पहिलो त्रैमासमा देशको आर्थिक वृद्धिदर ३.४ प्रतिशत, निर्माण क्षेत्र ०.३ प्रतिशतले ऋणात्मक
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार २१:२:५८
२३ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास (साउन–असोज) मा ३.४ प्रतिशतले आर्थिक वृद्धिदर प्राप्त भएको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको चालु आव पहिलो त्रैमासको कुल गार्हस्थ उत्पादन (जीडीपी) को प्रारम्भिक अनुमानमा यस्तो देखिएको हो । जस अनुसार २०८०/८१ को पहिलो त्रैमासको तुलनामा चालु आव पहिलो त्रैमासमा अर्थतन्त्र ३.४ प्रतिशतले विस्तार भएको अनुमान छ ।
प्रतिवेदनका अनुसार त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष ०८०/८१ को प्रथम त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३.४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको हो । यो त्रैमासमा सकारात्मक आर्थिक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेको कार्यालयले प्रस्ट्याएको छ ।
यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो । खासगरी यस अवधिमा गएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेकाले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको अनुमान रहेको छ, प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ०.२ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । यस वर्षको पहिलो त्रैमासमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये छ ओटामाभएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अंकले मात्र वृद्धि हुने अनुमान गरिएको कार्यालयले प्रस्ट्याएको छ । यद्यपि, सो अवधिमा विद्युत् र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ ।
पहिलो त्रैमासमा सबैभन्दा उच्च दरले वृद्धि भएको क्षेत्र विद्युत् र ग्यास रहेको देखिएको छ । कार्यालयका अनुसार यो क्षेत्रको वृद्धिदर २१.४ प्रतिशत छ । दोस्रो स्थानमा यातायात र गोदाम रहेको छ । कार्यालयले अर्थतन्त्रका विभिन्न १८ क्षेत्र गणना गरी जीडीपीको अनुमान गर्ने गर्छ । आवास तथा भोजन क्षेत्रको वृद्धिदर ६.३ प्रतिशत रहने अनुमान यस त्रैमासमा गरिएको छ । निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि दर ५.७ प्रतिशत रहने अनुमान कार्यालयको छ ।
त्यस्तै प्रशासनिक सहयोगी सेवा क्षेत्र वृद्धिदर ५.४, वैज्ञानिक तथा प्राविधिक सेवा वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान छ । प्रथम त्रैमासमा निर्माणजन्य वस्तु आयातमा आएको गिरावट र निर्माणले गति लिन नसक्दा यो क्षेत्र संकुचनमा छ । निर्माण क्षेत्र ०.३ प्रतिशतले ऋणात्मक छ । निर्माण क्षेत्र कोरोना महामारीयता नै निरन्तर संकुचनमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाह्य सहयोग बढाउन अर्थ मन्त्रालयले तयार पार्यो प्रगतिशील विकास सहायता नीतिको मस्यौदा
पुष २३, २०८१ मंगलबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
बागमती सफाइ अभियानमा काठमाडौं महानगरका वडाले सघाउने
पुष २४, २०८१ बुधबार