नेपाल प्रहरी अपडेट : अझै सक्रिय र इमान्दार भएर काम गर्न महानिरीक्षक खनालकाे आग्रह
इन्द्र रिजाल
असार ५, २०७६ शुक्रबार १:५७:१
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको सोच र राष्ट्रले दिएको जिम्मेवारी पुरा गर्न प्रहरी कर्मचारीहरुले जुनसुकै स्थानमा खटिए पनि भित्रैदेखि काम गर्छु भन्ने भावनाकासाथ व्यवसायिक रुपमा सक्रिय भई काम गर्नुपर्ने बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा हालै पदोन्नति भएका प्राविधिकतर्फका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभनपछि उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिंदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् । अनुशासित, मर्यादित र इमान्दार भएर प्रहरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘सबैभन्दा ठूलो शक्ति र सत्य आफूले काम गर्ने र आफूमा विश्वास गर्ने हो ।’ व्यक्तिगत आचरण, व्यवहार र हरेकको व्यक्तित्व झल्काउने टर्नआउट दुरुस्त हुनुपर्नेमा उनले जोड दिए ।
प्रहरी संगठनको गौरवपूर्ण इतिहासलाई बिर्साउने गरी गलत सपना बोकेर संगठनमा प्रहार गर्न सकिन्छ भन्ने सोचाई राखेर रमाउने प्रवृत्ति गलत रहेको उनले चर्चा गरे । संगठनको शान, गर्व र गौरव बढाउन आफू लागिपरेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी कार्यालयका लागि जग्गा प्राप्ति, भौतिक संरचना निर्माण, कर्मचारीको वृत्ति विकासमा पहल र निष्ठापूर्वक गर्वकासाथ काम गर्ने वातावरण निर्माण लगायतका उपलब्धी हाँसिल भएको बताए ।
यस्तो वातावरण र काम गर्ने अवसरको सदुपयोग गर्न परिस्थिति आफैं बनाउँदै दृढ इच्छाका साथ राम्रो काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘व्यक्तिगत रुपमा आफूले आफैंलाई संयमित राख्नुस् ।’ समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत सबै मिलेर समुदायमा जानुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यसबाट साधन स्रोत परिचालन गर्न, हरेक चुनौतिको सामना गर्न सजिलो हुने बताए । यसका लागि सबैले आ-आफ्नो घर, छिमेक, टोल, क्षेत्र, समाजमा सर्वत्र अभियानको रुपमा अगाडि बढ्नुपर्ने उनले बताए । समुदाय राम्रो भएमा अपराध नहुने, असल नागरिक बन्ने र समुदायले प्रहरीलाई हेर्ने दृष्टीकोणमा परिवर्तन आउने कुराको मनन गरी सक्रिय रुपमा कार्यक्रमलाई योगदान दिनुपर्नेमा जोड दिए ।
नेपाल सरकार गृह मन्त्रालय (माननीय मन्त्रीस्तर र सचिवस्तर) को २०७६ असार ३ गतेको निर्णयले प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका १ जना, प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति भएका ८ जना, प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदोन्नति भएका ७ जना र प्रहरी नायव निरीक्षकबाट प्रहरी निरीक्षकमा पदोन्नति भएका ५ जना गरी २१ जना प्रहरी अधिकृतहरुलाई सो अवसरमा प्रहरी महानिरीक्षक खनालले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
पदोन्नति भएका २२ जनामध्ये १ जना प्रहरी नायव उपरीक्षक हाल अध्ययन बिदामा रहेका छन् । पदोन्नति भएका अधिकृतहरुमध्ये नेपाल प्रहरी अस्पताल, प्रहरी प्रधान कार्यालय संचार निर्देशनालय, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला र केनाइन महाशाखा अन्तर्गतका रहेका छन् । कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक राकेश कुमार सिंहले संगठनप्रति अझ बढी समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रहरी महानिरीक्षकज्यूले निर्धारण गरेका संगठनका प्राथमिकताहरुबारे चर्चा गर्दै उनले आइपर्ने चुनौतिको सामना गर्न आफूहरु अझै संवेदनशील भएर काम गर्न कटिबद्ध रहने बताए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट फेब्रिकेटेड केनल फिटेड भेइकल हस्तान्तरण
प्रहरी महानिरीक्षक खनालले प्रहरी प्रधान कार्यालय केनाइन महाशाखा महाराजगंजलाई फेब्रिकेटेड केनल फिटेड भेइकल हस्तान्तरण गरेका छन् । प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक खनालले उक्त महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरुङलाई उक्त भेइकलको साँचो हस्तान्तरण गरेका हुन् ।
विधिको शासन सुनिश्चितताका लागि फौजदारी न्याय प्रणालीमा अनुसन्धानलाई सुदृढिकरण तथा संगठनले अंगिकार गरेका प्राथमिकताहरुमध्ये कसुरको अनुसन्धानलाई समयसापेक्ष, प्रविधिमैत्री र वैज्ञानिकीकरण गर्ने उद्देश्यलाई टेवा पुर्याउन प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागबाट चालु आवमा विनियोजित बजेट अन्तर्गत कुल ४३ लाख ५ हजार ३ सय रुपैयाँमा उक्त भेइकल खरिद गरिएको हो ।
चालक सहित ५ जना हेन्डलर र ५ वटा कुकुर बस्न मिल्ने क्षमता भएको उक्त भेइकलमा कुकुरका लागि आवश्यक दाना समेत राख्न मिल्ने व्यवस्था छ । विभिन्न प्रहरी कार्यालयहरुबाट माग भए अनुसार समयमा नै परिचालन गर्ने र कुकुरलाई सुरक्षित ओसारपसार गर्ने भेइकलको उद्धेश्य रहेको छ ।
अग्निशामक यन्त्रको प्रयोग सम्बन्धी प्रदर्शनी सम्पन्न
प्रहरी प्रधान कार्यालयको खेल मैदानमा विपद व्यवस्थापन महाशाखाद्वारा बिहीबार अग्निशामक यन्त्रको प्रयोग सम्बन्धी प्रदर्शनी गरिएको छ । सो अवसरमा अग्निशामक यन्त्रको प्रयोगबाट आगो निभाउने तरिकाको प्रदर्शनी गरिएको हो ।
प्रदर्शनी अवलोकन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले अग्निशामक यन्त्रको प्रयोग गर्न सकेमा करोडौं सम्पत्ति जोगाउन सकिने बताए । घर, सवारी साधन लगायतको सुरक्षाको लागि अग्निशामक यन्त्र धेरै उपयोगी भएकोले सबैले प्रयोग गर्न जान्नुपर्नेमा समेत उनले जोड दिए ।
सो अवसरमा विपद व्यवस्थापन महाशाखाका प्रशिक्षकहरुले आगोको परिचय तथा वर्गिकरण, अग्निशामक यन्त्रको प्रयोगबाट आगो निभाउने तरिका र आगलागी नियन्त्रणका लागि ध्यान दिनुपर्ने कुराहरु तथा अपनाउनुपर्ने विधिबारेमा प्रशिक्षण प्रदान गरेका थिए । प्रदर्शनीमा प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
प्रहरी नायव महानिरीक्षक पालबाट नवनिर्मित सीमा प्रहरी चौकीको भवन उद्घाटन
धनुषा, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पालले बिहीबार आयोजित एक कार्यक्रमवीच नगराईन नगरपालिका-२ जटही टोलमा नवनिर्मित सीमा प्रहरी चौकी लग्मा जटहीको कार्यालय तथा व्यारेक भवनको उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक पालले नयाँ भवनको निर्माणसँगै नयाँ तरिकाले प्रभावकारीरुपबाट सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । शान्ति सुरक्षा कायम तथा सीमावर्ती अपराध नियन्त्रण र तस्करी रोक्ने कार्यमा सीमा प्रहरी चौकीको भूमिका अझ बढी जिम्मेवार र संवेदनशील हुने हुँदा प्रहरी कर्मचारीहरुलाई लगनशील भई कार्य गर्न उनले निर्देशन दिए । समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत महिला हिंसा, मानव वेचबिखन, महिला, वालवालिका र जेष्ठ नागरिक उपर हुने अपराध र व्यक्तिको सुरक्षा लगायत विविध विषयहरुसँग सम्बन्धीत सूचनाहरु समयमै प्रहरीलाई उपलव्ध गराई साझेदारी अभियानलाई सार्थक बनाउन समेत उनले आग्रह गरे ।
नेपाल प्रहरी भौतिक पूर्वाधारमा आत्मनिर्भर हुँदै जाने क्रममा नेपाल सरकारको नियमित बजेटबाट निर्माण सम्पन्न भएको कार्यालय र ब्यारेक सहितको ११ कोठा भएको उक्त भवन आरसिसि फ्रेम स्ट्रक्चरमा निर्माण सम्पन भएको सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, स्थानीय संघसंस्थाका पदाधिकारी, समाजसेवी, पत्रकार लागयत अन्य प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।
लागूऔषध विरुद्द सप्ताहव्यापी कार्यक्रम शुभारम्भ
सर्लाही, लागूऔषध दुरुपयोग एवं ओसार-पसार विरुद्द अन्तर्राष्ट्रिय दिवसको अवसरमा सर्लाहीमा सप्ताहव्यापी कार्यक्रम बिहीबारबाट शुरु भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहीबार मलंगवा नगरपालिकाका विभिन्न स्थानमा परिक्रमा गरी जनचेतनामुलक र्याली स्वरुप प्रभातफेरी कार्यक्रम संचालन गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय सर्लाही तथा समुदाय-प्रहरी साझेदारी जिल्ला समितिको आयोजनामा गरिएको प्रभातफेरी कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराई, सशस्त्र प्रहरी बलका प्रमुख, समुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि, विभिन्न विद्यालयका विधार्थी, शिक्षक तथा सर्वसाधारण समेतको सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट शुरु भएको उक्त प्रभातफेरी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पुगी भएको थियो ।
प्रहरीको जवाफी कारवाहीमा हतियारधारीको मृत्यु
सर्लाही, लालबन्दी नगरपालिका-१ लखनदेहीस्थित जंगलको बाटोमा प्रहरीको जवाफी कारवाहीमा परी सर्लाही बागमती नगरपालिका-२ बस्ने ४७ वर्षीय कुमार पौडेलको बिहीबार घटनास्थलमै मृत्यु भएको छ ।
हातहतियार सहितका अज्ञात व्यक्तिहरु जंगलको बाटो भई सिन्धुली सर्लाही आवतजावत गर्ने गरेको भन्ने सूचना समेतको आधारमा उक्त जंगलबाटो एरियामा प्रहरी परिचालन गरी निग्ररानी बढाउन सुरु गरेकोमा आज बिहीबार दिउँसो उक्त जंगलतर्फको बाटोबाट सिन्धुलीतर्फ ना.२२ प ६४ नम्बर र अनटेष्ट लेखेको समेत गरी २ वटा मोटरसाइकलमा जाँदै गरेको अवस्थामा प्रहरीलाई देख्नासाथ उल्लेखित मोटरसाइकलमा आएका व्यक्तिहरुले प्रहरीतर्फ फायर गरेकोले प्रहरीले प्रतिफायर गर्दा मोटरसाइकलमा सवार मध्ये पौडेलको घटनास्थलमै मृत्यु भएको हो । ३ जना व्यक्तिहरु मोटरसाइकल छाडी फायर गर्दै जँगलतर्फ फरार भएका छन् ।
घटनास्थलबाट उक्त २ थान मोटरसाइकल, कटुवा पेस्तोल १ थान, युएस मेड रिबल्बर १ थान, डेटकर्ड १ थान (५ मिटर), फ्युज वायर ३ मिटर, झोला १ थान, जनक्रान्ति किताब १ थान र अखिल नेपाल भूमिसंघको खाली परिचयपत्र २ सय थान बरामद भएको छ । तत्काल फरार ३ जनाको खोजी गर्नुका साथै थप प्रहरी परिचालन गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
सहकारी संस्थाबाट नगद चोरी
झापा, कन्काई नगरपालिका-९ घैलाडुव्वास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट बुधबार राति नगद १८ लाख ८० हजार ८ सय ९१ रुपैयाँ चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुकसा साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ट्याक्टर दुर्घटनामा मृत्यु
बारा, निजगढ नगरपालिका-४ स्थित बकैया खोलाको बगरमा ना.२ त ८००६ नम्बरको ट्याक्टर खाल्डोमा खस्न गई बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने २३ वर्षीय सहिन्सा कुमरको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार