मेलम्चीको पानी चैतमा राजधानी आईपुग्ला त ?
कुसुम सेञ्चुरी
माघ २८, २०७८ शुक्रबार १९:२१:६
२८ माघ, काठमाडौं । गत साउनको बाढीले पूरै क्षतविक्षत बनाएको मेलम्ची खानेपानीको मुहान आगामी चैत महिनासम्ममा ‘अस्थायी रुपमा’ सुचारु गरी मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा पुर्याउने सरकारले बाचा गरेको छ ।
पहिले यो माघभित्रै अस्थायी रूपमा पानी ल्याउने सरकारी आश्वासन थियो । तर निर्माण कम्पनीको म्याद र बजेट थप्ने लगायतका नीतिगत निर्णयमा ढिलासुस्तीले गर्दा माघमा पूरा हुने अस्थायी प्रबन्धको काम चैतसम्म सारियो । चैतसम्ममा दैनिक १७ करोड लिटर पानी अस्थायी प्रबन्धपछि उपत्यकामा आउनेछ । आयोजनाले हाललाई आगामी मनसुन सुरु हुनुभन्दा पहिलेसम्मका लागि मात्र पानी ल्याउन मिल्ने गरी अस्थायी योजना बनाएको छ । मौसम विज्ञान विभागले मनसुन प्रारम्भ हुने दिन बताउने बित्तिकै पानी चलाउने कामलाई बन्द गर्नुपर्ने हुन्छ ।
तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले उद्घाटनको बेला नै नभई, गत वर्ष मुढेबल प्रयोग गरी हतारहतार परीक्षणका रूपमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण थालिएको थियो । साउनमा आएको पहिरोले सो खानेपानी आयोजनाका सुरुङहरू पुरिएपछि करिब ४ महिनामै पानी वितरण पूरै ठप्प रहेको छ ।
पहिरोले आयोजना स्थललाई २० मिटर गहिरोसम्म पुरेर बगरमा परिणत गरिदिएपछि हाल सो बगर र ठूलठूला ढुङ्गा हटाएर केही महिनाका लागि मात्र पानी ल्याउन मिल्ने गरी बनाउन थालिएको छ । क्षति भएको अवस्था र गर्नुपर्ने कामबारे हाल एसियाली विकास बैंकले एउटा विज्ञ टोली लगाएर विस्तृत अध्ययन गरिरहेको छ । बाढीका कारण ३० अर्ब रुपैयाँभन्दा धेरैको क्षति भएको मोटामोटी अनुमान गरिएको छ । पोहोर पानी सञ्चालन गरिएको सुरुङको मुख र सुरुङमा पानी हुल्ने ९ नम्बर गेट गत साउनदेखि बगरले पुरिएको अवस्थामा छ ।
चैतसम्मको अवधि लिई उपत्यकामा पानी झार्ने लक्षले निर्माण कम्पनीले करिब १५ दिन अघिबाट काम थालिसकेको छ । आयोजना स्थल र मुहानमा थुप्रिएको बगरभित्र विशाल ढुङ्गा आएर बसेका हुनाले विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएको र त्यसको लागि सरकारी अनुमतिको लागि प्रक्रिया पनि चलाईएको छ । अनिमात्र विस्फोटक पदार्थ पड्काएर ढुङ्गा फुटाउने काम हुने बताईएको छ । सुरुङबाहिर करिब १०/१५ मिटर गेगरान थुप्रिएको छ ।
तर सुरुङ अगाडि थुप्रिएको गेगरान हटाउने बाहेक सुरुङ्मा पानी चलाउन अरू खासै काम गर्नु नपर्ने देखिन्छ । आयोजनाले पानी आपूर्ति सुचारु गर्नुपर्ने काम धेरै भए पनि प्राथमिकता प्राप्त काम सुरूङ्बाट पानी पठाउन थालिहाल्ने हो । त्यसपछि आयोजनाका अरु काम गरिने छ । मनसुन सकिएपछि वाग्मतीको पानीलाई सुन्दरीजल प्रशोधन केन्द्रमा लगेर उपत्यकाभित्र पठाउनेबारे छलफल चलिरहेको छ । मनुसुनका बेला सुन्दरीजल प्रशोधन केन्द्रमा वाग्मतीको पानी लगेर वर्षाभरिका लागि उपत्यकामा पानी ल्याउने योजना अघि बढाइएको आधिकारिक जानकारी रहेको छ ।
पानी र दूधको सपना देखेर बसेका र काकाकुलको नियति भोगिरहेका राजधानीबासीको साझा अभाव र पीडा बुझेर, पञ्चायतको अन्तिम चरणतिर तत्कालीन राजा वीरेन्द्रले मेलम्चीको पानी राजधानीमा ल्याउने आयोजनाप्रति गम्भीर ढङ्गले चासो लिएका थिए । २०४६ सालमा पञ्चायत र ‘राजाको सक्रिय नेतृत्व’ समाप्त भएपछि २०४७ सालको अन्तरिम सरकारका प्रधानमन्त्री नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई राजा वीरेन्द्रले आफ्नो विशेष चासोको रुपमा मेलम्ची आयोजनाबारे सुझाएका थिए ।
भट्टराई अन्तरिम प्रधानमन्त्री भएपछि यसबारे केही काम भएको थियो । त्यसपछिका सरकारहरूका पालामा पनि आयोजनाको काम सुस्त गतिमा चलिरहेको थियो । भट्टराई २०५६ सालमा दोस्रोपटक प्रधानमन्त्री भएपछि यो आयोजना नवौं पञ्चवर्षीय योजनाभित्रै सम्पन्न गर्ने लक्षका साथ बजेट बृद्धि, आयोजनाका सञ्चालनको संरचना सुधार र कामले गति पायो ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपसिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै
जेठ ५, २०८१ शनिबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
बागलुङको नर्जाखानीमा प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार