गृहमन्त्री थापाका साँइला भाइ नै चन्दा असुली र फिरौती संकलनमा सक्रिय
नेपालबहस संवाददाता
भदौ २७, २०७६ शुक्रबार १५:४८:३२
२७ भदौ, काठमाडौं । फिरौती संकलनको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका साँइला भाइ नरेशसहित ८ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बिहीबार बयान सुरु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदनसहितको फाइल आइतबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
ब्युरोले निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य अभियुक्तका रूपमा केन्द्रीय कारागारमा रहेका समीरमान बस्नेतसँग मिली फिरौती संकलनको धन्दा चलाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
ब्युरो स्रोतका अनुसार पक्राउ परेकामा नरेशसहित स्युचाटारका पवन खड्का, इचंगुनारायणका सुरेन नगरकोटी, भेडासिंहका शैलेश प्रजापति, नागार्जुनका विनोद लामा, वीरबल भट्टराई, मनबहादुर पुनमगर छन् । वीरबल केन्द्रीय कारागारको सुरक्षामा खटिएका प्रहरी जवान हुन् । प्रजापति, लामा र भट्टराईको बयान बिहीबार सकिएको छ । सबैको बयान नसकिएकाले उनीहरू शुक्रबार र शनिबार हिरासतमै रहनेछन् । आउने आइतबार पुनः बयान लिइने र त्यसपछि थुनछेक आदेश हुने अदालत स्रोतले जनाएको छ । ब्युरोले समीरमानलाई पनि प्रतिवादी बनाएको छ ।
ब्युरोका डीआईजी नीरज शाहीले संगठित अपराध र आपराधिक लाभ लिएकामा सरकारी वकिलमार्फत जिल्ला अदालतमा मुद्दा पेस भएको बताए । प्रारम्भिक बयानपछि नरेशलाई बिरामी कागजातका आधारमा थुनाबाहिर बस्ने सुविधा दिइएकामा पछिल्लो समय उनी थुनामै छन् । ‘सातै जना ब्युरोको थुनाकक्षमै छन्,’ स्रोतले भन्यो ।
स्रोतका अनुसार वीरबलले समीरमानका निम्ति ‘सेटिङ’ मा मोबाइल फोन कारागारभित्र पुर्याउन सघाएका थिए । पक्राउ परेका एक जनाले ५ हजार रुपैयाँ दिने सर्तमा वीरबलले मोबाइल जेलभित्र पुर्याउन भूमिका खेलेको बयान दिएका छन् । समीरमानले सुरुमा पवन र सुरेनलाई उपयोग गर्दै झन्डै ८६ जना व्यापारी–व्यवसायीसँग फिरौती असुल्ने योजना बनाएका थिए ।
साउन अन्तिम साता पक्राउ परेका पवन र सुरेनले व्यवसायी, निजी विद्यालय सञ्चालक, उद्योगी र व्यापारीलाई फोन गरेर रकम मागेको देखिन्छ । रकम असुल्न समीरमानकै अगुवाइमा पवन र दुबई रहेका जावेद अनवरदिनले योजना बनाएका थिए । उक्त योजनामा पछि शैलेश, वीरबल हुँदै गृहमन्त्रीका भाइ नरेश पनि जोडिएका हुन् ।
वीरबलले दिएको फोन प्रवेशले समीरमानलाई उपलब्ध गराएको अनुसन्धानबाट पत्ता लागेको छ । समीरमानले जेलभित्रैबाट फोन र एसएमएसमार्फत फिरौती धन्दा अघि बढाएका थिए तर उनले अधिकांश एसएमएस डिलिट गरेको एक अनुसन्धान अधिकारीले बताए । ब्युरोले प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा उक्त मोबाइल परीक्षण गरेर झन्डै ७० प्रतिशत म्यासेज ‘रिकभर’ गरेको थियो ।
गौचन हत्याको तीन महिनापछि भारतबाट पक्राउ परेका समीरमानलाई ललितपुरको नक्खु कारागार पुर्याइएको थियो तर जेलभित्रैबाटसञ्जाल चलाएको सूचना पाएपछि गृह मन्त्रालयको पहलमा २०७५ असोज १५ मा उनलाई मुस्ताङ कारागार सारिएको थियो ।
त्यसलगत्तै उनकी श्रीमती माया शेरचनले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । अदालतको आदेशमा उनलाई पुनः राजधानी ल्याएर केन्द्रीय कारागार सुन्धारामा राखिएको हो ।
समीरमानले शैलेश र पवनमार्फत नरेशसँग सम्पर्क बढाएको एक अनुसन्धान अधिकारीले बताए । स्रोतका अनुसार रानीवन र सिटी सेन्टरमा बारम्बार भेट्ने गरेका पवन, शैलेश र नरेशबीच फोन सम्पर्क पनि बाक्लै भएको देखिन्छ । फिरौती असुली योजना र समीरमानलाई काठमाडौंबाहिरका जेलमा सरुवा नगर्ने व्यवस्था मिलाउन पनि उनीहरूबीच कुराकानी भएको हुन सक्ने देखिन्छ ।
पवनले नरेशसँग भएको कुराकानी दुबईमा रहेका जावेदलाई फेसबुक म्यासेन्जरमार्फत पठाएको अनुसन्धानमा खुलेपछि ब्युरोले सुरेनलाई बोलाएको थियो । एक अनुसन्धान अधिकारीले नरेशको संलग्नता तेस्रो पक्षका रूपमा मात्रै देखिएको बताए । फिरौती संकलनमा नरेशको नाम मुछिएकैले उनी पक्राउ परे पनि रकम लिएको वा भाग खोजेको भन्ने तथ्य अनुसन्धानमा खुलेको छैन ।
पवनले नरेशसँग भएको कुराकानी भन्दै जावेदलाई पठाएको सन्देशमा फिरौती संकलनमा केही अप्ठ्यारो परे नरेशले मिलाउने उल्लेख छ । कामका क्रममा केही गाह्रोसाह्रो परे नरेशले प्रहरी र गृह प्रशासन सबैलाई मिलाउन सक्ने कुराकानी भएको देखिन्छ । पवनले जावेदसँग केही अप्ठ्यारो परे नरेशले मान्छे भगाउन पनि सहयोग गर्ने बताएका छन् ।
‘दुई पक्षबीचको कुराकानीमा नरेशको नाम बारम्बार उल्लेख भएको देखिएपछि उनी स्वतः अनुसन्धानमा तानिएका हुन्’ अरू कुरा समय क्रममा थप खुल्दै जाला ।’ ब्युरोले नरेशले केन्द्रीय कारागारमै पुगेर समीरमानलाई भेटेको तथ्य बटुलेको छ । तर केन्द्रीय कारागारको आगन्तुक पुस्तिकाको सूचीमा भने नरेशको नाम देखिँदैन । यसबारे नाम गोप्य राख्ने सर्तमा ब्युरोका एक अधिकारीले भने, ‘अनुसन्धानको गम्भीरताका कारण यो तथ्य पछि आफैं खुल्नेछ ।’
को हुन् समीरमान ?
समीरमान सुरुमा बाफलमा कुखुरापालन गर्दागर्दै स–साना ठेक्कापट्टामा लागेका थिए । त्यही क्रममा उनको चिनजान गुन्डा नाइके कुमार घैंटेसँग भएको थियो । घैंटेकै संगतबाट उनी अपराधको दुनियाँमा भिज्दै गए । गुन्डागर्दीमा दावा लामा, गणेश लामाहरूको उपस्थिति बलियो बन्दै जाँदा घैंटेले समीरमानलाई अगाडि सारेर धन्दा चलाइरहेका थिए ।
२०७२ भदौमा घैंटे प्रहरी कारबाहीमा मारिएपछि समीरमान आफ्नै समूह बनाएर फिरौती असुलीमा सक्रिय थिए । घैंटेको मृत्युपछि भारत पसेका उनले फिरौती धन्दा चलाइरहेका मनोज पुनसँग मिलेर आफ्नो समूह विस्तार गरेका थिए । यही समूहले २०७३ चैत २९ गते गौरीघाटमा दावा लामालाई गोली हानेको थियो ।
गोली हान्न समीरमानका मुख्य सहयोगी लोप्साङ लामाले नेपाली सेनाका भगौडा अमरबहादुर रानालाई प्रयोग गरेका थिए । प्रहरीले २०७३ पुस ४ मा भैरहवामा एमालेनिकट युवा संघ अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि समीरमानको साथ रहेको बताएको छ ।
निर्माण व्यवसायी गौचनको हत्याका बेला उनले भारतका विभिन्न सहरमा बसेर भाइबर, ह्वाट्स एपमार्फत निर्माण व्यवसायी, बैंकका सीईओ र निजी स्कुल कलेजका सञ्चालकसँग असुली धन्दा चलाइरहेको प्रहरी अनुसन्धानले देखाएको थियो ।
यसरी जोडिए नरेश
प्रहरीका अनुसार भारतीय सेनाका अवकाश प्राप्त नरेश पछिल्लो समय बालुवा र ढुंगाको कारोबारमा पनि अप्रत्यक्ष संलग्न थिए । फिरौती संकलनको घटनामा उनको प्रवेशबारे ब्युरोका अधिकारीहरूको फरक–फरक मत छ ।
एक अनुसन्धान अधिकारीले समीरमानसँग नरेशको पुरानै चिनाजानी रहेको देखिने बताए । ब्युरोको अधिकारीहरूले शैलेशलाई ‘राजनीतिक ब्रोकर’ को काम गर्ने भनी चिनाएका छन् । प्रहरीका अनुसार शैलेशको सिटी सेन्टरमा ‘फुड कोर्ट’ व्यवसाय छ । समीरमानले नै नरेशबारे शैलेशलाईभनेको देखिन्छ ।
पारिवारिक समस्यामा रहेका पवनका एक आफन्त नेकपाको भ्रातृ संगठन वाईसीएलसँग आबद्ध रहेको र उनीसँगको प्रतिशोध साध्न पनि उनी फिरौती संकलनको खेलमा सक्रिय भएर गृहमन्त्रीका भाइसँग नियमित सम्पर्कमा रहेको खबर आजको कान्तिपुले छापेको छ । तथापी नरेशले भने आफुमाथि लागेको आरोप स्वीकार गरेका छैनन् । पक्राउ पछि बिरामी भएको बहाना बनाएर नरेश बसुन्धरास्थित चिरायु अस्पतालको स्विट क्याबिनमा बसेका थिए । सो क्याबिनको दैनिक शुल्क ११ हजार ८ सय ६५ रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार