स्वर्णलक्ष्मी सहकारी ठगीमा रवि लामिछानेको प्रत्यक्ष संलग्ता, प्रमाणसहित ५ करोडको विगो दावी
नेपालबहस संवाददाता
पुस २२, २०८१ सोमबार ११:२८:११
२२ पुस, काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा रास्वपाका सभापति रवि लामिछानेको प्रत्यक्ष संलग्नता भेटिएको छ । ३९ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख भएको विवरण अनुसार प्रत्यक्ष संलग्नता देखिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार अभियोग पत्र दायर गरेको हो । लामिछानेले पाँच करोड भन्दा बढी बचत रकम अपचलन गरेको पुष्टि भएको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानमा रविले पाँच करोड आठ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा अपचलन गरेको पुष्टि भएको देखाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौँमा दर्ता गरेको अभियोजनमा रहेको प्रहरी अनुसन्धानको ब्यहोरामा भनिएको छ, ‘.... गितेन्द्र बाबु/रवि लामिछानेको नाममा सो सहकारीमा खोलिएको कर्जा खाता/फायलहरूबाट प्रतिवादी रवि लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट रु.५,०८,६९,६३३/०५ (अक्ष रुपी पाँच करोड आठ लाख उनन्सत्तरी हजार छ सय तेत्तिस रुपैयाँ पाँच पैसा) अपचलन गरी ठगी गर्ने कार्यमा संलग्नता रहेको पुष्टि हुन आयो ।’ सहकारीको बचत रकम अपचलनमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले पदमै रहँदा १६ वटा चेकबाट स्वर्णलक्ष्मीलाई ९० लाख १६ हजार ६६० रुपैयाँ भुक्तानी गरेको पाइएको छ ।
गोरखा मिडियाको ग्लोबल आईएमई बैंकमा रहेको खाता नम्बर ००४०१०१००००५७७ बाट जारी भएको चेकमा रवि आफैंले हस्ताक्षर गरेर स्वर्णलक्ष्मीलाई भुक्तानी गरेको प्रमाण प्रहरीले फेला पारेको छ । २०२१ अप्रिल २३ देखि २०२२ मे ३१ सम्ममा रविले १६ चेकमार्फत ९० लाख १६ हजार ६६० रुपैयाँ भुक्तानी गरेका हुन् । गोरखा मिडियाको ग्लोबल आईएमई बैंकमा रहेको खाता नम्बर ००४०१०१००००५७७ मा स्वर्णलक्ष्मीबाट सिधै २ करोड ६५ लाख रुपैयाँमध्ये २ करोड ४० लाख रुपैयाँ रवि प्रबन्ध निर्देशक हुँदा जम्मा भएको तथ्य समेत मिसिलमा पेश गरिएको छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ली. कामद, मण्डला, प्रणोदय जस्ता अन्य सहकारी संस्थाहरूमा एकीकरण भई सञ्चालनमा आएदेखि सहकारीले ऐन नियम विपरित कर्जा प्रवाह गर्ने, नउठेको रकमलाई साँवा पुँजीमा राखी पुँजी वृद्धि भएको देखाउने जस्तो कार्य गरेको देखियो। सहकारी ऐन नियमावली, निर्देशन तथा संस्थाको स्वीकृत विनियम अनुसार कारोबार नगरी सञ्चालक तथा अन्य विभिन्न व्यक्तिका कर्जा मार्फत दुरुपयोग गरेको पाइएको छ। साथै सहकारी संस्थाको जिसिएस बैंकिङ सफ्टवेयरको अल डिपोजिट म्याटर लेखिएको एक्सल सिटमा कुल ५ हजार ६ सय ६९ बचतकर्ताहरूको खाताबाट सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार रकम जम्मा भएको देखिन्छ ।
त्यसैगरी मिसिल संलग्न स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ली. को प्राप्त जिसिएस बैंकिङ सफ्टवेयरको अल लोन म्याटर लेखिएको एक्सल सिटमा कुल ७ सय २ वटा कर्जा खाताहरूमा ऋण रकम २ अर्ब ५२ करोड ३८ लाख ८६ हजार मौज्दात रहेको देखिन्छ। अधिकांश कर्जा लगानीका लागि गरिने न्यूनतम प्रक्रिया (कर्जा लिखत तमसुक समेत) अवलम्बन नगरेको देखिएको थियो । कर्जा मार्फत सदस्यको बचत अपचलन गर्न विभिन्न कृत्रिम कर्जा खाताको प्रयोग गरेको पाइएको छ ।
संस्थाको कम्प्युटर लेखा प्रणालीमा कृत्रिम बचत खाता प्रयोग गरी (जस्तै क्राइसिस म्यानेजमेन्ट एकाउन्ट र भवन) बाट अपचलित कर्जालाई व्यवस्थापन गर्न खोजेको र कर्मचारी पेस्की नामक खाताबाट ठुलो रकमको कारोवार गरेको देखिन्छ र विभिन्न मितिमा पेस्की प्रदान गर्ने तथा उक्त पेस्की रकम विभिन्न कृत्रिम कर्जा खाताका माध्यमवाट पेस्की फर्स्यौट गर्ने गरिएको पाइएको थियो ।
सहकारी ऐन, नियमावली, नियमनकारी निकायबाट जारी निर्देशन र प्रचलित अन्य कानून विपरीत हुने गरी कर्जाको पाउन बाँकी ब्याजलाई कृत्रिम आम्दानी देखाई सो ब्याजलाई पुँजीकृत (नउठेको ब्याजलाई सावामा जोड्ने) गर्ने कार्य गरेको देखिएको छ । प्रचलित सहकारी ऐन नियम विरुद्ध संस्था समस्या ग्रस्त भए पश्चात शेयरलाई फिर्ता गरी कृत्रिम कर्जा खाताको मिलान गरेको पाइएको छ ।
कानून विपरीत विभिन्न स्थानका सहकारी संस्था बीच अन्तर सहकारी कारोबार गरिएको पाइन्छ। यस्तो कारोबार गर्ने संस्थाको विवरण माथि पेस्की, आसामी र तिर्न बाँकी शीर्षकमा उल्लेख गरिएको छ । सहकारीका वर्तमान अध्यक्ष गितेन्द्र बाबु राई, निवर्तमान व्यवस्थापक भूपेन्द्र राई, वर्तमान कोषाध्यक्ष कुमार रम्तेल, निवर्तमान अध्यक्ष दीपक लामा, वर्तमान उपाध्यक्ष देवेन्द्र बाबु राई लगायतका व्यक्तिहरूले गैर कानुनी व्यक्तिका नाममा पेस्की, कर्जा कारोबार र बचत कारोबार मार्फत अपचलन गरेको पाइन्छ ।
पेस्की कारोबार मार्फत विभिन्न व्यक्तिले गरेको कारोबार कर्मचारी पेस्की, पाउन बाँकी शीर्षकमा कारोबार गरेको पाइन्छ। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ली. र गोरखा मिडिया नेटवर्क प्रा.ली. को कार्यालय भवनमा खटी गई कसुर मुद्दामा प्रमाण लाग्ने दसीहरू खोजतलास गर्दा गोरखा मिडिया नेटवर्क प्रा.ली. को हिसाब किताब राख्ने लेखापाल द्वारा प्रयोग हुँदै आएको कम्प्युटर प्रमाण नष्ट गर्ने उद्देश्य स्वरूप जी.वि.ग्रुप अफ कम्पनीज् प्रा.ली.का रविना रिमाल सहितका महिलाहरू आई लिएर गएको कुरा गोरखा मिडिया नेटवर्क प्रा.ली. का सेक्युरिटी गार्डको कागजबाट खुल्न आएको हुँदा प्रतिवादीहरूको प्रमाण लुकाई नष्ट गर्ने कार्यमा समेत संलग्नता रहेको देखिएको छ ।
स्वर्णलक्ष्मी सहकारीका वर्तमान अध्यक्ष गितेन्द्र बाबु राईले निजको प्रत्यक्ष मातहतमा रही सहकारी सहित व्यक्तिगत कम्पनीहरू सञ्चालन गर्न निजलाई सहयोग गर्ने कुमार रम्तेल, देवेन्द्र बाबु राई, दीपक लामा, भूपेन्द्र राई, नवीन अछामी लगायतका व्यक्तिहरूले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था सहित अन्य सहकारीहरूमा पीडित बचतकर्ताहरूले निक्षेप गरेको रकम गैह्र कानुनी पूर्वक विना धितो व्यक्ति, कम्पनी तथा सहकारीहरूमा लगानी गरी उक्त लगानीलाई ऋण देखाई ऋणलाई व्याज सहित गणना गरी सहकारीको पुँजीमा जोडी आर्थिक लाभ लिई सहकारीको रकम सङ्गठित रूपमा अपचलन गरी ठगी गरेको पुष्टि भएको छ ।
अब जिल्ला अदालत कास्कीको थुनछेक आदेशपछि त्यहाँ रहेका दुई प्रतिवादी रवि लामिछाने र छविलाल जोशीलाई झिकाउँदै प्रहरीले पत्राचार गरिसकेको छ ।उनीहरुलाई कास्की प्रहरीले पठाएपछि थुनछेक आदेशको प्रक्रिया सुरु हुनेछ । अदालतमा उनीहरूविरुद्ध २ अर्ब ४१ करोड ३४ लाख ९१ हजार ७६९ रुपैयाँ बिगो माग गरिएको छ। यसमध्ये १ अर्ब १९ करोड ४९ लाख २१ हजार रुपैयाँ जाहेरवालालाई भराइदिन अभियोग पत्रमा उल्लेख छ । अभियोग पत्रमा कसको संलग्नता कहाँ कहाँ देखियो भन्ने खुलाइएको छ । यस्तै सबैको छुट्टा छुट्टै बिगो कायम गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेलाई ५ करोड ८ लाख ६७ हजार ६३३ रुपैयाँ बिगो तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकियो
पुष २३, २०८१ मंगलबार
कास्कीमा लामिछानेका पक्षधर वकिलको बहस सुरू
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार