सरकारले सातै प्रदेशमा पठायो पाठेघरको क्यान्सर विरुद्धको एचपिभी खोप, माघ २२ देखि लगाइने
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार १५:५:१४
३ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ 'एचपिभी' खाेप सातवटै प्रदेशमा पठाएको छ ।
‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ 'गाभी'को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिए। उनले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए ।
निर्देशक डा रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप निःशुल्क उपलब्ध गराएको हो । सङ्घीय सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने जनाएको छ ।
कुन प्रदेशमा कति खोप
महाशाखाका निर्देशक डा रायमाझीले कोशी प्रदेशमा दुई लाख ७५ हजार एक सय ८० मात्रा, मधेशमा तीन लाख ८० हजार चार सय ६०, बागमती हेटौँडाका लागि एक लाख २५ हजार आठ सय, बागमती भक्तपुरका लागि दुई लाख १८ हजार दुई सय ८० मात्रा पठाइसकिएको जानकारी दिए ।
गण्डकी प्रदेशमा एक लाख ३० हजार आठ सय ७० मात्रा, लुम्बिनीमा दुई लाख ९८ हजार नौ सय १० मात्रा, कर्णालीमा एक लाख २४ हजार चार सय मात्रा र सुदूरपश्चिममा एक लाख ८७ हजार एक सय २० मात्रा खोप पठाइएको छ । प्रदेशले खोपलाई सुरक्षित भण्डारण गर्ने र आआफ्नो जिल्लामा पठाउने उनले बताए ।
उक्त खोप एक मात्रा लगाएपछि पुग्ने महाशाखाका निर्देशक डा रायमाझीले जानकारी दिए । उनका अनुसार नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ ।
पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको सङ्क्रमण रहेकाले त्यसका विरुद्ध खोप लगाउनुपर्ने डा रायमाझीले बताए । नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ ।
झापामा ५५ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
झापामा ५५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ 'एचपिभी' खोप लगाइने भएको छ ।
जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ५४ हजार नौ सय ९९ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए । विद्यालयमा रहेका कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइने उनले बताए ।
जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्य शाखा प्रमुखलाई खोपसम्बन्धी आवश्यक तालिम र अभिमुखीकरण दिइएको जनस्वास्थ्य अधिकृत पाठकले बताए । “खोप अभियानका लागि तथ्याङ्कल सङ्कलन, जनशक्ति व्यवस्थापनलगायत काम भइरहेको छ”, उनले भने । झापामा माघ २२ गतेदेखि २९ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
पोखरा प्रतिष्ठानमा १४ जनाको मृगौला प्रत्यारोप भए पछि प्रधानमन्त्री ओली खुसी
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकिराखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार
चीनमा स्मार्ट फोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर
माघ ३, २०८१ बिहिबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार