कुतियारकवरवासीको आम्दानीको मुख्य स्रोत : ‘बेसार खेती’ !
नेपालबहस संवाददाता
साउन १८, २०७७ सोमबार २:५७:३८
१८ साउन, महेन्द्रनगर । पैँतीस परिवार बसोबास रहेको कञ्चनपुरको महाकाली नगरपालिका–१० कुतियाकवरवासीले व्यावसायिकरूपमा बेसार खेती गरेर आम्दानी गर्दै आएका छन् । भौगोलिकरूपले निकै विकट र दलित तथा आर्थिकरूपले विपन्न कुतियाकवरवासीले कोरोना सङ्क्रमण न्यूनीकरणका लागि गरिएको बन्दका कारण बेसार बिक्री वितरणमा समस्या भइरहेको दुःखेसो पोखेका छन् । भारतसित सिमाना जोडिएको उक्त गाउँमा स्थानीयवासीले अन्नबाली भन्दा पनि बेसार खेतीलाई नै अँगाल्दै आएका छन् ।
कुतियाकवरका टेकबहादुर सुनारले गाउँमा दुई दशकदेखि कृषकहरुले नगदेबालीका रूपमा बेसार खेती गरिरहेको बताए । भारतमा रोजगारी गरेर परिवारको खर्च जोहो गर्ने स्थानीयवासीले बेसारसँगै तरकारी खेती गर्ने गरेको सुनारको भनाइ छ । “हाम्रो यहाँ उत्पादन भएको बेसार भारतीय बजारमा निर्यात हुने गरेको थियो”, सुनारले भने, “लकडाउनका कारण अहिले बिक्री वितरणमा समस्या छ ।”
उनले बन्दाबन्दीका कारण महेन्द्रनगर र आसपासका बजारमा खपतको समस्या रहेको बताए। “गाउँको तीनतिर भारत पर्छ”, उनले भने, “यता नेपालतर्फ जोगबुढा नदी पर्ने भएकाले यहाँ राज्यको पनि ध्यान पुगेको छैन ।” विसं २०२२ देखि सीमा रक्षकका रूपमा बसोबास गर्दै आएको बताउँदै उनले केही समयअघि जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि कुतियाकवरवासी जिल्लाको मूलधारसित जोडिएको जानकारी दिए।
“अन्नबालीभन्दा सहज र राम्रो हुनाले अहिले गाउँभरि नै बेसार खेती लगाइएको छ”, उनले भने, “यो खेती जीव जन्तुबाट पनि जोगाउन सजिलो हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको हो ।” एक कठ्ठाबाट बेसार खेती शुरु गरेका सुनारले अहिले डेढ बिघा क्षेत्रफलमा बेसार खेती लगाएका छन् । “मैले बेसार खेतीबाटै १० वर्षयता छोराछोरीको पढाइलेखाइदेखि घरको खर्च चलाउँदै आएको छु”, उनले भने, “बेसार बेचेर नुनतेल चलेको छ ।”
त्यसैगरी स्थानीय वीरबहादुर सुनारले पनि बेसार र तरकारी खेती गरे । “सडक सञ्जालसित गाउँ नजोडिएकाले अन्नबालीका लागि कृषि औजार ल्याउन पनि सकिँदैन”, उनले भने, “बर्सातमा जोगबुढा नदी गाउँ पस्दा भारतीय भूमिमा गएर ज्यान जोगाउनुपर्ने अवस्था छ ।”
बेसार खेतीबाटै गाउँलेहरुले आम्दानी गरिरहेको बताउँदै उनले कृषकका लागि आउने गरेको अनुदानलगायत अन्य सुविधा गाउँसम्म नपुग्ने गरेको दुःखेसो गरे । “गाउँभरि बेसार खेती हुँदा कृषकलाई अनुदान सहयोग भन्ने कुनै निकायबाट भएको छैन”, सुनारले भने, “कृषकका लागि आउने अनुदान पहुँचका भरमा वितरण हुन्छ कि १” बेसार खेतीबाटै वार्षिक रु तीनदेखि चार लाखसम्म आम्दानी गर्न सकिने सुनारको भनाइ छ ।
“पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन”, सुनारले भने, “बेसार खेतीबाट पनि जीवनयापन भएकै छ ।” दुई बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिकरूपमा बेसार खेती गरेका सुनारले उक्त खेतीका लागि जनशक्ति र सीप आवश्यक नपर्ने बताए ।
त्यसैगरी स्थानीय चम्पा सुनारले पाँच वर्षदेखि बेसार खेती गरिरहेको बताए । “धान, गहुँ मकै भन्दा त बेसारमा मुनाफा हुँदो रहेछ”, उनले भने, “यहाँ ८० प्रतिशत जमिनमा अहिले बेसार खेती हुन्छ ।” उनले बेसार करिब सात महिनापछि तयार हुने गरेको बताए । “बेसार अन्नबाली नहुने बाँझो जमिनमा पनि उब्जनी गर्न सकिन्छ”, उनले भने, “अन्नबालीमा गरिने मेहनतभन्दा बेसार खेतीमा गरिने मेहनतबाट दोब्बर आम्दानी हुन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार
दिउँसो २ बजेलाई सारियो प्रतिनिधिसभा बैठक
जेठ ६, २०८१ आइतबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार