आखिर भागबण्डामै सकिने भो नेकपाको विवाद
इन्द्र रिजाल
साउन ३०, २०७७ शुक्रबार २३:५०:५९
३० साउन, काठमाडौं । गत बुधबार साँझ प्रशारित एक टेलिभिजन अन्तर्वार्तामा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले भनेका थिए– भोलि बिहीबारदेखि काउन्टडाउन गर्नुस्, पाँच दिनमा अर्कै सिनारियो हुनेछ । वास्तवमै नेकपाभित्रको विवादले नयाँ कोर्ष लिने देखिएको छ । हिजो र आज दुई अध्यक्षबीच भएका वार्ताले विवादको हल खोज्न नयाँ दिशा लिएको छ । आज भएको वार्तामा त्रिपक्षीय कार्यदल बनाएर ओलीले भने अनुसारकै सिनारियो देखापरेको हो ।
आज बनाइएको कार्यदलले अध्यक्ष ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल रहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका दुई सदस्यमा जनार्दन शर्मा र पम्फा भूषाल तोकिएका छन् । यस्तै नेता माधव नेपालले आफ्ना तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डेलाई सदस्य बनाएका छन् ।
यो कार्यदलले नेकपा भित्रको समस्या पहिचान गरी समाधानका उपाय सुझाउने छ । तर ओलीले भनेजस्तै तीन दिनमै समस्या समाधान हुने अवस्था भने देखिएको छैन । गएको बैशाखबाटै पार्टीका बहुमत सदस्यले ओलीको राजीनामा मागेका छन् । तर ओली भने कुनै न कुनै बहाना गरेर बहुमतको निर्णय नमान्ने मनस्थितिमा रहेका छन् ।
लामो समय चलेको वाकयुद्ध र अविश्वासलाई चिर्ने काम गरेको जस्तो भान पार्न फेरि ओली सफल भएका छन् । ओलीले प्रचण्डलाई विभिन्न प्रलोभन देखाएर सहमतिको प्रयास गरेका हुन् । तर प्रचण्ड ओलीको मात्रै भर नपरेर त्यसमा साक्षीका रुपमा नेता नेपाललाईसमेत राख्न चाहन्छन् । त्यसैले अहिले नेता नेपालको तर्फबाट समेत प्रतिनिधि राखेर कार्यदल बनाइएको छ ।
कार्यदललाई प्राप्त म्याण्डेट के छ ? कसैले भनेका छैनन् । तर बालुवाटार निकट स्रोत भन्छ– प्रधानमन्त्री ओलीले हिजो प्रचण्ड समक्ष राखेको प्रस्ताव नै कार्यदलको कार्यक्षेत्र हो । अर्थात, महाधिवेशन आयोजक कमिटीका रुपमा यही कार्यसमितिलाई निरन्तरता दिने र त्यसको अध्यक्षका रुपमा प्रचण्डलाई तोक्ने । ओलीको यो प्रस्तावमा सहमति गर्न प्रचण्डले आँट गरेनन् । त्यसैले त्यसमा नेता नेपालको समेत समर्थन खोज्नका लागि यस्तो कार्यदल बनाइएको हो ।
कार्यदलले ओलीको राजीनामा खोज्ने कार्यादेश पाएको छैन । अर्थात अहिलेको प्रतिनिधिसभाको कार्यकाल भरि ओली नै प्रधानमन्त्री रहने गरी प्रचण्डसँग यसअघि भएको सम्झौतालाई अनुमोदन गर्न कार्यदल बाध्य छ । यो प्रकरणमा प्रचण्ड र ओलीले नेता नेपाललाई नराम्रोसँग फसाइदिएका छन् । कार्यदलले दुई अध्यक्षबीच भएका सहमतिलाई अनुमोदन गर्ने देखिएको छ । यसले नेता नेपालको अडान र सैद्धान्तिक बहसको पनि अन्त्य हुने भएको छ । यो पाटोमा नेता नेपालको ध्यान नपुगेको उनी निकट एक नेताले बताए ।
साथै, कार्यदलले अब पार्टीको सिफारिशमा मात्र सरकारले नियुक्तिलगायत महत्वपूर्ण काम गर्ने भन्ने विषयमा कार्यविधि बनाउने भएको छ । संवैधानिक नियुक्ति त्यसमा पनि अख्तियार प्रमुख नियुक्तिमा नेकपामा धेरैको चासो देखिएको छ ।तीनवटै गुटले अख्तियार प्रमुख आफ्नो भागमा पार्न ठूलै कसरत गरिरहेका छन् । नेकपा भित्रको वास्तविक लडाईं भनेकै यसैको पेरिफेरीमा घुमेको ठान्ने धेरै छन् । त्यही भएर नेता नेपालले पनि सैद्धान्तिक, वैचारिक र विधिविधानको मुद्धा थाँती राखेर कार्यदलमा सहभागिता खोजेको बुझाई बालुवाटार निकट स्रोतको रहेको छ ।
नेता नेपाल अख्तियार प्रमुख आफ्नो सिफारिशमा होस् भन्ने चाहन्छन् – स्रोत भन्छ । जानकारहरुले भन्दै आएजस्तै नेकपा भित्रको लडाईं साँच्चै भागबण्डामा नै सकिने देखिएको छ । दुई अध्यक्षबीच हिजो भएको अनौपचारिक सहमति बमोजिम अब मन्त्रिमण्डलसमेत पुनर्गठन गरिने भएको छ । साथै, दुईजना मुख्यमन्त्रीसमेत फेर्न ओली तयार भएका छन् । प्रदेश १ मा भीम आचार्य र बाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्य मन्त्री बनाउने सहमति हुने अवस्था छ । साथै, मन्त्रिपरिषद पुनर्गठन गर्दा नेपाल पक्षका भीम रावल र सुरेन्द्र पाण्डे समावेश गर्ने तयारी गरिएको छ । यस्तै उपाध्यक्ष बामदेव गौतमकी पत्नी तुलसा थापा गौतमलाई समेत मन्त्री बनाएर विवाद सामसुम पार्न खोजिएको छ ।
आखिर नेताहरु सत्ताकै लागि यत्रो बबण्डर गरिरहेका छन् भन्ने पुष्टी गर्न पनि पछिल्लो कार्यदल निर्माण प्रकरणले सहयोग गरिदिएको छ । नेकपा भित्र सिद्धान्तको लडाईं हैन, थिएन र भोलि पनि हुने छैन भन्ने प्रष्ट भएको देखिन्छ । यदि यही नै समाधान थियो भने प्रचण्ड र नेता नेपालले यत्रो रडाको किन पो मच्चाएका होलान्– नेकपाकै एक वरिष्ठ नेताले प्रश्न गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार