स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार २२:५८:८
१२ वैशाख, स्याङ्जा । वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका ५ पाँडेथोक र वडा नं ६ को पाखुरेमा खानेपानी तथा सिञ्चाईकालागि ल्याइएको पाइप जलेपछि गाउँमा पानीको हाहाकार भएको हो ।
छरछरे–पाँडेथोक सिँचाइ तथा खानेपानी योजनाअन्तर्गतको करिब एक हजार सात सय मिटर पाइपमध्ये करिब १००–१५० मिटर बाँकी रहेर अन्य सबै जलेर नष्ट भएको उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ लामिछानेले जानकारी दिए ।
“सोमबार रातिदेखि बस्ती नजिकैको जङ्गलमा लागेको आगोले गाउँमा ल्याइएको पाइप नष्ट ग¥यो”, उनले भने, “पाइप नष्ट भएपछि अहिले गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ ।” सोमबार रातिदेखि लागेको आगो अहिले पनि निरन्तररुपमा जलिरहेको छ । आगलागीबाट पाइप जलेर नष्ट भएपछि पाँडेथोक र पाखुरेका ३६ घरमा खानेपानी अवरुद्ध भएको हो ।
जङ्गलमा जमिनमाथि पाइप बिछ्याइएको छ । चट्टान र ठाडो भिर भएका कारण वनमा पाइप जमिनमुनि गाड्न नसकिएकाले समस्या भएको उनले बताए । “बस्तीदेखि करिब एक हजार सात सय मिटर टाढा रहेको मुहानबाट मैदानसम्म ल्याइएको पानीको पाइप आगोले डढेर पूर्णरुपमा नष्ट भयो”, उनले भने, “मुहानबाट मैदानसम्म आएको पानीलाई सोलारमार्फत तानेर प्रत्येक घरघरमा वितरण गरिएको छ ।”
गाउँमा खानेपानीको समस्या भएपछि मानिसले गाउँभन्दा तल रहेको गोभाने पँधेराबाट गाग्रीमा बोकेर पानी खान बाध्य भएका छन् । गाउँबाट झण्डै आधा घण्टाको दूरीमा रहेको गोभाने पँधेराबाट पालो पर्खेर एक गाग्री पानी ल्याउँदा बिहानै जाने गरेको उनले बताए । “धेरै भयो पानी परेको छैन, जताततै खडेरी छ, खानेपानीका मुहान पनि सुक्दै गएका छन्”, उनले भने, “पानीको जोहो गर्न पुरानो कुँवा, पँधेरा तथा खोल्साखोल्सी धाएका छौँ ।”
मानिसले गाग्रीमा बोकेर गुजारा चलाए पनि पशुचौपाया तथा तरकारी खेतीमा समस्या भएको छ । व्यवसायीकरुपमा मौसमी तथा बेमौसमी तरकारी खेती हुँदै पाँडेथोक तथा पाखुरेमा पानी आउन बन्द भएपछि तरकारीका बोट बिरुवा सुक्न थालेका छन् । अहिले बारीमा रहेका काँक्रा, घिरौँला, टमाटर, बोडा बोडी, करेला, सिमीलगायतका तरकारीका झाल सुक्न थालेकाले किसानहरुमा चिन्ता थपिएको स्थानीय अगुवा व्यावसायिक कृषक यज्ञप्रसाद लामिछानेले बताए । विसं २०६३ सालमा मुल दर्ता गरी २०६४ सालमा योजना सम्पन्न भई यहाँका स्थानीयले सिँचाइ र खानका लागि पानीको प्रयोग गर्दै आएका थिए ।
लामो दूरीमा रहेको पाइप जलेपछि अहिले गाउँमा खानेपानी र सिँचाइको समस्या भएको वडा नं ५ का वडा अध्यक्ष छविलाल आलेले बताए । सबै पाइप फेरेर अर्को नयाँ पाइप बिछ्याउन वडामा पर्याप्त बजेट नभएकाले नगरपालिका कार्यालयसँग अनुरोध गरिएको उनले बताए ।
गत वर्ष पनि पाँडेथोक र पाखुरेका स्थानीयले प्रयोग गर्दै आएको खानेपानीको पाइप जलेर नष्ट भएको थियो । “प्लाष्टिकको पाइपमार्फत वनमा अप्ठ्यारो र पहरो छिचोलेर पानी ल्याइएको छ”, उनले भने, “गत वर्ष पनि जलेर नष्ट भयो, अहिले पनि सोही समस्या देखियो, वनमा पाइप पुर्न सकिने अवस्था छैन ।”
लामो समयसम्म पानी नपरेका कारण वडाका अन्य गाउँका स्थानीयले प्रयोग गर्दै आएको खानेपानीको पाइप जलेर नष्ट भएको उनले बताए । “दिनहुँ जसो आगलागीका घटना भइरहेका छन्, जसले जमिनमा नपुरीकन ल्याइएका पानीका पाइपमा क्षति पु¥याएको छ”, उनले भने, “आगलागीकै कारण पाइप जल्दा अहिले वडाका झण्डै एक सय ९० घरधुरीमा खानेपानीको समस्या देखिएको छ ।” पाइपमार्फत घरघरमा आएका पानीमा समस्या देखिएपछि अहिले स्थानीय पुराना कुँवा, पँधेरा, खोल्सा खोल्सीको भर पर्नुपर्ने बाध्यता रहेको छ । गाउँमा देखिएको खानेपानीको समस्या समाधानका लागि वडाले पहल थालेको वडाध्यक्ष आलेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार
१०३ वर्षीया वृद्धा माजनी प्रजाले पाइन् नागरिकता
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार