पशुपतिमा गरिने बज्रेश्वरी जात्रा आजदेखि शुरु
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार २०:५४:५१
२९ चैत,काठमाडौं । देशमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने बज्रेश्वरी जात्रा आज बिहानदेखि शुरु भएको छ । इटापाखाबाट शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए ।
चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छवीकालदेखिको परम्परा रहेको जनाइएको छ । यसअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्वार पूजा सम्पन्न गरिएको थियो । पूजा सम्पन्न गरी आज बिहान ७ बजेदेखि बज्रेश्वरी जात्रा शुरु भएको हो । बज्रेश्वरी अर्थात् पिङ्गलास्थानको जात्रा आज बेलुकीसम्म मनाइन्छ ।
बेलुकी अमालकोटबाट मूलभट्ट कहाँ गएर आज्ञा लिएपछि फर्केर पगरी बाँधी बज्रेश्वरी जात्रा समापन गरिन्छ । बज्रेश्वरी जात्रा समापन गरी आज रातिदेखि नै वत्सलेश्वरी जात्रा शुरु हुन्छ । वत्सलेश्वरी जात्रा भने आजदेखि तीन दिनसम्म मनाइन्छ । चैत्र शुक्ल द्वितीयाका दिन सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिन्छ ।
देशमा शान्ति गराउन पूजा एवं जात्रा भएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ । देशोद्वार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्षरुपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्षरुपमा सहभागी हुने गरेको उनले सुनाए ।
वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रुपमा पूजा आराधना गरिन्छ । भगवान् शिवको पत्नीका रुपमा पूजिने वत्सलेश्वरीलाई निकालेको भन्ने किम्बदन्तीका आधारमा सोमबार नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिन्छ । नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन भोलि रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रही आएको छ ।
बहिनीले श्रीमान्को ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदा अर्थात् सोमबार राति छोरा चन्द्रविनायककहाँ बस्न जाने परम्परा छ । यसै परम्पराअनुसार सोमबार वत्सलेश्वरीको रथ ताने चाबहिल गणेशसमेत भनेर पूजिने चन्द्रविनायकमा लगिन्छ । त्यहाँबाट पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दुर जात्रा गरेपछि १० दिन लामो जात्रा सकिन्छ । प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोगव्याध नलाग्ने, सुख, शान्ति हुने विश्वास रहेको छ । यसै विश्वासले बालबालिका पनि जात्रा हेर्ने पशुपति क्षेत्रमा आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार