वित्तीय कारोबारी संस्थालाई राष्ट्र बैंकको मार्गदर्शन, गृहको सूचना हेरेर खाता रोक्का गर्नु
मार्गदर्शनमा कुनै पनि अपराधमा संलग्न व्यक्तिको बैंक खाता तत्काल रोक्का गर्न भनिएको छ
नेपालबहस संवाददाता
माघ २, २०८१ बुधबार १३:२:२६
२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पति शुद्धीकरणका मापदण्डमा कडाई गर्दै वित्तीय कारोबारी संस्थाहरूका लागि एक मार्गदर्शन जारी गरेको छ । हालै जारी भएको यो मार्गदर्शनमा कुनै पनि अपराधमा संलग्न व्यक्तिको बैंक खाता तत्काल रोक्का गर्न भनिएको छ । अब वित्तीय कारोबारी संस्थाले गृह मन्त्रालयको सूचना हेरेर यस्ता व्यक्तिको पहिचान गर्न र बैंकमा भएको उसको सम्पति रोक्का गर्न सक्नेछन् ।
सम्पत्ति शुद्धीकरण र आतंकवादमा हुने वित्तीय लगानीबारे अनुगमन गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले राज्यका निकायहरूको प्रभावहीनता र ठूला वित्तीय अपराधमा राज्यकै संरक्षणका कारण नेपाल जोखिमपूर्ण मुलुकमा पर्नसक्ने चेतावनी दिएपछि राष्ट्र बैंकले यो सजगता अपनाएको हो । राष्ट्र बैंकले जारी गरेको मर्गदर्शन बैंक, वित्तीय संस्था लगायतले अनुशरण गर्नुपर्नेछ । जसमा बैंक तथा वित्तीय संस्था, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, हायरपर्चेज कर्जा दिने कम्पनीहरू परेका छन् । उनीहरुले लक्षित वित्तीय प्रतिबन्ध सम्बन्धी व्यक्ति पहिचानको काम गर्नुपर्नेछ ।
फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एसिया प्यासिफिक ग्रुप (एपीजी) ले नेपालमा आएर गरेको अध्ययनले गैरकानुनी धन आर्जन र त्यसमा संलग्नहरु माथिको कारबाहीका दृष्टिकोणले नेपाल जोखिमपूर्ण मुलुकमा पर्ने चेतावनी दिएको छ । यदि नेपालका बैंकहरूको अन्तर्राष्ट्रिय बैंकहरुसँग सम्पर्क भंग भए अथवा नेपालको वित्तीय प्रणाली अन्तर्राष्ट्रिय समुदायको सूक्ष्म निगरानीमा परे खतरा हुने चेतावनी छ । नेपालको वित्तीय प्रणाली र सम्पत्ति शुद्धीकरणप्रति राजनीतिक नेतृत्वका प्रशस्त कमजोरी उजागर भएपछि यो मार्गदर्शन जारी गरिएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।
अन्तर्राष्ट्रिय वित्तीय प्रणालीले सम्पत्ति शुद्धीकरण, अवैध रूपमा तथा अपराधबाट आर्जित धनलाई वैध बनाउने प्रक्रिया तथा आतंककारी कार्यका लागि वित्तीय लगानीका विषयलाई अत्यन्त गम्भीरताका पालना गर्न भनेको छ । यसलाई मध्यनजर गरी राष्ट्र बैंकले एक मार्गनिर्देश जारी गर्दै यसरी लगाइने वित्तीय प्रतिबन्ध, यसका कानुनी प्रावधान, प्रतिबन्धको परिभाषा र प्रकार, प्रतिबन्धको उद्देश्य, वित्तीय संस्थाको जिम्मेवारी तथा व्यवस्था कार्यान्वयन गर्ने आधार स्पष्ट पारेको छ । यस अनुसार अबदेखि वित्तीय संस्था वा सूचक संस्थाले संयुक्त राष्ट्रसंघको सूचीमा आफ्नो रजिस्ट्रेसन गरी सब्स्क्राइब गर्नुपर्नेछ भने नोटिफिकेसन अन गर्नुपर्ने राष्ट्र बैंकका ति अधिकारीले बताए ।
उनका अनुसार अब वित्तीय कारोबारी संस्थाले गृह मन्त्रालयको लक्षित वित्तीय प्रतिबन्ध पोर्टल पनि निरन्तर भिजिट गरी प्रतिबन्धित व्यक्ति वा संस्थाको सूची अद्यावधिक गर्नुपर्ने छ । सन् २०२५ को जनवरीसम्ममा राष्ट्रिय जोखिम मुल्यांकन गर्दै सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी राष्ट्रिय रणनीति र कार्य योजना बनाउनु पर्ने, सीमापार हुने वित्तीय कारोबारलाई नियमन गर्नुपर्ने, ग्राहक पहिचान सम्बन्धी प्रभावकारी रणनीति बनाउनु पर्ने, अपराध अनुसन्धान र अभियोजनमा संयुक्त समूह परिचालन गर्नु पर्ने, व्यापारका आधारमा हुने सम्पत्ति शुद्धीकरणलाई निरुत्साहित गर्नु पर्ने काम पनि वित्तीय संस्थाहरूले गर्नुपर्ने छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार यस्ता कम्पनीहरू सम्पत्ति शुद्धीकरणको सूचक कम्पनी हुन् । यिनै कम्पनीले अब थप काम गर्नु पर्ने राष्ट्र बैंकका ति अधिकारी बताउँछन् । अहिले नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को खैरो सूचीमा पर्ने जोखिममा छ । अवैध धन नियन्त्रणमा अनुसन्धान र अभियोजन कमजोर भएपछि नेपाल ग्रे लिस्टमा पर्ने चिन्ता थपिएको छ । यो मार्गदर्शन अनुसार बैंक, वित्तीय संस्था तथा गैरबैंकिङ वित्तीय संस्थाहरू जसले सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार सूचक संस्थाको रुपमा काम गर्दै आएका छन् उनीहरुले २४ घण्टाभित्रै शंकाष्पद व्यक्तिको खाता रोक्का गरिसक्नु पर्नेछ ।
यसैका आधारमा अबदेखि वित्तीय संस्थाले सम्पत्ति रोक्का राख्ने र वित्तीय सेवा वा रकम दिन प्रतिबन्ध गर्नुपर्ने छ । गृह मन्त्रालयले सार्वजनिक गर्ने सूची निरन्तर हेरेर यस्ता व्यक्ति र उनीहरूसँग कारोबार गर्नेलाई कारोबार र सम्पत्ति प्रयोगमा रोक्नुपर्नेछ । मार्ग निर्देशनमा वित्तीय प्रतिबन्ध, यसका कानुनी प्रावधान, प्रतिबन्धको परिभाषा र प्रकार, प्रतिबन्धको उद्देश्य, वित्तीय संस्थाको जिम्मेवारी तथा व्यवस्था कार्यान्वयन गर्ने आधार स्पष्ट राखिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअधिक तरलता घटाउन बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
माघ २, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बुधबार २ अंकले बढेर २५९५ मा रोकियो नेप्से, ५ अर्ब ८२ करोडका शेयर किनबेच भए
माघ २, २०८१ बुधबार
लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने
माघ २, २०८१ बुधबार
बेलिब्रिज र रुप्से झरनाको दृश्य
माघ २, २०८१ बुधबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार