५० लाखको सडक खन्दा ३५ लाखको खानेपानी संरचना ध्वस्त !
नेपालबहस संवाददाता
असार २५, २०७७ शुक्रबार २:४४:१३
२५ असार, स्याङ्जा । असारे विकासको कुरुपता कतिसम्म हुन्छ ? भन्ने वास्तविकता स्याङ्जाको वालिङ नगरपालिकामा देखिएको छ । वालिङ नगरपालिका वडा नं. १३ र १४ मा सडक विस्तारको ‘असारे विकास’ले ३५ लाखको खानेपानी आयोजनामा क्षति पुगेको मात्रै छैन, स्थानीयले शुद्ध खानेपानी नपाउँदा ज्यानै गुमाउनु परेको छ ।
संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागको बजेट संघीय आयोजना कार्यान्वयन ईकाईमार्फत वालिङ नगरपालिकाकाे वडा नं. १४ ले सडक विस्तार गरिरहेको हो । तर सडक विस्तारको काम गर्दा उपभोक्ता समितिले जथाभावी डोजर लगाउँदा खानेपानी आयोजनाको संरचना ध्वस्त भएको छ । असारे विकासमा हतार हतार बजेट खानलाई काम गर्दा वालिङका झण्डै ५ सय घरपरिवार खानेपानीबाट बञ्चित भएका छन ।
समस्याको चुरो : ५ सय पोलको काम १२ पोलबाट चलाउँदा !
१० बर्षअघि अँधेरी खोलाबाट झण्डै ३ करोडको लगानीमा खानेपानी ल्याउने काम शुरु भयो । तत्कालिन समयमा आयोजनाले विस्तृत सर्वे गरेर काम अगाडि बढाएको थियो । तर उपभोक्ता समितिले सर्वेको बाटो छाडेर पायक पर्ने र सजिलो ठानिएको गोरेटो सडकबाटै खानेपानीको पाइप हाल्यो । सजिलो ठान्ने र कामचलाउ पाराले काम गर्दा ३ करोड लगानीको बजेटबाट वालिङबासीले खानेपानी त पिउन पाए ।
तर फेरि बर्षायाममा पटक पटक जनताले भने सास्ती पाइरहे । त्यतिबेला सर्वे गरेको ठाउँ छाडेर नयाँ ठाउँबाट पाइप हाल्दा अहिलेको संकट आइलागेको हो । जसले सडक बनाउँदा खानेपानीकै संरचना ध्वस्त पा¥यो । ‘त्यतिबेला नै सर्वे गरिएको ठाउँबाट भन्दा फरक ठाउँबाट खानेपानीको पाइप हालियो । धेरै गहिरो खनेर पाइप हाल्नेभन्दा माथि माथि माटोले पुरेर पाइप हालियो’, खानेपानी उपभोक्ता समितिका वर्तमान अध्यक्ष अनिरुद्ध गैह्रे भन्छन, ‘त्यतिबेलाको लापरबाहीको मूल्य अहिले सडक खन्दा चुकाउनुपरेको छ । सडक विस्तार गर्दा खानेपानीबाट हामी उपभोक्ता बञ्चित छौ ।’
त्यतिबेला खानेपानी उपभोक्ता समितिको अध्यक्ष थिए परमानन्द डुम्रे । जो अहिले बितिसकेका छन । उनकै बलमा सर्वेको बाटो छाडेर नयाँ ठाउँबाट पाइप ल्याइएको हो । त्यतिमात्रै होइन, खोलाबाट पाइप ल्याउँदा झण्डै ५ सय वटा पोल हाल्ने योजना थियो । तर जम्मा १२ पोलको भरमा खोलाबाट पानी बस्तीसम्म ल्याइयो ।
निकै थोरै पोल हालेर कच्चा काम गर्दा अहिले बर्षायाममा पटक पटक पहिरोले पाइप चुडाल्ने गरेको छ । बर्षेनी वालिङका स्थानीयले यो समस्या झेलिरहेका छन । यसपटक झन असारे विकासमा सडक विस्तार गर्न खोज्दा महिनौ दिनसम्म खानेपानीबाट स्थानीय बञ्चित छन ।
बजेट झ्वाम पार्न हतार, वडाध्यक्ष बेखबर !
भूमि, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सडक विस्तारका लागि शहरी विकास तथा भवन निर्माण विभागबाट ५० लाखको बजेट छुटुयाउन लगाएकी थिइन् । संघीय कार्यान्वयन ईकाईमार्फत वालिङ नगरपालिका १४ ले सडक विस्तारका लागि उपभोक्ता समितिलाई जिम्मा दिएको हो ।
विनियोजित बजेटमध्ये १० लाख पेश्की लिएर समितिले काम पनि थाल्यो । तर काम थालेको दुई चार दिनमै खानेपानीको पाइप नै चुडाउने काम भएपछि वालिङबासी खानेपानीबाट बञ्चित भएका हुन ।,‘डेढ महिना भयो, खानेपानी पिउन पाएका छैनौ’ वालिङकै स्थानीय लेखनाथ गैह्रे भन्छन, ‘जथाभावी बाटो खन्दा खानेपानीको पाइपमा क्षति पुगेको देखिन्छ । यसरी स्थानीलाई सास्ती नदिए हुन्थ्यो ।’
सडक विस्तार उपभोक्ता समितिका अध्यक्ष कृष्ण डुम्रे जानाजान नभई विगतमा पाइप हाल्दा गरिएको कमजोरी अहिले सडक खन्दा देखिएको बताउँछन । बाटो खन्ने क्रममा क्षति पुगेको उनको भनाई छ । ‘पहिल्यैदेखि माथि माथि गरेर खानेपानीको पाइप हालिएको थियो । अहिले सडक खन्दा झ्याप्पै पाइप काटिएको हो’ डुम्रे भन्छन, ‘जानाजान खानेपानीको पाइपमा क्षति पु¥याइएको होइन । सडक खन्दा पाइपमा क्षति पुगेको मात्रै हो ।’
सडक विस्तार उपभोक्ता समितिका अध्यक्ष डुम्रेले सडक खन्दा क्षति पुगेको भनिएपनि धेरैको बुझाईमा ८ देखि १० लाखसम्म खानेपानी आयोजनामा क्षति पुगेको छ । तर वालिङ नगरपालिकाले गरेकाे मुल्याङकनमा झण्डै ३५ लाख क्षति प्रारम्भिक अनुमान छ ।
५० लाखको बजेटले सडक विस्तार गर्न लाग्दा ३५ लाख क्षति भएको भनिएपछि अहिले वालिङका जनप्रतिनिधि, विकासे नेता, उपभोक्ता समितिको चर्को आलोचना भइरहेको छ ।
डेढ महिनादेखि खानेपानी नपाएर स्थानीय पनि उत्तिकै आक्रोशित छन । तर वालिङ नगरपालिका १४ का वडाध्यक्ष झम्मर बहादुर श्रेष्ठ भने सडक विस्तारदेखि खानेपानीको पाइप मर्मतसम्म बेखबर छन् । ‘सडक विस्तार गर्दैछन भन्ने सुनेको थिए । तर सडक खन्दा खानेपानीकै पाइप काट्नेदेखि भत्काउने काम भएको रहेछ’ वडाध्यक्ष श्रेष्ठ भन्छन, ‘खानेपानीको पाइप फुटाईसकेपछि बल्ल भन्छन । अब थाहा छ भन्नु कि छैन भन्नु । असारे विकास यस्तै हुने रहेछ ।’
वडाध्यक्ष श्रेष्ठका अनुसार असारे विकासकै सुरमा काम गर्न खोज्दा खानेपानीको पाइपमा क्षति पुगेको देखिन्छ । सडक खन्दा थोरै हेरबिचार गरेको भए सो क्षति नहुने र खर्च पनि नहुने उनको भनाई छ ।
विनास नभई विकास हुदैन !
खानेपानी नपाएर उपभोक्ताले ज्यान गुमाइरहेका बेला शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर सुन्दर अधिकारी भने विगतको गल्ती अहिले दोहोरिएको मात्रै बताउँछन । विगतमा गरिएको गल्ती सच्याउन पनि खानेपानीको पाइप फुटाएर नयाँ ठाउँमा हाल्नुपर्ने बाध्यता आएको अधिकारीको दाबी छ ।
‘जानाजान कसैले विनास गर्दैन । क्षति पनि हुदैन । फेरि सडक खन्दा विगतकै कमजोरी दोहोरिएको हो । मैले फिल्डमै गएर हेर्दा पनि यदि हिजोका दिनमा राम्रोसँग पाइप हालिएको भए आज यो अवस्था आउदैनन्थ्यो’ उनले भने, ‘विगतको गल्ती दोहोरिएपनि यसलाई व्यवस्थित गर्ने समय आएको छ । आखिर विकास हुन थोरै केही विनास त भैहाल्छ नि ।’
उनका अनुसार ५० लाख बजेटमध्ये झण्डै १० लाख पेश्कीस्वरुप भुक्तानी भइसकेको छ । बाँकी काम भएपछि भुक्तानी हुन्छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष गैह्रेका अनुसार खानेपानी सुचारुका लागि पाइप ल्याईसकिएको छ ।
क्षति पुगेको फलामे पाइपमा वल्डिङ गर्ने काम पनि भइरहेको छ । क्षति पुगेको ठाउँमा प्लाष्टिकको पाइप हालेर छिट्टै मर्मत गरिने योजना पनि छ।
झाडापखालाले ज्यान गयो !
शुद्ध खानेपानी पिउन नपाउँदा वालिङमा एक जनाको ज्यान गएको पाइएको छ । वालिङ नगरपालिका १३ बोटलाङका ३८ बर्षीय पुरुषको झाडापखालाकै कारण ज्यान गएको एक स्थानीयले जानकारी दिए ।
झाडापखाला भएपछि उनलाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पु¥याइएको थियो । तर शरीरमा पानीको मात्रा कम भएसँगै उनको मृत्यु भयो ।
केही दिन पहिले नै उनको मृत्यु भएपनि त्यसको मुल कारण दूषित पानी रहेको बताइन्छ । स्थानीयको स्वास्थ्यमाथि खेलबाड गर्ने उपभोक्ता समिति र जनप्रतिनिधिमाथि वालिङबासीको आक्रोश झन बढेको छ ।
तर वडाध्यक्ष श्रेष्ठ, उपभोक्ता समितिका अध्यक्षहरु डुम्रे र गैह्रेका अनुसार पाइप मर्मत गर्ने काम भइरहेकाले एक दुई हप्तामा वालिङबासीले फेरि स्वच्छ खानेपानी पिउन पाउने छन् । धाराको पिउने पानी नहुँदा वालिङबासी कुवा, इनारको पानी पिउन बाध्य छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेल जनकपुर र कर्णालीबीच हुने, शिखर धवन खेल्दै
मंसिर १७, २०८१ सोमबार