के माओवादीको राष्ट्रिय सम्मेलनले नेतृत्व परिवर्तन गर्ला ?
इन्द्र रिजाल
पुस ८, २०७८ बिहिबार १९:५४:४७
समाचार टिप्पणी
पार्टीहरूले महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एमाले र नेपाली कांग्रेसले गत मंसिर महिनामा आ–आफ्ना महाधिवेशन सम्पन्न गरपछि पुस ११ गतेदेखि १५ सम्म संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा सुरू हुन गईरहेको छ । यसमा देशभरबाट आएका १५ सय प्रतिनिधिहरू सहभागी हुनेछन् ।
यसअघि सी.पी. मैनालीको नेकपा (माले) ले पनि चितवनमा आफ्नो महाधिवेशन गरेर मैनालीलाई नै सर्वेसर्वा नेता बनाई सम्पन्न भएको थियो ।माओवादीमा ‘आवश्यकता अनुरुप’ महाधिवेशन वा राष्ट्रिय सम्मेलन हुने गर्छ । यी दुई निकायका बीच उल्लेखनीय भिन्नता त छैन ।
महाधिवेशनमा अरू दलका नेता र विदेशी पार्टीहरूलाई पनि आमन्त्रण गरिन्छ । राष्ट्रिय सम्मेलनमा चाहिं पार्टीका प्रतिनिधिहरू मात्रै सहभागी हुने गर्छन्, नेपाली कांग्रेसको महाधिवेशन र महासमितिको स्वरुपको भिन्नता जस्तै । माओवादीको नीति, नेतृत्व र वैचारिक कार्यदिशा निक्र्यौल गर्ने अधिकारको लागि भने राष्ट्रिय सम्मेलन र महाधिवेशन दुवैमा समान छ ।
आफ्नो राजनीतिक प्रतिष्पर्धा र प्रतिष्ठाजन्य अस्तित्वको सवालमा विरोधको तीर एमालेतिर फर्काएको माओवादी केन्द्रले नेतृत्व परिवर्तन गर्छ कि सामान्य हेरफेर गरेर औपचारिकतामा मात्र टुङ्गिने हो, आम सरोकार त्यसैबारेमा केन्द्रित छ । निकट भविष्यमै हुनलागेका तीन तहका निर्वाचनलाई पनि दृष्टिगत गरेर माओवादी केन्द्रले नेतृत्वमा जेसुकै परिवर्तन गरे पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गद्दीमा अरू कसैलाई विराजमान गराउने अपेक्षा गर्ने आधार पाईन्न । यसप्रकार राप्रपाबाहेकका दलहरूले मौजुदा पार्टी प्रमुखलाई परिवर्तन नगर्ने भए ।माओवादीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था भएपनि अध्यक्षबाहेक हाल अरू सबै पद रिक्त छन् ।
यसअघि २०७१ जेठमा विराटनगरमा भएको माओवादीको राष्ट्रिय सम्मेलनमा पनि सहमति हुन नसकेपछि पदाधिकारी चयन सम्मेलन सकिएपछि गरिएको थियो । त्यो बेलाका अध्यक्षको दावेदार डा. बाबुराम भट्टराई आज, नेतृत्व पाइने न्यायो ठाउँ खोज्दै माओवादीबाट पलायन भईसके । २०६९ मा हेटौँडामा भएको महाधिवेशनमा प्रचण्डको उत्तराधिकारी चयन गर्ने चर्चा भए पनि प्रचण्डपछि दोस्रो तहका नेताहरूले उत्तराधिकारीमा एक अर्कालाई स्वीकार नगरेका कारण त्यो योजनाबाट माओवादी पछि हटेको थियो । जेठको प्रचण्ड गर्मीमा विराटनगरमा राष्ट्रिय सम्मेलन गरेको माओवादीको नियत यसैबाट थाहा भएकै थियो, नेतृत्व हस्तान्तरण गर्न प्रचण्ड तयार थिएनन् । अहिले पनि छैनन् ।
नेपाली कांग्रेसको नेतृत्व परिवर्तन नभए पनि पदाधिकारीमा युवा नेताहरूको उल्लेख्य उपस्थिति रह्यो । माओवादीमा भने अधिकांश पुरानै नेताहरू यथावत रहने सम्भावना देखिन्छ । प्रचण्ड तीन दशकदेखि पार्टी अध्यक्षको रुपमा माओवादीभित्र निर्विकल्पजस्तो भएर एकछत्र विराजमान छन् । आगामी सम्मेलनमा पनि उनको विकल्प देखिंदैन । पार्टी अध्यक्ष पछिको शक्तिशाली मानिने महासचिवको आसनमा को आउला, यो आम चासोको विषय हो ।
माओवादीमा प्रचण्डसँग वैचारिक मतभिन्नता राख्ने अधिकांश नेताहरू अलग भइसकेका छन् । प्रचण्डका समकक्षी नेताहरू माओवादीबाट पलायन भएपछि त्यो पार्टीमा उनको उत्तराधिकारी बन्ने खास व्यक्ति देखिएनन् । हुनलाई त छन् नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भूसाल, जनार्दन शर्मा आदि ।
ओली नेतृत्वको सरकारमा मन्त्री भएका माओवादीका तत्कालीन महासचिव रामबहादुर थापा लगायत टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा लामा एमालेमा आबद्ध भइसकेका छन् । प्रचण्डसँग ‘आलोचनात्मक निकटता’ भए पनि शान्ति प्रक्रियाबाट मूलधारको राजनीतिमा आएपछि गम्भीर असहमति राख्दै आएका नेता नेत्रविक्रम चन्द नेपाल कम्युनिस्ट पार्टीको नाममा छुट्टै पार्टीको प्रमुख छन् ।
माओवादीमा लामो समयदेखि पदाधिकारीमा जिम्मेवारी विभाजन गरेर सामूहिक नेतृत्व गर्ने प्रणाली अवलम्बन गर्ने विषयमा बहस हुँदै आएको छ । नेतृत्व बहुपदीय हुने भनिए पनि त्यो कस्तो हुने टुङ्गो लाग्न सकेको पाइन्न । वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको पद थप गर्नेबारे छलफल चलिरहेको छ । माओवादीले प्रदेश र स्थानीय तहमा सातजना पदाधिकारी रहने व्यवस्था पारित गरेको छ । तर यसको सबै टुङ्गो लगाउने काम राष्ट्रिय सम्मेलनको बन्द सत्रमा हुने देखिन्छ ।
कृष्णबहादुर महरा यसअघि रोशनी शाही नामक युवतीले खडा गरेको विवादमा परेका कारण उनलाई उपाध्यक्षमात्र बनाएर बाँकी तीन नेतामध्येबाट प्रचण्डले महासचिवको चयन गर्नसक्छन् । प्रचण्डसँग मन मिल्ने खालका नभएकोले र आफ्नै तालका भनिएका नेता नारायणकाजी श्रेष्ठलाई प्रचण्डले कार्यकारी भूमिकामा साथ दिने सम्भावना देखिन्न ।
नेपाली कांग्रेसले चौधौं महाधिवेशनमा आफ्ना सम्पूर्ण पदाधिकारी र धेरैजसो सदस्य महाधिवेशन प्रतिनिधिहरूबाट प्रत्यक्ष निर्वाचित गरेर आन्तरिक लोकतन्त्रको अभ्यासमा उदाहरण स्थापित ग¥यो । अब २० प्रतिशत (३३ जना) सदस्य मात्र कांग्रेस सभापति देउवाले मनोनित गर्ने हो । त्यसमध्ये पनि नेतृत्वको निर्वाचनमा पराजितलाई आफूसँगै लिएर जानुपर्ने कांग्रेसको संस्कार भएकोले त्यस्ता पराजित व्यक्तित्व सभापतिको सदस्य मनोनितमा पर्ने नै छन् । तर कम्युनिस्ट पार्टीमा त्यस्तो संस्कार वा परिपाटी भएको देखिन्न ।
माओवादीमा चुनावी प्रक्रियाबाट नेतृत्व चयनको अभ्यास नभएका कारण सहमतिबाटै नेतृत्व चयनको पहल गर्ने नेताहरूको तयारी छ ।सहमति हुन नसक्दा अधिकांश प्रदेशमा अध्यक्ष र सदस्यहरू मात्रै टुङ्गो लगाएर बाँकी पदाधिकारीको चयन गर्न बाँकी छ । केन्द्रमा पनि त्यस्तै कसरत दोहोरिने सम्भावना देखिन्छ । बागमती प्रदेशको अध्यक्षको लागि मतदान गरे पनि बाँकी प्रदेशमा सहमतिबाटै नेतृत्व चयन गरेको छ । अबको राजनीतिक वा चुनावी टक्कर एमालेसँगै पर्ने देखेका प्रचण्डले पार्टीलाई सशक्त बनाउनको लागि केन्द्रीय कमिटीको सदस्यमा युवाहरूलाई बढी मौका दिने सम्भावना छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने
पुष २०, २०८१ शनिबार
आइतबार तोलामा १५ सयले घटेर १ लाख ५२ हजारमा किनबेच भइरहेको छ सुन
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
रास्वपा केन्द्रीय समिति बैठक आज पनि
पुष २१, २०८१ आइतबार
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटक बनाउने भीड
पुष २१, २०८१ आइतबार