पद र सत्ताप्रतिको देउवा आशक्ति
नेपालबहस संवाददाता
भदौ १, २०७७ सोमबार २१:४०:१२
समाचार टिप्पणी
१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पद र शक्तिका लागि जस्तोसुकै सम्झौता गर्छन् भन्ने नेपाली राजनीतिक क्षितिजमा चर्चा हुने गर्छ । नेपाली राजनीतिलाई नजिकबाट नियाल्नेहरुको टिप्पणीलाई आधार मान्ने हो भने देउवाको चरित्र त्यस्तै हो ।
हुनपनि देउवाको विगत हेर्दा घटनाले उनीमाथि लगाइने आरोपको पुष्टि नै गर्छ । चाहे ०५८ सालमा राजा ज्ञानेन्द्रको उक्साहटमा उनले गरेको प्रतिनिधिसभा विघटनको सिफारिश होस् वा सासु प्रतिभा राणालाई जापानको राजदूतमा निरन्तरता दिन प्रधानमन्त्री केपी ओलीसँगको साँठगाँठ नै किन नहोस् । देउवा शक्तिका लागि ज्यादै आशक्त देखिन्छन् । उमेरले आठ दशकको हाराहारी पुगिसकेका देउवाको ध्याउन्न जसरी भएपनि सत्ताका लागि मरिहत्ते गर्ने नै छ ।
आफूलाई ज्योतिषीले सातपटक प्रधानमन्त्री बन्छ भनेको उनी पटक पटक स्मरण गराउँछन् । त्यसैले आगामी चौधौं महाधिवेशनमा एकपटक फेरि सभापतिको आकाँक्षा उनमा रहेको छ । उनलाई थाहा छ – पार्टी चलाउन म विफल भैसकें । तर उनी ज्योतिषीकै भर परेका छन् । आफ्नो नेतृत्वमा पार्टीले लज्जास्पद पराजय बेहोरेको उनलाई मतलव छैन, त्यसैले नैतिकताका आधारमा राजीनामा गर्न उनलाई धेरैले सल्लाह दिंदा ज्योतिषीकै भविष्यवाणी उनले सुनाउने गरेका छन् ।
ज्योतिषीले अरु तीनपटक प्रधानमन्त्री बन्छस् भन्या छन् कसरी राजीनामा गरौं भन्दै उनी निकटहरुलाई फेरि पद बाँड्दै छन् । चाहे पार्टीको विधान विपरीत विभाग गठन गरेर होस् वा सत्तामा अपवित्र ढंगको बार्गेनिङ गरेरै किन नहोस् । त्यसैका लागि उनले पार्टीले इतिहासमै नभएको हार खाँदासमेत संसदीय दलको नेता पद छाडेनन् ।
त्यसका लागि देउवाले साम,दाम र दण्डभेद नीति नै अख्तियार गरे संसदीय दलको नेता बन्न । ०५१ को मध्यावधि निर्वाचनमा कांग्रेसले पराजय भोगेपछि नेता गिरिजाप्रसाद कोइरालाले देउवालाई सर्लक्कै संसदीय दलको नेता बनाए । तर त्यो उदारता देउवाले आफ्नो बेलामा देखाउन सकेनन् । त्यसको एकमात्र कारण थियो – संवैधानिक पदमा भागबण्डा ।संवैधानिक पदमा नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषदको पदेन सदस्य हुन्छ– प्रमुख प्रतिपक्षी दलको नेता ।
संवैधानिक परिषदको सदस्यका नाताले उनी त्यहाँ आफ्नो भाग खोज्न सक्ने हुन्छन् । त्यसैले उनी संसदीय दलको नेता पद त्याग्न तयार भएनन् । सोही पदको तुजुगमा देउवाले कतिपयलाई पद बाँड्ने मात्र गरेनन्, सासुको थमौतीसमेत गरे । यसले पार्टीको साख र इज्जत धूलीसात बनायो, तर देउवालाई त्यसको मतलब थिएन र छैन । बरु अझै सकेसम्म पदमा भागबण्डा खोज्न उनी लालयित छन् ।
आज सखारै प्रधानमन्त्री केपी ओलीले फोन गरेर देउवालाई संवैधानिक परिषदको बैठक राख्ने विषयमा छलफल गर्न बालुवाटार डाँके । देउवा पनि त्यसैको प्रतिक्षामा थिए । अनि आफूलाई भेट्न आएका नेता रमेश लेखकलाई लिएर हान्निए बालुवाटारतिर । उपसभापति बिमलेन्द्र निधिलाई मनाउने गरी आज बिहान उनले आफू निकट नेताहरुलाई निवासमा बोलाएका थिए । तर देउवाका लागि त्यो भन्दा संवैधानिक नियुक्ति बढी महत्वको रह्यो । त्यसैले उनी बिना रोकटोक हान्निए बालुवाटार ।
बिहान १० बजेदेखि नेकपा सचिवालय बैठक चल्दै थियो । बैठक चल्दाचल्दै देउवा पुगे बालुवाटार । देउवा पुगेको आधा घण्टापछि मात्रै सचिवालय बैठक सकियो । अनि मात्र प्रधानमन्त्री ओलीसँग उनको भेट भयो । त्यसैबाट थाहा हुन्छ देउवा कति लालची रहेछन् भन्ने – नेपाली कांग्रेसकै एक पाका नेताले भने “यस्ता लोभीपापीबाट पार्टीको हित हुनै सक्दैन् ।” नाथे संवैधानिक निकायको एक सदस्यका लागि मरिहत्ते गर्ने देउवाले कदाचित फेरि प्रधानमन्त्री बने भने कतिसम्म गर्लान् ? उनी प्रश्न गर्छन् ।
त्यसैले पनि यस्ता गलत प्रवृत्तिलाई आगामी महाधिवेशनले बढार्नैपर्ने उनको धारणा छ । तर पैसा र शक्तिको आडमा फेरिपनि यस्तै प्रवृत्तिले पार्टी कब्जा गर्ने ती पाका नेताले आशंका गरेका छन् । एउटा संवैधानिक पदका लागि बैठक राख्ने विषयलाई नै देउवाले यति धेरै महत्व दिएर नेपाली कग्रेसको बचेखुचेको इतिहाससमेत नामेट पार्ने खतरा रहेको उनले औंल्याए ।
हुनपनि देउवाले पद र शक्तिका लागि प्रधानमन्त्री ओलीसँग धेरैपटक साँठगाँठ गरेको पाइन्छ । यद्यपि गएको बैशाखमा ओलीले देउवाकै पिरलोबाट मुक्ति पाउन अध्यादेश ल्याएर प्रतिपक्षी दलका नेताको उपस्थितिलाई अनिवार्य नगर्ने व्यवस्था गरेका थिए । सधैं भाग मागेर हैरान पारेका छन् देउवाले भन्दै प्रधानमन्त्री ओलीले निकट नेताहरुसँग धेरैपटक गुनासो गरेका थिए । तर आफ्नै दलबाट चर्काे विरोध भएपछि प्रधानमन्त्री देउवाले अध्यादेश फिर्ता गरेका थिए ।
देउवाको पदमोहले जनतामा फेरि नराम्रो सन्देश गएको भन्दै पार्टी नेताहरुले आपत्ति जनाएका छन् । हामीलाई अहिले प्रतिपक्षमा बस्ने जनादेश प्राप्त छ, यसको मतलब हामीले सत्ताको भागबण्डा नखोज भन्ने आदेश जनताको हो – नेपाली कांग्रेसका एक प्रभावशाली नेताले भने । तर देउवा भने त्यसको मतलब नगरी दुई तिहाईको सरकारसँग पदको लालच राख्दैछन् । यसले नेपाली कांग्रेसलाई हेर्ने दृष्टिकोण थप नकारात्मक बन्ने छ – उनले भने ।
तर देउवाको कार्यशैली र व्यवहार हेर्दा उनमा कुनै पछुतो र लघुताभाष छैन, बरु जसरी हुन्छ पद प्राप्ति होस् भन्ने नै देखिन्छ । अहिले संवैधानिक पदहरु धेरै रिक्त छन् । खासगरी अख्तियारको रिक्त आयुक्त र अन्य निकायमा देउवा भागबण्डा खोजिरहेका छन् । यसले उनको व्यक्तिगत चरित्र मात्र नभई समग्र कांग्रेसको साखसमेत ध्वस्त हुने अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार