बन्दाबन्दीमा स्थानीय तहमा विकास निर्माणका काम धमाधम
नेपालबहस संवाददाता
जेठ २०, २०७७ मंगलबार २०:३०:५०
२० जेठ दमौली । बन्दाबन्दी जारी रहँदा तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा विकास निर्माणका काम धमाधम भइरहेको छ । सामाजिक दूरी कायम गर्दै विकासका काम सञ्चालन भएको हो ।
जिल्लामा स्थानीय तहबाट विनियोजित बजेटबाट साना योजनासँगै सङ्घ र प्रदेश सरकारका बजेटबाट ठूला योजनाको काम भइरहेको छ । शहरी विकास मन्त्रालयबाट विनियोजित रु एक करोडको लागतमा भानु नगरपालिका–७, ८ र ९ जोड्ने बाइसजाँगर, कुडापानी, थानीमाई मन्दिर हुँदै टुहुरेपसल जोड्ने सडकको स्तरोन्नति कार्य शुरु गरिएको छ ।
सो सडकको १४ किमी खण्डमा पक्की नाला र ग्राभेल गर्ने गरी हाललाई काम शुरु भएको शहरी विकास कार्यालय पोखराले जनाएको छ । कार्यालयका प्रमुख डिभिजन इञ्जीनियर झपट थापाले बजेट खेर जान नदिन काम शुरु गरिएको जानकारी दिए । सो सडकका लागि प्रदेश सरकारबाट पनि रु ६० लाख बजेट विनियोजन भएको छ ।
सो सडकको ठेक्का लागिसकेको हुँदा अब धमाधम काम शुरु गर्ने र चालू आर्थिक वर्षमा काम नसकिएमा आगामी आवमा पनि काम गर्न सकिने कार्यालयका इञ्जीनियर सागर पोखरेलले बताए । यसैगरी जिल्लाको देवघाट गाउँपालिका–५ स्थित देवघाट टोल सुधार समितिले सामाजिक दूरी कायम गर्दै संस्थाको भवन निर्माणको काम शुरु गरेको छ । स्थानीयस्तरकै निर्माणकर्मी प्रयोग गरी संस्थाले भवन निर्माणको काम शुरु गरेको संस्थाका अध्यक्ष सुकु गुरुङले जानकारी दिए ।
भवन निर्माणका लागि सांसद क्षेत्र विकास कोषअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत रु १० लाख प्राप्त भएको थियो । रु दुई लाख टोलवासीबाट सङ्कलन गरी १२ लाखको लागतमा सो भवन निर्माण शुरु गरिएको उनले बताए । स्थानीय निर्माणकर्मी र मजदुरको प्रयोग गरी निर्माणको काम गर्ने र यसअघि सम्झौता भइसकेका साना योजना यही आवमा नै सम्पन्न गर्ने गाउँपालिकाले निर्णय गरेको वडा नं ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले जानकारी दिए ।
यस्तै गण्डकी प्रदेश र प्रदेश नं ५ जोड्न यहाँको घिरिङ गाउँपालिका–१ पुट्टारमा मोटरेबल पुल निर्माण शुरु भएको छ । जिल्लाको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्न कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण शुरु गरिएको हो । तनहुँतर्फको भागमा पहिलो पिलरको फाउण्डेशन ढलान गर्नका लागि काम शुरु गरिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए ।
बन्दाबन्दी जारी रहँदा पनि सावधानी अपनाएर पुल निर्माणको कामलाई शुरु गरिएको उनले जानकारी दिए । उनका अनुसार पुल निर्माणका लागि स्थानीय मजदुर प्रयोग गरिएको छ । “बन्दाबन्दी अझै कति दिनसम्म रहने भन्ने टुङ्गो नभएकाले यही बीचमा पुल निर्माणको कामलाई शुरु गरेका छौँ”, उनले भने, “सीमित र स्थानीय मजदुर मात्रै प्रयोग गरेका छौँ ।” शुरुमा रु २६ करोड लागत रहेको पुलको अहिले लागत बढेर रु २८ करोड ३० लाख पुगेको छ । पहिल्यै निर्माण शुरु हुनुपर्ने पुलको काम विविध कारणले रोकिँदै आएको थियो ।
निर्माण शुरु भएको २० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि अहिलेकै अवस्थामा तोकिएकै मितिमा पुल निर्माण हुन समस्या पर्ने उनले बताए । “गुणस्तरीय पुल निर्माणका लागि उपभोक्ताले निरन्तररूपमा अनुगमन गर्नेछौँ, निर्माण सम्पन्न अवधि केही पछाडि धकेलिन सक्छ ।” २१० मिटर लामो पुलको निर्माणको जिम्मा काठमाडौंस्थित युनाइटेड विल्डर्सले पाएको छ । सो पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो ।
उपभोक्ता समिति गठन भएको छ महिनाभित्र बजेट पर्न सफल यस पुल डबल लेन प्रविधिमा निर्माण हुनेछ । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य भएको स्थानीय माया दरैले बताए । उनले भने, “पुल नहुँदा नजिकै रहेको स्याउलीबजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहजरूपमा आवातजावात गर्न सकिन्छ ।” मोटरेवल पुल निर्माण भएपछि दुई स्थानीय तहका हजारौँ सर्वसाधारण लाभान्वित हुनेछन् ।
दशहरा पर्व
जिल्लामा बसोबास गर्ने दरै जातिले गङ्गा दशहरा पर्व मनाएका छन् । विशेषगरी व्यास नगरपालिकाभित्र बसोबास गर्दै आएका ती जातिले दुई दिन चण्डी पूजा, खम्बेदेवी तथा आगो पुजेर दशहरा पर्व मनाएका हुन् । व्यास नगरपालिकाका भादगाउँ, साँखर, कलेस्ती, चिन्तुटार, दुम्सीचौरलगायत गाउँका दरैहरुले गिदरीको काठलाई जुधाएर आगो निकालेर पुज्दै घरमा आगो भित्र्याएका छन् ।
दशहराको अघिल्लो दिन चण्डी, भँयर र देउरालीको पूजा अर्चना गरिन्छ भने भोलिपल्ट खम्बेदेवीलाई पुजेर अग्निको पूजा गर्ने प्रचलन रहेको व्यास नगरपालिका–७ कलेस्तीका जितबहादुर दरैले बताए । बन्दाबन्दी जारी रहेकै अवधिमा ४६ घर दरै परिवारले सुङ्गुर, परेवा र कुखुरा बली दिएर पर्व मनाएको उनले बताए । नदीको किनारामा बसोवास गर्ने सीमान्तकृत ती जातिले खेती राम्रो होस्, चट्याङ नपरोस्, गाउँमा कुनैपनि अप्रिय घटना नहोस् र रोगको सङ्क्रमण पनि नफैलियोस् भनेर चण्डीदेवीको पूजा गर्ने चलन रहेको दरै जातिका पुजारी रामु दरैले जानकारी दिए । उनका अनुसार चण्डीदेवीको पूजा गर्दा हलो, धानको बाला, खनायोको फल र कुखुराको फूल र डेग्वा ‘चामलको पिठोबाट मःम जसरी बनाइएको रोटी’ लाई सुङ्गुरको बलि दिएर पूजा गर्ने प्रचलन रहेको छ ।
देवीको प्रसादको रुपमा सुङ्गुरको टाउको पकाएर सबैले जाँडसँग खाने र अरु मासुलाई भाग लगाएर घरमा प्रसादको रुपमा लैजाने प्रचलन दरै जातिमा रहँदै आएको छ । गिदरीको काठहरु जुधाएर आगो निकाल्ने र उक्त आगोलाई फूलपाती, अक्षता र जाँडले पूजा गरी सबैले ल्याएको दाउरामा आगो सल्काएर घरमा लगी नयाँ आगो भित्र्याउने चलन रहँदै आएको पुजारी दरैले बताए । यसरी लगिएको आगो तीन दिनसम्म मार्नुहुँदैन भन्ने चलन रहेको र तीन दिनसम्म दरै जातिभित्र लेनदेन चलेपनि अन्य जातिमा लेनदेन समेत नचल्ने प्रचलन कायमै छ ।
नदीको किनारामा बस्दै आएका दरैहरु प्रकृतिलाई पूजा गर्ने भएको कुरा आफूहरुले गर्ने पूजाबाट प्रष्ट हुने गरेको व्यास नगरपालिका–७ सिमलटारस्थित क्यामिन कालिका दरै समाजका अध्यक्ष शेरबहादुर दरैले बताए । दरै जातिको मुख्य बसोबास तनहुँ, चितवन, नवलपरासी, गोरखा, धादिङ पर्सा, रुपन्देही लगायतका १३ जिल्लामा रहेको छ । विसं २०६८ को जनगणनाअनुसार तनहुँमा दरैहरुको जनसङ्ख्या दुई हजार ४९ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार