स्वास्थ्यमा बजेट १२ अर्ब बढ्यो, पुरानै कार्यक्रम कपीपेस्ट
इन्द्र रिजाल
जेठ १६, २०७६ बिहिबार २२:१८:१०
काठमाडौं । आगामी आर्थिक वर्ष ०७६र७७ का लागि स्वास्थ्य क्षेत्रले गत आर्थिक वर्षमा भन्दा झण्डै १२ अर्ब रुपैयाँ बढी बजेट पाएको छ ।
गत वर्ष ५६ अर्ब ४१ करोड ९७ लाख बजेट विनियोजन हुदाँ यो वर्ष ६८ अर्ब ७८ करोड विनियोजन गरिएको छ । यो कुल बजेटको ४.४८ प्रतिशत हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य क्षेत्रका कतिपय पुराना कार्यक्रमलाई नै निरन्तरता दिएका छन् ।
केही कार्यक्रम मात्र गत वर्षको भन्दा फरक छ । स्वास्थ्य बीमा, स्थानीय तहका कार्यक्रम तथा एक प्रदेशमा एक विशिष्ट अस्पताल गत वर्षकै कार्यक्रमको निरन्तरता हो । अर्थमन्त्री खतिवडाले पुरानै वर्षको कतिपय कार्यक्रमलाई यसपाला पनि ‘कपीपेस्ट’ गरेका छन् ।
गत आर्थिक वर्षझै यो वर्ष पनि स्वास्थ्य बीमा कार्यक्रम छुटेको छैन । गत आर्थिक वर्षमा ७० वर्ष नाघेका वृद्धहरुलाई १ लाखको स्वास्थ्य बीमा गरिदिने कार्यक्रम थियो भने यो वर्ष स्वास्थ्य बीमा योजना सञ्चालन गर्न ६ अर्ब विनियोजन गरिएको छ। मुलुकका सबै जिल्लामा स्वास्थ्य बीमा योजना पुर्याइने उल्लेख छ।
आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्दै आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गर्ने गत वर्षकै कार्यक्रमले यो वर्षपनि निरन्तरता पाएको छ । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाइने कार्यक्रमका बुँदा गत वर्षको भन्दा कुनै फरक छैन ।
गत वर्ष अटिजम भएका बालबालिका तथा सामाजिक काम गर्नेहरुको कामको मुल्यांकन गरी अनुदान दिने बताइएको थियो यो वर्ष भने महिलाहरूमा बढ्दो सर्भाइकल र स्तन क्यान्सरजस्ता घातक रोग पहिचानको लागि बजेट विनियोजन गरिएको छ । क्यान्सरका लागि निःशुल्क स्वास्थ्य परीक्षण र सर्भाइकल क्यान्सरविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने बताएका खतिवडाले विनियोजन गरेको बजेटको रकम भने खुलाएका छैनन् ।
उनले हरेक स्थानीय तहका वडास्तरदेखि नै पूर्ण खोप सुनिश्चित गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरिनेसमेत बजेटमा उल्लेख गरेका छन् । यो कार्यक्रम पनि गत वर्षकै निरन्तरता हो।
गत वर्ष वृद्धवृद्धाको लागि सन्तानले अनिवार्य हेरचाह गर्ने कानुन ल्याइने बताएका खतिवडाले यस वर्ष विपन्न नागरिकको निःशुल्क उपचारका लागि अनुदान बढाएर २ अर्ब २० करोड अनुदान पुर्याएका छन् । उक्त अनुदान ८ प्रकारका जटिल र असाध्य रोगका बिरामीले पाउनेछन्। यसअअघि पनि ८ प्रकारका जटिल रोगका बिरामीले अनुदान पाएका थिए।
खतिवडाले गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेको लागि प्रदान गरिने यातायात खर्चका लागि २ अर्ब २२ करोड विनियोजन गरिएको छ । बाल स्वास्थ्य तथा पोषण कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ विनियोजन भएको छ।
महिला स्वास्थ्य स्वयमसेविकाको यातायात खर्च स्वरुप वार्षिक तीन हजार उपलब्ध गराउन १५ करोड विनियोजन गरेका छन् । गत वर्ष थारु समुदायमा देखिएको सिकल सेल एनेमियाको उपचारको लागि अध्यन अनुसन्धान गरिने बताएका उनले यो वर्ष उक्त रोग रोकथाम गर्न बजेट विनियोजन गरेका छन् । विनियोजन गरेको बजेटको रकम भने खुलाएका छैनन् ।
क्षयरोग, एड्स तथा यौन रोग र कुष्ठरोग नियन्त्रण कार्यक्रमका लागि १ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको छ । त्यस्तै स्थानीय तह, प्रदेश र विभिन्न संघ संस्थासँग स्वास्थ्य सेवाका कार्यक्रमहरु साझेदारीमा सञ्चालन गर्न १ अर्ब रुपैयाँ विनियोजन गरेका छन् । यो गत वर्षको कार्यक्रमकै निरन्तरता हो ।
गत वर्षझै स्थानीय तहमा कम्तीमा एक प्राथमिक अस्पताल स्थापना गरी सबै स्थानीय तहमा न्यूनतम एक चिकित्सकको व्यवस्था गरिने यो वर्षको बजेटमा परेको छ । यो वर्ष त्यसैको लागि ५ अर्ब बजेट विनियोजन गरिएको छ।
निर्माणाधीन अस्पतालहरुको भवन निर्माण सम्पन्न गर्न ५ अर्ब ५७ करोड बजेट विनियोजन भएको छ । त्यस्तै पन्ध्र सैय्याको प्राथमिक अस्पताल स्तरोन्नती गर्न १ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ । सबै प्रदेशका कम्तीमा एक अस्पतालबाट विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने नीति अनुरुप १ अर्ब विनियोजन भएको छ ।
कोशी अस्पताल, भरतपुर अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल, भेरी अञ्चल अस्पताल र डडेल्धुरा उपक्षेत्रीय अस्पताल यो बजेटले स्तरोन्नती हुने खतिवडाले बताएका छन् । त्यस्तै पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने जनाइएको छ ।
राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्न ४० करोड रुपैयाँ विनियोजन भएको छ । भक्तपुरको दुवाकोटमा वीर अस्पतालको सेवा विस्तारको लागि ४० करोड रुपैयाँ विनियोजन भएको छ । गत वर्षको बजेटमा पनि वीर अस्पताल समावेश थियो ।
गत वर्षझैं यो वर्ष पनि आयुर्वेदिक‚ होमियोप्याथिक‚ युनानी‚ अक्कुपञ्चर‚ आम्ची र प्राकृतिक चिकित्साजस्ता वैकल्पिक उपचार पद्धतिको अनुसन्धान, विकास र उपयोगमा जोड दिइने खतिवडाले बताएका छन् ।
प्राथमिक अस्पतालहरूमा टेलिमेडिसिन शिक्षा पद्धतिमार्फत् २४ सै घण्टा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइने गत वर्षकै बजेट भाषणको अंश हो ।
सार्वजनिक स्थल र सवारी साधनहरुमा ध्रुमपान तथा मध्यपान पूर्ण रुपमा निषेध गरिने लगायत स्थानिय तहलाई छुट्याएका कार्यक्रम गत वर्षकै निरन्तरता छ ।
मनमोहन कार्डियोथोरासिक भाष्कुलर एण्ड ट्रास्प्लान्ट केन्द्रको पूर्वाधार निर्माण र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालनमा ल्याउन यो वर्षको बजेटका प्राथमिकता हुन् ।
सिराहामा क्यान्सर अस्पताल निर्माण गरी वीपी कोइराला क्यान्सर अस्पतालको विस्तारित सेवा प्रदान गर्न र जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको सेवा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको बताएका खतिवडाले विनियोजन रकम भने खुलाएका छैनन् ।
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मानव अंगको म्याचिङ टेष्ट स्थापना गर्न अनुदानको व्यवस्था मिलाएको समेत खतिवडाले बजेटमा उल्लेख गरेका छन् ।
अस्पतालको स्तरोन्नति र अस्पताल स्थापना गर्न छुट्याइएका बजेट मात्र स्वास्थ्य क्षेत्रमा यो वर्षका नयाँ कार्यक्रम हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
हात्तीको आक्रमणमा किसानको मृत्यु
असोज १३, २०८१ आइतबार
पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध
असोज १३, २०८१ आइतबार
खोलाले बगाउँदा युवतीको मृत्यु
असोज १३, २०८१ आइतबार
एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक
असोज १३, २०८१ आइतबार
बंगलादेशविरुद्धको टी-२० सिरिजका लागि भारतीय टिमको घोषणा
असोज १३, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवादस् को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार