देउडा खेलेर आपसी तिक्तता मेटाउँदै सुदूरपश्चिमका कांग्रेस कार्यकर्ता
सरला बैजु
मंसिर १८, २०७८ आइतबार ४:०:८
सिद्धराज भट्ट
१८ मंसिर, सुदूरपश्चिम ।
‘‘बल्ल भाउले घर लैजा, त्यो गणो बाइकन….
संविधान बन्दै न बन्दो काँग्रेस नआइकन ….’’
अर्थात् (भाइ, खेत जोति सकेर गोरु घर लैजानु, कांग्रेस नभएको भए संविधान बन्नै सक्ने थिएन )
हाल जारी कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय अधिवेशन स्थल धनगढीको निर्माण व्यवसायी संघको भवनबाहिर उक्त गीतको बोलमा आज अधिवेशनका प्रतिनिधि र अन्य कार्यकर्ताले देउडा खेलमा रमाउने अवसर पाए ।
गोलबन्द भएर खेलिएको उक्त देउडा खेलमा चर्चित देउडा गायक नन्दकृष्ण जोशी, प्रदेश कार्यसमितिको अध्यक्षका प्रत्याशी नारायणदत्त मिश्रसहितका कांग्रेस प्रतिनिधि सहभागी थिए । प्रदेश कार्यसमितिको अध्यक्षका अर्का प्रत्याशी वीरबहादुर बलायर भने देउडा खेलमा अनुपस्थित थिए।
प्रदेश कार्यसमिति चयनका लागि भएको समूहगत प्रतिस्पर्धाका क्रममा नेता कार्यकर्ताबीच देखिएको तिक्तता देउडा खेलमार्फत मेटाउने प्रयास गरिएको देउडा खेलका गितारु (गीतकार) चेतबहादुर शाहीले बताए ।
“पार्टीमा भइरहेको गुटगत राजनीति हामी जिल्ला तहका कार्यकर्तालाई मन परेको छैन,” शाहीले भने, “अधिवेशनका क्रममा पार्टीका विभिन्न पदमा आन्तरिक प्रतिस्पर्धा हुँदा नेता कार्यकर्ताबीच देखिएको असमझदारीलाई आज खेलिएको देउडामार्फत मेटाउन मद्दत पुग्ने विश्वास छ ।”
डोटीमा भएको कांग्रेसको प्रदेश अधिवेशनका क्रममा प्रतिनिधिमा पराजित शाही प्रदेश अधिवेशनको माहोलको अवलोकन गर्न अन्य नेता कार्यकर्तासँगै धनगढी आइपुगेका थिए । अर्का गीतारु पूर्णप्रसाद न्यौपानेले देउडाको यस्तो बोलमा गीत गाउँदा सहभागीबीच माहोल तात्न पुगेको थियो ।
“मेघ लाग्यो सहर बाटी, कुहिरो फाटी फाटी…..
कांग्रेसको नेतृत्व हुन्छ सुदूरपश्चिम बाटी….”
अर्थात् (सहरबाट वर्षा सुरु हुँदै गर्दा कुहिरो पनि फाट्दै गयो, सुदूरपश्चिम प्रदेशबाट कांग्रेसको नेतृत्व हुने भयो)
खेलमा सहभागी कांग्रेसका कार्यकर्ताले प्रतिपक्षी दलका गतिविधिप्रति देउडा खेलमार्फत तिखो टिप्पणी पनि गर्न भ्याएका थिए । बाजुरा घर भएका गितारु न्यौपानेले देउडा खेल्दै गरेको खबर पाएपछि कांग्रेसको प्रदेश अधिवेशन स्थल धनगढी आइपुगेको बताए ।
“आफूलाई राजनीतिप्रति त्यति धेरै चासो छैन,” उनले भने, “घर जाने क्रममा संयोगले साथीभाइसँगै देउडा खेलमा मिसिएर रमाउन पाउँदा खुसी लाग्यो ।”
देउडा खेलका सौखिनहरु रमाइरहँदा दर्शकले पनि भरपुर आनन्द लिएका थिए । मतदानस्थल बाहिरको कालोपत्र सडकमा देउडा खेलसँगै बढेको भीडका कारण सो क्षेत्रको आवागमन आज मध्याह्नदेखि ठप्प भएको थियो । सामाजिक विकृतिविसंगती र समसामयिक राजनीतिबारे डेउडा खेलका माध्यमले तिखो ब्यंग्य गर्दै समाजलाई सही बाटोमा डोर्याउन यस्ता गीतले मद्दत पुर्याउने गरेको उनीहरुको भनाइ थियो ।
देश संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले प्रदेश तहमा पहिलोपटक अधिवेशन गरिरहेको छ । प्रदेश कार्यसमिति छनोट गर्न आज भएको मतदानमा एक हजार तीन मतदाताले मतदान गरेका छन् । प्रदेशका सबै नौ जिल्लाबाट एक हजार २६ मतदाता रहेका थिए । आजै राति मतगणना सुरु गर्ने तयारी गरिएको कांग्रेसको प्रदेश निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनमा प्रदेश सभापतिमा पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायर र कैलालीका तत्कालीन जिल्ला विकास समितिका सभापति नरायणदत्त मिश्रबीच प्रतिस्पर्धा छ । आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिनु भएका बलायर संस्थापन पक्षबाट तथा मिश्रलाई संस्थापन इतर पक्षबाट चुनावी मैदानमा उत्रिएका छन् ।
प्रदेश सभापतिसहित आठ पदाधिकारीका लागि १९ र प्रदेश सदस्यका लागि १६० जनाको उम्मेदवारी परेको छ । तीन सदस्य निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिका वीरबहादुर जेठाराले जानकारी दिए । नेकपा (एमाले)ले आफ्नो राष्ट्रिय महाअधिवेशन सम्पन्न गर्दा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यतिबेला महाअधिवेशनको चटारोमा छन् ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार