भारतसँग सम्बन्ध सुधार्ने देउवाको प्रयासमा तीन नेताकाे नयाँ दिल्ली भ्रमण
इन्द्र रिजाल
असोज २२, २०७८ शुक्रबार १७:५९:४५
२२ असाेज, काठमाडाैं । भारतले नेपाली कांग्रेसभित्र पनि सभापति शेरबहादुर देउवाको विकल्प खोजिरहेको स्पष्ट आभास मिलिरहेको परिप्रेक्षमा देउवा यतिबेला भारतीय संस्थापनको आर्शिवाद जुटाउने काममा एकोहोरो रुपले लागेका छन् । कांग्रेस उपसभापति विमलेन्द्र निधिले ‘देउवा क्याम्प’ परित्याग गरेर आसन्न चौधौं महाधिवेशनमा आफैं पार्टी सभापति लड्ने घोषणा गरेपछि अत्तालिएका देउवाले भारतीय इशारामा यो सबै भएको निष्कर्ष बनाएको देखिन्छ ।
नेपालमा नयाँ प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्रीले बधाई दिने विगतको अभ्यास देउवा प्रधानमन्त्री भएका बेला भारतीय पक्षबाट नदेखिएको र नेपालका नयाँ प्रधानमन्त्रीलाई आफ्नो देशको भ्रमण गर्न भारतले नै सबैभन्दा पहिले निम्तो पठाउने गरेको अघोषित परम्पराको विपरीत रवैया देखा परेपछि धेरैले भारतीय प्रधानमन्त्रीसँगको सम्बन्धमा दूरी बढेको आंकलन गरेका थिए । सरकार गठन भएको तीन महिना पुग्न लाग्दासम्म भारतले देउवालाई भ्रमणका लागि नबोलाउनुलाई सम्बन्धमा आएको ‘चिसोपना’ भनेर अर्थ्याउने गरिएको छ ।
दुवै देशले दाबी गर्दै आएको विवादास्पद कालापनी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले आफ्नो नक्सामा गतवर्ष समेटेपछि नेपाल–भारत सम्बन्ध चिसिएको बताइन्छ । पाकिस्तानसँग भारतको सीमा विवादको सन्दर्भसँग मिसाएर नेपालको उक्त क्षेत्रलाई पनि भारतले आफ्नो नयाँ राजनीतिक नक्साभित्र राखेको भनी आपत्ती गर्दै, नेपालको नयाँ नक्सा प्रकाशित हुने बेला ०७६ कार्तिकतिर विराटनगर पुगेका सभापति देउवाले भारतको तिखो आलोचना गरेका थिए । सोही बेलादेखि भारतीय संस्थापन देउवादेखि पूरै निराश भएको बताईन्छ ।
सर्वोच्च अदालतको फैसला (परमादेश) बाट प्रधानमन्त्री हुनुअघि देउवासहित पाँच पूर्व प्रधानमन्त्रीहरूले नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल नहोस् भनेर विज्ञप्ति निकालेका थिए । ‘नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौं,’ भन्ने व्यहोराको संयुक्त विज्ञप्तिले पनि भारतसँगको सम्बन्धमा समस्या पैदा भएको महसुस हुन्छ ।
अहिले भारतलाई फकाउने प्रयत्नमा देउवा लागेका छन् । गत साउन १५ का दिन तुईनबाट महाकाली नदी तरिरहेका दार्चुलाका जयसिंह धामीलाई भारतीय सुरक्षाकर्मीले मध्य दिनमा तुईनको डोरी खुस्काईदिएर महाकालीमा बगाईदिएको अपराधको विरोधमा समेत एक शब्द नबोल्नुको एउटै कारण कांग्रेसको आसन्न चौधौं महाधिवेशनमा आफ्नो सभापति पद कायम राख्ने अन्धभोक नै हो ।
देउवा क्याम्पबाट उपसभापति निधिको बहिर्गमन भएपछि विकसित प्रयासको रुपमा भारतको सत्तारुढ दल भा.ज.पा.का विदेश मामिला प्रमुख तथा प्रधानमन्त्री मोदीका प्रियपात्र मानिएका विजय चौथाईवालेले रक्षाबन्धनको बेलामा नेपाल भ्रमण गर्नुका साथै देउवापत्नी आरजू देउवाबाट राखी पहिरिएका थिए । विजय चौथाइवालेले प्रधानमन्त्री देउवासँग भेट गरेका थिए र भेटपछि ट्वीट गर्दै पार्टीको स्तरमा संवाद सुदृढ बनाउने सहमति भएको बताएका थिए ।
देउवा प्रधानमन्त्री भएपछि लामो अवधि परराष्ट्र मन्त्रालय पनि मन्त्रीविहिन भएको र राष्ट्र संघ महासभामा भाग लिन जाने दिन नै देउवाले आफूनिकटका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाए । महासभामा भाग लिन गएका परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्री एस जयशङ्करबीच महासभामा साइडलाईन भेटवार्ता भएको थियो । देउवा प्रधानमन्त्री भएपछि दुई देशका उच्चपदस्थ बीचको पहिलो भेट नै त्यही थियो । यो पनि भारतीय संस्थापन पक्षसँग प्रधानमन्त्री देउवाको सम्बन्ध सुमधुर बनाउने एउटा प्रयासमा लक्षित थियो ।
चौथाईवालेको काठमाडौं यात्राको डेढ महिनापछि भा.ज.पा.कै निमन्त्रणामा प्रधानमन्त्री देउवा निकटका कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा उदयशमशेर राणा र अजय चौरासिया हिजाे बिहीवार (२१ असोज) मा नयाँदिल्ली प्रस्थान गरे । भ्रमणका अवसरमा भारत सरकार र सत्तारुढ भा.ज.पा.का पार्टी नेताहरूसँग भेट हुने भनिए पनि को–कोसँग भेट हुने भन्नेबारे खुलस्त नबताईएकोले आलोचकहरूले यसलाई ‘अपारदर्शी र संदिग्ध भ्रमण’ भन्ने टिप्पणी गरेका छन् ।
देउवा निकट कांग्रेसका तेस्रो दर्जाका ‘नेता’ हरूले भ्रमण गर्दैमा दुई मुलुकको सम्बन्ध सुमधुर बनिहाल्ने होइन । उक्त तीन कांग्रेस नेताहरू पार्टीभित्र प्रभावशाली र लोकप्रिय व्यक्तित्वको रुपमा पनि छैनन् । त्यसैले जो जतिसुकै देउवा निकट मानिए पनि यो भ्रमणलाई नै भारतले सम्बन्ध सुधार्ने भरपर्दो आधार मान्नु हावादारी टिप्पणी हुनसक्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार