आज इन्द्रजात्रा, पाँच करोडको अक्षयकोष बनाउने तयारी
नेपालबहस संवाददाता
भदौ २७, २०७६ शुक्रबार १४:१९:३४
२७ भदौ, बैतडी । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । इन्द्रजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।
आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ ।
भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ ।
रु पाँच करोडको ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’
सरकारले काठमाडौं उपत्यकामा प्रत्येक वर्ष मनाउने इन्द्रजात्रा पर्वको सञ्चालन र व्यवस्थापनकाल लागि ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापना गर्ने निर्णय गरेको छ । कोषको रकम रु पाँच करोडको हुने सरकारले जनाएको छ । कोषमा सङ्घीय सरकारबाट एक करोड ५० लाख, प्रदेश नं ३ सरकारबाट रु एक करोड, काठमाडौं महानगरपालिकाबाट रु दुई करोड र गुठी संस्थानबाट रु ५० लाख योगदान गर्ने सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् ।
यस्तै सरकारले हुलाक सेवा विभागअन्तर्गतका अतिरिक्त हुलाक कार्यालयका कर्मचारीको तलब साउन १ गतेदेखि नै लागू हुने गरी वृद्धि गर्ने, नेपाल प्रशासन सेवाको सामूहिकीकरण (क्लष्टर) तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी पदमा प्रमुख सचिव तोयानाथ ज्ञवालीलाई बढुवा गरी प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
यस्तै नेपाल इञ्जिनीयरिङ सेवाको समूहिकीकरण (क्लष्टर)तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत ऋषिराम शर्मा र रवीन्द्रनाथ श्रेष्ठलाई बढुवा गरी अतिरिक्त समूहमा पदस्थापन गरिएको छ । सरकारले समपूरक अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ र विशेष अनुदानसम्बन्धी (दोस्रोे संशोधन) कार्यविधि २०७६ स्वीकृत गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।
सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने तथा खाँदबारी किमाथाङका सडकको १४ किमि चट्टानी खण्डलाई निर्माण गर्न नेपाली सेनालाई स्वीकृति दिएको छ । यस्तै राष्ट्रिय युवा परिषद्का लागि आर्थिक वर्ष २०७६/७७ मा आवश्यक पर्ने १५ वटा राजपत्राङ्कित पदको अस्थायी दरबन्दी स्वीकृत गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
पर्वलाई पर्यटनसँग जोडौँ : प्रधानमन्त्री
प्रधानमन्त्री खड्गप्रसाद ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताएका छन् । इन्द्रजात्राको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाल यति बेला आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको बताएका छन् ।
“समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा सांस्कृतिक महत्वका पर्वहरूलाई पर्यटन प्रवद्र्धनसँग जोड्नु आवश्यक छ”, प्रधानमन्त्री ओलीले सन्देशमा भनिएको छ, “प्राचीन महत्वका मौलिक विशेषता भएका यस्ता पर्वहरू बाह्य पर्यटकलाई आकर्षण गर्ने कडी बन्न सक्छन् । त्यस पक्षलाई पनि आत्मसात् गर्दै अघि बढ्न म सबैमा आग्रह गर्दछु ।” उनले नेपाल बहुभाषा, बहुधर्म र बहुसंस्कृतिको देश भएको उल्लेख गरेका छन् ।
“एक अर्काको समुदायका संस्कृतिलाई हामीले साझा सामाजिक–सांस्कृतिक निधि मान्दै आएका छौँ । यही सांस्कृतिक विशेषताका कारण हामी सम्पूर्ण नेपाली एकताको सूत्रमा बाँधिएका छौँ”, उनले सन्देशमा भनेका छन्, “हाम्रो सांस्कृतिक विविधतालाई विभेदका रुपमा अथ्याई नेपालीबीचको एकता धुमिल्याउने प्रयास भए, तर हामीले त्यस्ता दुष्प्रयासलाई परास्त गरिसकेका छौँ ।”
“इन्द्रजात्राका बारेमा वाल्मिकी रामायण, महाभारत, हरिवङ्शपुराण, कालिकापुराण, विष्णु धर्माेत्तर पुराण, बृहत् संहिता, भविष्य पुराण र संस्कृत भाषाका महाकवि कालिदासको रघुवंशमा पनि उल्लेख हुनुले यसको पौराणिकता पुष्टि हुन्छ”, उनले सन्देशमा भनेका छन्, “पौराणिक कालदेखि निरन्तर कायम रहँदै आएका यस्ता सांस्कृतिक पर्वको जगेर्ना हुनुुलाई हामीले नेपालको सांस्कृतिक सवलताका रुपमा लिनुपर्छ ।”
बैतडीमा अनन्त चतुर्दशी मेला, आज समापन हुँदै
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चर्तुदशीको अवसरमा लाग्ने चारदिने मेला आज समापन हुँदैछ । निङ्गलाशैनी भगवतीको भण्डार घरबाट मङ्गलबार मन्दिरमा भण्डार भित्र्याएसँगै मेला÷जात्रा शुरु भएको थियो ।
यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलनसमेत रहिआएको छ । जात्रामा चार दिनसम्म मन्दिरमा पूजाआजा लाग्ने गर्दछ । भाद्र शुक्ल पूर्णिमाको बिहानसम्म सञ्चालन हुने जात्रामा नेपाल तथा भारतका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहराले जानकारी दिए ।
अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा सोराड क्षेत्र र सदरमुकाम क्षेत्रबाट आउने जात्रा मुख्य आकर्षण हुन् । जात्रामा बलि नहुने र यो जातलाई ठूली जातको रूपमा मनाउने गरेको छ । प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा वर्षमा चार पटक जात्रा लाग्ने गरेको छ । भाद्र शुक्ल चतुर्दशी, असोजको महाष्टमी, मङ्सिर शुक्ल पूर्णिमा र चैतको अष्टमीको दिन गरी चार पटक विशेष जात्रा हुनेगरेको छ ।
अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलाका अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा मेला भर्नेहरुको घुइँचो लागेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा विशेष पूजा लाग्ने अनन्त चतुर्दशीको दिनलाई महत्वपूर्ण दिनका रूपमा लिइने गरिएको निङ्गलाशैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले बताए ।
मेलाको अवसरमा मन्दिरमा तीनरात बस्ने र उभिएर बत्ती बाल्ने महिला भक्तजनहरुको घुइँचो लागेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा तीनरात बसेमा तथा उभिएर बत्ती बालेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । अनन्त चतुर्दशीको अवसरमा मन्दिरमा विशेष पूजाआजासमेत हुनेगरेको छ । यो मेलालाई स्थानीय भाषामा ठूली जात भन्ने चलन रहिआएको छ ।
मेलालाई भव्य र सभ्यरूपमा सफल पार्न मेला अवधिभर मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मेलामा कसैले मदिरा सेवन तथा जुवातास खेलेको पाइएमा कानूनअनुसार कारवाही हुने जनाइएको छ । मेलामा देउडा प्रतियोगिता पनि सञ्चालन गरिएको छ । सुदूरपश्चिमको मुख्य खेल देउडा खेलका लागि पनि यो मेलालाई विशेषरूपमा हेर्ने गरिन्छ । जिल्लाभित्र तथा जिल्ला बाहिरका देउडियासमेत यहाँ आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
मौन स्नान गरी मनाइयो सोमबारे औँशी
पुष १५, २०८१ सोमबार
लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार