जुत्ता काण्ड फेरियाे, नेताकाे सोच फेरिएन
नेपालबहस संवाददाता
फागुन १९, २०७६ सोमबार २०:१९:१३
♦ यज्ञप्रसाद भट्टराई
१९ फागुन, काठमाडाैं । केही दिनदेखि नेपाली राजनीतिको गगनमा केही फरक प्रकृतिको बादल मडारिरहेको छ । एकपछि अर्को काण्डमा सरकारका मन्त्री, मुख्यमन्त्री, सरकारी निकायका प्रमुखहरु, राजनैतिक दलका नेताहरु र अहिले आएर प्रधानमन्त्रीको समेत नाममा अदालतमा मुद्धा दर्ता भएका समाचारहरुले नेपालको राजनीतिलाई तरङ्गित बनाएको छ ।
यसले राजनैतिक दल र तिनका आडमा हुने गरेका, भईरहेका र हुन लागेका समस्त काला कर्तुतहरुको भण्डाफोर हुँदै नाटकिय रुपमा पर्दा खुल्न थालेको देखिन्छ । पर्दा पछाडिको नाटकको तैयारी झन डरलाग्दो, घिनलाग्दो र कहालिलाग्दो देखिन्छ । पर्दा पछाडिको नाटकको तैयारी देख्दा आम नागरिकहरु दर्शकदीर्घामा आक्रोशित मुद्रामा देखिन्छन् ।
पर्दा अगाडि सिंगारिएको नेताजीहरुको स्वरुप पर्दा उघ्रिन थालेसँगै नाङ्गो कुकृत्य छर्लङ्ग देखिएपछि सम्मानका लागि बोकेका फुलका गुच्छाहरु नागरिकका हातबाट एकाएक खस्न थालेका छन् भने फुलका गुच्छा बोक्ने हातहरुले फुलका गुच्छा फालेर पाउमा लगाएका जुत्ता टिप्न बाध्य बनाईदैछ नागरिकलाई ।
भोगप्रसादका लागि उपहार टक्र्याउन ल्याएका स्याउ, सुन्तला र अनारका दाना फालेर सडकमा लडिरहेको ढुंगा टिप्न बाध्य पार्दैछ नेतृत्व । यसको परिणाम यत्तिमै सिमित रहला जस्तो देखिदैन । यो बिरोध, आक्रोश र बितृष्णाको कहर कोरोना भाईरस सरह सिंगो मुलुक र मुलुक बाहिर रहेका तमाम नेपाली जनजनमा पुग्ने देखिन्छ ।
देशको चिन्ताले सिद्रा सुकेझै सुकेका नेपाली, भोकमरी र कुपोषणले भित्रैदेखि दुखेका नेपाली, उचित नैतिक, व्यबहारिक र व्यवसायिक शिक्षाको अभावमा सर्टिफिकेट नामको बेकम्मा कागजको खोस्टो देखाउँदै आफु शैक्षिक बेरोजगारको सूचीमा सूचीकृत हुन लाममा बसेको नेपाली, स्वास्थ्य उपचारका लागि सिफारिस लिन नेताको दलान र महल ढुक्नु परेका नेपालीहरुको कथा लेख्ने कलम हराउदै गएका छन् ।
व्यथा बोल्ने सारङ्गीका तारहरु कसिन छाडेका छन् । मुर्चुङ्गा र बिनायोले अहिले गाँउ बस्तीका गीत बोल्दैनन् । अहिले बाँसुरीले जनताको व्यथा बोल्दैन, मादलले गाँउबस्तीको कथा बोल्दैन । किनकि हिजोका गाँउबस्तीका कथा र व्यथाहरु सबै शहरिया भैसकेका छन् । बिस्तारै शहरतिर गैसकेका छन् । सर्बहाराहरुको नेतृत्व गर्नेहरु मुलुककै धनाढ्य परिवारको गणनामा परिसकेका छन् ।
तर अझै पनि गाउँमा दुई छाक ढिँढो र च्याँख्लाको जोहो गर्न नसकेर मुग्लान भासिने नेपालीहरुको अर्को छुट्टै कथा छ । गाँउमा अझै पनि गाँस, बास, कपासको व्यबस्थापनको कहालिलाग्दो व्यथा छ । नेपालका गाँउबस्तीको अवस्था देखेर सामाजिक सञ्जालमा नेपालीहरु रुन्छन् । आफ्ना अभिभावकका दर्दनाक जीवननिर्वाहको अवस्थालाई देखेर भित्रिभित्रै कराउछन्, क्रान्तिकारी नेताका भाषण्मा आउने धम्किपूर्ण अभिव्यक्तिले केही भन्न पनि डराउँछन् ।
कतै मेरो सामाजिक सञ्जालमा आएका यी र यस्तै भनाईहरु, बिषयहरु, समसामयिक विषयबस्तुहरु र टिप्पणीहरुले स्वदेशमा रहेका मेरा आपना आफन्तहरुलाई यी अपराधी प्रबृत्तिका अभिभावकरुपी नरभक्षीहरुले केहि गरि पो हाल्ने हुन कि भन्ने पिर छ । हिजो पाएको अनाहकको कठबाँसको डण्डाको छाप मेटिएकै छैन ।
तर मुलुकको अहिलेको अवस्था हेर्दा आम नागरिकले अहिले झन बढी बोल्नु पर्ने अवस्था छ । अझ बढी अपराधका कहालिलाग्दा करतुतहरु खोतल्नु पर्ने अवस्था छ । तर समय उल्टो चल्छ अचेल, कसकसले केके बोल्दैछन् भनेर सरकारका प्रवक्ताले आपनो डायरी भरेका छन् ।
कसैकसैले फेसबुक र टुईटरमा धम्क्याउदै छन् । कोही कानुन नै बनाएर बोल्ने मुख र लेख्ने कलममा पूर्णबिराम लगाउन खोज्दैछन् । यत्तिले पनि नहुने भएपछि कोहीकोही हतियारमा साँध लाउँदैछन् । कोही बोल्छस् भन्दै सोझा सिधा नेपालीलाई झम्टन आउँदैछन् । हिजो पनि डरैडर आज पनि डरैडर । लाग्छ अब यी डाईनासरहरुको अवसान नहुञ्जेल नेपालीले सन्तोषको सास फेर्न पनि पाउने छैनन् ।
गोल्छे कामरेडदेखि शुरु भएको जुत्ता उपहार कार्यक्रम प्रचण्ड कामरेडसम्म आईपुग्दा पनि प्रकृति उस्तै छ मात्र पात्र फेरिएको छ । जुत्ताका काण्ड फेरिए होलान, नेताका सोच फेरिएका छैनन् । जनताको उपहार स्विकार्न सक्ने नेता यो देशमा उम्रिएकै छैनन् । हिजो आफुले निर्दोष जनतालाई, निहत्था नागरिकलाई बन्दुके शान देखाएर बीच सडकमा कालो मोसो दल्नेदेखि जुत्ताको माला लगाउने आफैले बसाएको एक्काईसौं शताब्दीको अति उत्तम अभियानलाई चटक्कै बिर्सिएका स्वघोषित भगवानहरुलाई आज आफुले जनताको जुत्ताको झटारो खाँदा दुःख लाग्नु स्वभाविकै हो ।
हिजो जनताका बाख्रा चोरेर खाएका, सार्वजनिक सम्पत्ती बैंक र वित्तिय संस्थाबाट पैसा लुटेर खान पल्किएकाहरु नै अहिले देश बनाउन हिडेको संघर्षशिल व्यक्तिहरुलाई जनताको यस प्रकारको तिरस्कारले विकासको काममा आँच आउन सक्छ । विकासका लागि अघि सरेका गोडा लरबराउन सक्छन् । वास्तवमा यस्ता देश चलाउन बनाईएका कानून, नीति, नियमहरु पनि अहिलेको लुटतन्त्र र भुटतन्त्रमा तगारो बन्न सक्छन् । बाधक बन्न सक्छन् । यथार्थमा घाँडो बन्न सक्छन् ।
हिजोको सरकारले सुकुम्बासीहरुका समस्या समाधान गर्न आयोग बनाउँथ्यो । भूमिहिन नागरिकहरुलाई रातो पूर्जा उपलब्ध गराउँथ्यो । बर्षौसम्म भूमिहिन भएर बाँचेका नागरिकका मुहारमा खुसी ल्याउँथ्यो । जहाँ गरिब जनताले आपनै नाममा रहेका जमिनको टुकडीमा आफु ओतलाग्ने आपनै घर बनाउँथे । मर्दा आपनै आँगनको तुलसीको मोठमा आपनो शीर बिसाउन पाउँथे ।
अहिले सरकारकै भूमिव्यवस्थापन गर्ने मन्त्री सुकुम्बासी नागरिकका घर र टहरा भत्काउन अग्रसर छिन् । कहाँ–कहाँ ऐलानी जग्गामा नागरिक टहरो हालेर बसेका छन् भनेर पार्टीका झोलेहरुलाई खटाएर आपनै सन्ततीको बास उठान गरेको दृष्य देख्दा मनै अमिलो भएर आउँछ ।
गरिब असहाय, सुकुम्बासी नेपाली जनताको, तिनै आपना सुकुम्बासी शन्ततीलाई छत्रछायामा लुकाईरहेका बुढाबुढी आमाबुबाको चित्कार सुनेर पनि अलिकति मायाँ नपलाएको, सुकुम्बासी नागरिकका आखाँमा आएको आँसुको अतिकति पनि मानवता नदेखिएको मन्त्रीको उग्रचण्डी रुप देख्दा यस्ता दरिद्रनारी आत्माले गरिब जनताको समस्या समाधान गर्लान र भन्ने प्रश्न गर्न मन लाग्छ ।
तपाईहरु आम नागरिकलाई थाहा नभएको पनि हुनसक्छ हाम्रा नेता जोगी बन्न राजनीतिमा आएका हुँदै हैनन् । उनीहरु बास्तवमा जनताका जनप्रतिनिधि नै हैनन् । जनताको मतले भन्दा आपनो पैसाको बलले चुनाव जितेर आएका नेतृत्वलाई जनप्रतिनिधि हैन नेता भनिन्छ । आफुले गरेको खर्चको साँवा ब्याज नउठाए अर्को चुनावमा फेरि पछि परिन्छ ।
सरकारका गृहमन्त्रीको भनाईलाई सापट माग्ने हो भने भ्रष्टाचारको कार्वाही अगाडि बढाए स्थानीय निकाय खाली हुन्छ । उल्टो मुलुकमा भएका सम्पूर्ण जेल भरिन्छ । यता राखे पनि पाल्नु पर्ने उता जेलमा राखे पनि पाल्नु पर्ने सरकारलाई दोहोरो मार छ ।
केही समय अझै पर्खौ नेपाली जनतालाई मुतको न्यानोमा सुताउँदै देश लुटने अभियानलाई तिब्रता दिईरहेका छौं । तपाईं नागरिकहरु यसलाई सरकारको लाचारी मानसिकता नै मान्नुस केही फरक पर्दैन हामीले यसलाई मुलुकमा नेताजीहरुको बहादुरीपन ठानेका छौं ।
सरकारले अब नेता व्यवस्थापन आयोग बनाउदैछ । मन्त्रीलाई कहाँकहाँ ऐलानी, पर्ती र सिमसार जमिन छ भनेर खोज्न पठाउँदैछ । बरिष्ठ मन्त्रीलाई कमिशनको नाईकेमा बढुवा गराउँदैछ । सल्लाहकारहरुलाई बालुवाटारको जग्गा कब्जा गर्न छिराउँदैछ । अरु आसेपासे धुपौरे चम्चागिरीहरुलाई गुठी, खोलाधार, मठ, मन्दिर र बिद्यालयहरुका नाममा रहेको जग्गामा बसोासको ब्यवस्थापन गराउँदैछ ।
अब केही दिनमा सुकुम्बासी नेताको ब्यवस्थापन भैसकेपछि मात्र बास्तबिक नेपाली सुकुम्बासीको तथ्यांक संकलन गराईनेछ । ढुक्क हुनुस्, सुकुम्बासी नेपाली दाजुभाई दिदिबहिनीहरु ! पाँच बर्ष भित्रमा तराईको सबै जमिन काममा लगाईनेछ । सबैलाई जमिनका मालिक बनाईनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार
कञ्चनजङ्घा गोल्डकप: गोधुली फुटबल क्लब फाइनल प्रवेश
मंसिर १९, २०८१ बुधबार
बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ?
मंसिर १९, २०८१ बुधबार