बी.पी.– कम्युनिष्ट नेता, वार्ता र त्यो भेट
चन्द्रमणि गौतम
साउन ६, २०७८ बुधबार १९:१५:९
मिति : २०३६ साल असार (सायद) २ गते शनिबार । स्थान : बीपी निवास, जयबागेश्वरी (गौशाला) काठमाडौँ । समय : बिहान करिब साढे नौ बजे । बिदाको दिन परेकोले पशुपतिनाथ दर्शनपछि बीपीसँग भेट र कुरा सुन्न हामी विद्यार्थीहरू उहाँको निवासमा पुग्छौँ ।
जनमत संग्रह घोषणापछिको माहोल छ । बीपीको देश दौडाका कुरा चलिरहेका छन् । मानिसहरू धेरै रहेछन् । घाम चर्किन थालेकोले विहानै गर्मीको महसुस भइरहेको छ । सबैलाई चिन्न सकिएन र बीपीले भनेका सबै कुरा टिप्न सकिएन । बीपीको लागि सेतो सफा खोल लगाइएको एउटा मात्र बेतको कुर्सी राखिएको छ । प्रतीक्षामा २०-२५ जनाको जमघट आँगनमा छ ।
बीपी भित्रबाट निस्कनु भयो, र भन्नुभयो ‘एति नै हो भने भित्रै आउनुहोस्’ । सँगसँगै भीमबहादुर तामाङ र शिवध्वज बस्नेत पनि छन् । प्रांगणको सामुहिक भेटघाट भुईंतलाको कोठामा भयो । उहाँ बस्नेबित्तिकै काँचको गिलासमा तातोपानी दिइयो । पानीको गिलास बोकेर बीपी बोल्न थाल्नुभयो ।
‘के छ हालखबर ?’ बीपीको प्रश्न र विसञ्चो, ‘आज मलाई त्यति आराम छैन, ज्वरांश र रुघाखोकी छ । तपाईँहरूलाई देखेपछिमात्र उठेर आएको ।’
जमघटको बीचबाट प्रा. विदुर पौडेल बोल्छन्, ‘मलाई कताकता दरबारिया र कम्युनिष्ट मिलेर यो जनमत संग्रह हुन दिँदैनन् जस्तो लाग्दैछ ।हिजो यहाँ कम्युनिष्टका केही नेताहरूसँग सान्दाजुको भेटघाट र कुराकानी पनि भयो अरे । त्यस बारेमा हामीलाई जान्ने कौतुहलता छ ।’
‘के कौतुहलता छ ? प्रश्न सोध्ने काम विदुरको ।’ बीपीको प्रत्युत्तर ।
विदुर : ‘गणेशमानजीले जनमत संग्रह निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित गर्ने भए पञ्चायतका निकायहरूको विघटन, राष्ट्रिय सरकारको गठन आदि ५ वटा शर्त भनिसक्नु भएको छ । कम्युनिष्टहरू त्यसैलाई उछालेर हिँडिरहेका छन् । अर्काथरि कम्युनिष्टहरू निर्दल रोज्छस् कि बहुदल रोज्छस् भनेर जनमत संग्रह गराउनु भनेको माटो खान्छस् कि घाँस खान्छस् भनेर रोजाएको हो, हामी केही पनि रोज्दैनौँ भनेर सक्रिय बहिष्कारको घोषणा गरिसके । यस्तो बेलामा हामीले कसरी जाँदा उचित हुन्छ ?’
बीपी : यो जनमत संग्रहलाई हेर्ने विभिन्न दृष्टिकोण छन् । त्यो स्वाभाविक लाग्छ मलाई । जनमत संग्रह कसरी आयो ? दुईटा कुरा, यसले राजा पनि केही न केही दबाबमा छन् भन्ने देखाइसक्यो, अर्को पञ्चायत उनैलाई बोझ भइसक्यो, यसलाई कसरी सम्मानजनक रुपले बिसाउने, सेफ ल्याण्डिङ् भन्नेमा मनोविज्ञान बनिसक्यो । पञ्चायतको आन्तरिक पतनको क्रमले राजालाई पनि एउटा सम्मानजनक बाटो लिनुपर्ने चेतावनी दिइसकेको छ ।
म पहिले गणेशमानजीका कुरामा जान्छु । उहाँ पञ्चायत र पञ्चको सरकारप्रति आक्रामक तवरले आउनु भएको छ । उहाँले त्यस्तो कुरा गर्दा हाम्रै मान्छेहरूको तालीको पर्रा…..। म यसमा हाम्रै लागि अवसर देखिरहेको छु । रिफरेन्डम गराउने कामका लागि राजा आफ्ना बचनमा बाँधिइसके । दुनिया साक्षी छ । उनलाई प्रजातन्त्रवादीको सहयोग चाहिन्छ ।
त्यो बेला उनले गणेशमानजीको स्पिरिटको प्रतिकूल हुने गरी मसँग यसो गर्नुप¥यो भन्लान् । दरबारभित्रका अतिवादीको चंगुलमा राजा नफसुन् भनेर मैले ‘कुरा त्यति नराम्रो त होइन, तर यस कुरामा मैले सबभन्दा पहिले गणेशमानजीलाई मनाउनुपर्छ, यसो भयो भने गणेशमानजी पनि मान्नु हुन्छ, हाम्रो पार्टीलाई पनि स्वीकार्न सजिलो हुन्छ’ भनेर उनको मुठी खुलाउन सहज हुनेछ । गणेशमानजीको कुराले केही बिग्रेको छैन, एक प्रकारले ठीक छ ।
अच्छा, अब कम्युनिष्टहरूले बहिस्कार गरेको कुरामा, उनीहरूको कुराले दरबारभित्रकै अतिवादीलाई हौस्याएर राजालाई उनीहरू भन्न पुग्लान्, ‘देखिबक्सियो, यिनलाई जति दिए पनि मन बुझ्दैन । यो त साँपलाई दूध पिलाउने काम जस्तो हुन्छ । राजतन्त्र जनमतले टिक्दैन शक्तिले टिक्छ ।’ यस्ता कुरा गरेर राजालाई उदारवादी बाटोबाट अतिवादी बाटोमै फर्काउने काम हुनथाल्यो भने अहिले देखिएको आशा पनि हराउँछ । बहिस्कारको कुराले देखाइसक्यो, अतिवादीहरूलाई डेमोक्रेटिक एक्सरसाइज गर्नु नै छैन । गणेशमानजीका कुरा र कम्युनिष्टरूको बहिस्कारको भेद यस अर्थमा बुझ्नुपर्छ ।’
शेरबहादुर देउपा (त्यो बेला देउवालाई ‘देउपा’ भनिन्थ्यो) : ‘कम्युनिस्टहरूसँग के कुरा भयो हिजो ?’ छातीमाथि हात थन्क्याएर एक छेउमा उभिरहेका देउपा बोले, ‘कम्युनिस्टहरूसँग हाम्रो सहकार्य हुने सम्भावना छ सान्दाजु ?’
बीपी : हो, उनीहरूसँग मेरो भेट भयो । कुराकानीहरू भए । बहिस्कारवादीहरू त थिएनन् सायद । मनमोहन थिए । सहाना थिईन्, पुष्पलालकी वाईफ । मेरो उनीहरूलाई जवाफ थियो, तपाईहरूसँग (जनमत संग्रहमा) एकसाथ जान दुईटा कुरामा पहिले स्पष्ट पार्नुपर्छ ।
पहिलो तपाईँहरू एउटा पार्टीको वर्गीय अधिनायकवादी शासन स्थापना गर्ने चेष्टामा लाग्नुभएको हो । राजाप्रति मेरो विरोध किन भन्दा उनी अधिनायकवादी भए भनेर नै हो भने एउटा अधिनायकसँग नमिल्नेले तपाईँहरूको अधिनायक हुने महत्वाकांक्षालाई स्वीकार्नु प्रजातन्त्रको संघर्षमा के महत्व हुन्छ । अर्को कुरा तपाईँहरूको नजरमा हामी लिखित रुपका मूख्य दुश्मन । मूख्य दुश्मन भन्ने, मिलेर जानुपर्छ भन्न पनि आउने, यो विरोधाभासले मिसलिड् गर्छ, म यस्तोमा सामेल छैन ।
अर्को कुरा तपाईँहरूले यहाँ गरेका कुराहरू, निर्णय पालन सबैबाट हुने कुरामा कसरी कसले ग्यारेन्टी दिन सक्छ । एकथरि छन् ती त । यो जनमत संग्रह नै धोका हो भन्छन् । तिनले यी कुरा आफ्नो गतिविधिको कहाँ राखेर लैजान्छन् ?
यम शर्मा पौडेल : हामीले कम्युनिस्टलाई पनि लिएर गएनौँ र राजासँग पनि सुमधुर सम्बन्ध भएन भने हामी आईसोलेसनमा पर्न सकिन्छ कि सान्दाजु ?
बीपी : अच्छा ! तिमीले सोधेको यो प्रश्न बारम्बार आईरहन सक्छ । हामीले आफ्नो शासनको लागि, भनौं न पार्टीतन्त्रको लागि मात्र कसैसँग मिल्ने कुरा हुँदैन । मेरो मूल सरोकार प्रजातन्त्रसँग छ । जनतालाई कसरी अधिकार र स्वतन्त्रता दिने, कसरी आत्मनिर्भरताको बाटो दिन सकिन्छ त्यो भन्नेमा छ । पार्टीहरूभित्र प्रजातन्त्रका भेल्युहरू सुसज्जित भएनन् भने त्यस्तो प्रजातन्त्र अभिशाप हुनसक्छ ।
तेसैले मैले भन्ने गरेको हामीले जनतालाई राजनीतिक र आर्थिक न्याय दिने खालको राष्ट्रियताको मजबुतीकरण गर्ने खालको प्रजातन्त्रमा कम्युनिस्टहरू आउन सक्छन् कि सक्दैनन् ? प्रजातन्त्रबिनाको पार्टी शासन त कम्युनिस्टहरूले पनि खोजेकै छन् । तर मेरो खोजी त्यसभित्र साँचो प्रजातन्त्र हो । जनतालाई डेलिभर गर्ने खालको प्रजातन्त्र हो । ‘मोडेल डेमोक्रेसी’ भन्छु नि म, फलदायी प्रजातन्त्र । – चन्द्रमणि गौतमको अभिलेखबाट
चन्द्रमणि गौतम
वरिष्ठ पत्रकार चन्द्रमणि गौतम बिगत चार दशकदेखि नेपाली पत्रकारिता जगतमा क्रियाशील छन् । पत्रकारिताका साथसाथै अनुसन्धान, अनुसन्धानदाता र बौद्धिक व्यवसायमा पनि उनको निरन्तर सक्रियता छ । विभिन्न मन्त्रालयमा करिब आधा दर्जन मन्त्रीहरुको सल्लाहकारको रुपमा पनि उनले काम गरिसकेका छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार