ओलीको धपेडीमा गगनको चिन्ता
नेपालबहस संवाददाता
भदौ १९, २०७६ बिहिबार १९:५३:२१
१९ भदौ, काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली अहिले बिरामी छन् । दुनियाँ त्यही भन्छ । तर स्वयं ओली भने त्यो मान्न तयार छैनन् । दोस्रो पटक उपचारका लागि सिंगापुर जानुअघि उनलाई भेट्न पुगेका झापाली कार्यकर्तालाई भन्दै थिए :– “म १५ वर्ष अघि पो बिरामी थिएँ, अहिले छैन । यो सबै विरोधीहरुको हौवा मात्रै हो ।”
उनले त्यसो भनेको साता दिन नबित्दै मृगौला रोगले थलिएका ओली दोस्रो पटक सिंगापुरतिर उडे । मृगौलाले अत्यधिक एन्टीबडी उत्पादन गरेको भन्दै उपचार गर्नु पर्ने थियो । अहिले उनको उपचार धमाधम भइरहेको छ । संभवतः आज उनको उपचार पूरा होला । सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उनको उपचार भइरहेको छ ।
प्रधानमन्त्री बिरामी हुँदा देशै बिरामी हुँदो रहेछ । विगत एक महिनादेखि देश काम चलाउ रुपमा छ । ईश्वर पोखरेल कार्यबाहक प्रधानमन्त्री त छन् , तर सत्ताको साँचो भने अहिले पनि सिंगापुरमै छ । ओली भिडियो कन्फरेन्समार्फत सत्ताको लगाम तानिरहेका छन् । एक त उनी अरुलाई खासै विश्वास नगरिहाल्ने स्वभावका मानिस, त्यसमा पनि रोगले गाँजेको अवस्था । कतै सत्तामा अरुले ढलीमली गर्ने त होइनन् भन्ने पिरलोले ओलीलाई सताउने गरेको छ ।
प्रधानमन्त्रीको उपचारमा राज्यको कति खर्च भयो ? त्यसको लेखाजोखा अहिलेसम्म भएको छैन । न त सरकारले यसबारे स्पष्ट जानकारी दिएको छ, न नेपाल कम्युनिष्ट पार्टीले नै केही बोलेको छ । तर प्रधानमन्त्रीलाई भेट्न जानेको ताँती भने डरलाग्दो छ । देशका कहिलिएका उद्योगी व्यावसायी मात्र होइन उच्च पदस्थ र पार्टीका प्रभावशाली नेताहरु पनि सिंगापुर पुगेर प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना गरिरहेका छन् ।
भोलि शुक्रबार उपचार पूरा गरी स्वदेश फर्कन लागेका प्रधानमन्त्रीलाई शुभकामना दिन नेकपा सचिवालय सदस्यद्वय वामदेव गौतम र विष्णुप्रसाद पौडेल सिंगापुर पुग्नु केवल संयोग मात्र हो भनेर धेरैलाई पत्याउन गाह्रो भइरहेको छ । यसभित्र राजनीतिक स्वार्थ र प्रभावले काम गरेको देख्नेहरु धेरै छन् । आउने दिनमा यसबारे पक्कै स्पष्ट हुने नै छ ।
प्रधानमन्त्री ओली आफ्ना विरोधीले दिएको स्वास्थलाभको शुभकामना समेत ग्रहण गर्न हत्तपत्त रुचाउँदैनन् । आफ्नै पार्टीका शीर्ष नेता माधवकुमार नेपालले दिएको शुभकामना उनले फर्काएको घटना धेरै पुरानो भएकै छैन । पछिल्लो पटक सिंगापुर उड्नुअघि उनको नेता नेपालसँग नराम्ररोसँग चर्काचर्की भयो । साथै नेपालले दिएको स्वास्थलाभको कामना उनले ठाडै अस्वीकार गरे । त्यसैले सिंगापुर गएर स्वास्थलाभको कामना गर्न पनि सबैका लागि ग्राह्य थिएन ।
प्रधानमन्त्री ओली उपचारसँगै राजनीतिक भ्रमणमा आफू निकटस्थलाई बोलाउन थालेपछि नेकपा भित्रै विभिन्न आशंका उत्पन्न भएको छ । एक दिनपछि स्वदेश फर्कने तयारीमा रहेका प्रधानमन्त्रीले आखिर किन र केका लागि वामदेव र विष्णु पौडेललाई सिंगापुर डाके त ? संशय फैलिएको छ । यसको जवाफ पनि आउने समय नेपाली जनताले अवश्य पाउने नै छन् ।
उता, प्रधानमन्त्रीको रोग र धपेडीप्रति प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहानुभूति देखाएको छ । हिजो बुधबारको प्रतिनिधिसभा वैठकमा कांग्रेस नेता गगन थापाले ओलीप्रति अन्याय नगर्न नेकपालाई आग्रह गरे । बिरामी परेर थलिएका प्रधानमन्त्रीलाई धेरै कामको बोझ नथप्न उनले सुझाव दिएका छन् । गगनको सुझावलाई नेकपाले त कसरी लिन्छ थाहा भएन, तर स्वयं ओलीले भने पक्कै सकारात्मक रुपले लिने अवस्था छैन । एक त विरोधी त्यसमा पनि निस्कृय बस भन्ने सुझाव ओलीका लागि अगुल्टाले हानेको जस्तो हुने छ ।
उपचारका लागि लामो समय विदेशमा रहनु पर्ने हाम्रा प्रधानमन्त्रीलाई धेरै धपेडी नगराउन उनले सुझाव दिएका छन् । यसबाट देशको कूटनीतिक मर्यादा र राष्ट्रिय सुरक्षामा नै चुनौती थपिएको उनले बताए । हुन पनि टेलिप्रेजेन्समार्फत उनले दुई पटक मन्त्रिपरिषदको बैठक गर्दा नेपालको सुरक्षा संवेदनशीलतामा नराम्रो असर परेको भन्दै आलोचना भइरहेको छ । तर यस्तो आलोचनाले ओलीलाई छुने कुरै भएन । आराम गर्नु पर्ने अवस्थाका प्रधानमन्त्रीलाई नेकपाले धेरै काममा जोताएको भन्दै उनले अब विश्राम लिन सुझाव दिए ।
प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि यसबारे पक्कै केही प्रतिक्रिया दिने नै छन्, त्यो पनि उखान टुक्का जोडेर । नेपाली जनताले ओलीको उखान टुक्का नसुनेको धेरै भयो । त्यो तलतल पनि अब मेटाउने गरी ओलीको बोली फुट्ने होला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार