आज सीता जयन्ती मनाइँदै, रामजानकी मन्दिरमा विशेष पूजा आराधना !
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार १५:९:२८
६ जेठ, काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ ।
भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रूपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए।
सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएपछि पितृ आज्ञा पालना गर्न राम वनवास जाँदा सँगै जन्मिएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको, रावणलगायत राक्षसमाथि विजय प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रूपमा सीताको सम्झना गरिन्छ ।
अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव र कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाई अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् गौतम बताउछन। अयोध्यामा आएका लव र कुशले रामायणको कथा सुनाई सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको मागअनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो ।
दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरे पनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप भएकी थिइन । प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागे पनि उनी धर्तीको कोखमा लुप्त भएको प्रसङ्ग रामायणलगायत धर्म ग्रन्थमा उल्लेख गरिएको छ । यसरी माटोबाट उत्पत्ति भएकी सीता माटोमै लुप्त भएकी थिइन ।
सीता उत्पत्ति भएको भए पनि आजको दिनलाई सीता जयन्तीका रूपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ । यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरे पनि यस वर्ष कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण प्रभावित हुने जनाइएको छ । गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले रामजानकी मन्दिरमा सीता जयन्तीका अवसरमा लाग्ने मेला प्रभावित भएको थियो ।
यस अवसरमा हुने विशेष पूजा भने हुने जनाइएको छ । सीता जयन्तीका अवसरमा घरघरमै पूजा आराधना एवं उनको योगदानको स्मरण गर्न सकिने धर्मशास्त्रविद गौतम बताउछन । प्राचीन पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उनलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार