम्पनीसँग पटक–पटक गरी ३१ लाख विद्युतीय राहदानी भेरिएसनबाट लिँदा आर्थिक हिनामिना गरेको उजुरीलाई आधार मानेर शुक्रबार छापा मारेको हो । ‘फ्रान्सको आईडिमिया कम्पनीलाई मिल्ने गरी प्रकाशित गरेको टेण्डर यसअघि सोही कम्पनीसँग गरिएको विविध सम्झौतामा अनियमितता भएको उजुरी छ सोही आधारमा केही कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ’, अख्तियार स्रोतले भन्यो । आयोग स्रोतका अनुसार मंसिर २७ गते बिहीबार आयोगको अनुसन्धान टोली राहदानी विभाग पुगेर कागजपत्र नियन्त्रणमा लिएको थियो ।
मंसिरको पहिलो साता सफ्टवेयर प्रणालीमा छिरेर ह्याकरले आक्रमण गरेको र भाइरस पसेको कारण देखाउँदै एक साता पासपोर्ट सेवा अवरुद्ध गरिँदा सर्वसाधारणले धेरै सास्ती पाएका थिए । त्यसको एक हप्तापछि सोही कम्पनीलाई मिल्ने गरी टेण्डरको सूचना प्रकाशित भएको थियो । अकस्मात् राहदानी सेवा अवरुद्ध हुनुमा ह्याकरको आक्रमण र भाइरस संक्रमणलाई कारण देखाइएको थियो । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले निकै प्रयासपछि उक्त सेवा सञ्चालन गर्न सफल भएको जनाएपनि त्यसमा आईडिमिया कम्पनीकै बदमासी रहेको नेपालका कम्प्युटर इन्जिनियरहरूको भनाई छ ।
ई–पासपोर्ट छपाइका लागि करिब १२ अर्बको टेन्डर सूचना आउने समय नजिकिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आईडिमिया कम्पनीले नै प्राविधिक समस्या खडा गरेको, ह्याकरका नाममा सफ्टवेयर प्रणाली अवरुद्ध पारेको समाचार बाहिरिदा पनि सरकारले वास्ता गरेको थिएन । यो विषयमा अख्तियारले चासो दिइरहेको थियो । यसका साथै अख्तियारले २० लाख राहदानी छपाइका लागि छनोट भएकै कम्पनीसँग बारम्बार ३१ लाख राहदानी भेरिएसनबाट लिन पर्नुको कारणलगायतका विषयमा विभागका उच्च पदस्थ कर्मचारीसँग कार्यालयमै गएर जानकारी लिएको थियो ।
विभागले आईडीईएमआईए नेपाल प्रतिनिधि सिद्धार्थ पाण्डेसँग आर्थिक लाभ लिँदै ३१ लाख राहदानी भेरिएसनबाट लिएको बताइन्छ । भेरिएसनबाट राहदानी लिँदा पूर्वाधार तथा प्रविधिको लागत रकम नघटाइ सुरुकै रकममा भेरिएसनबाट राहदानी लिएको भन्दै अनुसन्धान थालेको थियो । अख्तियारले छानबिन थालेसँगै पाण्डेले अनुसन्धान प्रभावित पार्न विभिन्न कोसिस गरेका थिए । अख्तियारका पूर्व प्रमुख आयुक्ता लोकमानसिंह कार्कीका आफन्त समेत रहेका पाण्डेले हाल परराष्ट्र मन्त्री रहेकी आरजु देउवासँग समेत पहुँच रहेको बताउँदै आएका छन् ।
पाण्डेले भेरिएसनबाट राहदानी लिँदा भएको आर्थिक घोटालाको विषय अहिलेको टेन्डर प्रक्रिया पूरा नहुँदासम्म रोक्न तथा तामेलीमा राख्न दबाब दिँदै आएका थिए । तर अख्तियारले उक्त विषयको छानविन नरोक्ने र तीब्रताका साथ अगाडि बढाउने निर्णय गरेको स्रोतले जनाएको छ । विभागले अहिले प्रतिस्पर्धाबाट ६४ लाख राहदानी छपाइ गर्न लागेको र उक्त प्रतिस्पर्धामा पनि आईडीईएमआईएलाई नै सहज हुने गरी स्पेसिफिकेसन राखेको विषयमा समेत अनुसन्धान शुरु भएको अख्तियारका एक कर्मचारीले भने ।
विभागले ३१ लाख राहदानी भेरिएसनबाट छपाइ गर्दा २४ लाख ५० हजार डलर हिनामिना गरेको छ । विभागले २०७७ कात्तिक ७ गते २० लाख राहदानी (ई–पासपोर्ट) छपाइका लागि फ्रान्सेली कम्पनी ‘आईडीईएमआईए’ छनौट गरेको थियो । राहदानी विभागले २ करोड ११ लाख डलरमा २० लाख ई–पासपोर्ट वितरणका लागि आवश्यक सबै प्रविधि तथा ई–पासपोर्ट बुकको सम्झौता गरेको थियो । यसरी भएको सम्झौता रकममा २४ लाख ५० हजार डलर राहदानी छपाइ गर्नका लागि स्थापित गरिने पूर्वाधार प्रणाली स्थापना गर्दाको रहेको थियो । तर राहदानी छपाइको जिम्मा पाएको विदेशी कम्पनीको एजेन्टको मिलोमतोमा उक्त रकमलाई सम्झौता रकमबाट नघटाइ सोही रकममा हिसाब गरेर भेरिएसनबाट राहदानी लिने काम भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
सो निर्णय गर्ने क्रममा विभागका तत्कालीन महानिर्देशकदेखि मन्त्रालयका उच्चपदस्थ कर्मचारीको मिलोमतो रहेको बताइन्छ । २० लाख राहदानी छपाइको सम्झौतामा त्यही कम्पनीबाट २ पटक गरी ३१ लाख राहदानी भेरिएसनबाट लिने काम भएको थियो । राहदानी भेरिएसनबाट नै छपाइ गर्नका लागि पहिले कम संख्यामा छपाइको बोलपत्र भएको थियो । सुरुमा ५० लाख राहदानी छपाइका लागि अनुमति भएपनि स्थापना नै नभएको सेक्युरिटी प्रेसबाट आफै राहदानी छाप्ने भन्दै कम संख्यामा छपाइको काम भएको थियो । २०७९ भदौ २३ गते बोलपत्रबाट छपाइ भएको २० लाख राहदानीको १५ प्रतिशत भेरिएसन गरी ३४ पृष्ठको थप ३ लाख राहदानी साविककै दरमा खरिद गर्ने निर्णय गर्दा आर्थिक अनियमितता भएको भन्दै सरकारी रिपोर्टमै उल्लेख भइसकेको थियो । महालेखाले २०८० को चैतमा रिपोर्ट सार्वजनिक गर्दै भेरिएसनबाट राहदानी लिने क्रममा आर्थिक हिनामिना भएको विषय उल्लेख गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार