जहाँ गठबन्धनका उम्मेदवारलाई चुनौती, त्यहाँ भोट माग्दै देउवा
नेपालबहस संवाददाता
बैशाख २६, २०७९ सोमबार १९:५३:३५
२६ बैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला गठबन्धन दलको चुनावी ‘कमान्डर’ बनेर देश दौडाहमा छन् । चुनावी अभियानको क्रममा गठबन्धन दलका उम्मेदवारहरूलाई मत दिएर विजयी गराउन उनले आग्रह गर्दै आएका छन् ।
यही २१ वैशाखयता देउवा गठबन्धनका उम्मेदवारहरूलाई मत माग्न प्रदेश १ को राजधानी विराटनगर पुगेका थिए । त्यस यता उनी दिनहुँ चुनावी अभियानमा छन् । उनी पाँच दलीय गठबन्धनको चुनावी सभामा प्रमुख वक्ताको बन्ने गरेका छन् । २२ वैशाखमा उनले प्रमुख वक्ताको हैसियतबाट चितवनको भरतपुरमा गठबन्धन दलको संयुक्त चुनावी सभालाई सम्बोधन गरे ।
गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार रेणु दाहाल र उपप्रमुख पदका उम्मेदवार चित्रसेन अधिकारीलाई मत दिएर विजयी बनाउन उनको आग्रह थियो । त्यहाँ देउवा दाहाल र अधिकारीलाई मत माग्न मात्र भने गएका थिएनन् । दाहालविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन पनि गएका हुन् । तर, पौडेलले देउवासँग भेटसम्म गर्न चाहेनन् ।
चितवनमा यसरी एकातिर गठबन्धनका उम्मेदवारहरूलाई मत माग्न र अर्कातिर पौडेलले फकाउन गएका थिए । यसपछि भने उनले २३ वैशाखमा सङ्घीय राजधानी काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित गठबन्धन दलको चुनावी सभालाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकामा सिर्जना सिंह र रामेश्वर श्रेष्ठलाई मत मागे । सिंह प्रमुख र श्रेष्ठ उपप्रमुख पदमा गठबन्धनबाट साझा उम्मेदवार बनेका छन् ।
यसपछि उनी २४ वैशाखमा गण्डकी प्रदेशको तनहुँमा पुगे । वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला त्यहाँ गठबन्धनका उम्मेदवारहरूलाई देउवाले मत मागे । त्यहाँ पार्टीको केन्द्रीय अनुशासन समितिले कारबाही गरेका नेता गोविन्दराज जोशीले नेकपा एमालेसँग निर्वाचनमा तालमेल गरेका छन् । जसका कारण निर्वाचनमा जित्न गठबन्धनका दलका उम्मेदवारलाई चुनौती थपिएपछि देउवा त्यहाँ मत माग्न पुगेका हुन् ।
सोही दिन देउवा मधेस प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिका पुगे । त्यहाँ गठबन्धनको तर्फबाट उपमहानगरपालिका प्रमुख जनता समाजवादी पार्टीका लालकिशोर साह छन् । कांग्रेसकै उपमहानगरपालिकाको सभापति मनोजकुमार साह पदबाट राजीनामा दिँदै प्रमुख पदका स्वतन्त्र उम्मेदवार भएका छन् । साहका कारण त्यहाँ गठबन्धनका उम्मेदवार साहलाई निर्वाचन जित्न चुनौती थपिएको छ ।
त्यहाँ मत मागेपछि भने प्रधानमन्त्री देउवा आइतबार (२५ वैशाखमा) गण्डकी प्रदेशको राजधानी पोखरा गए । पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट धनराज आचार्य उम्मेदवार छन् । जहाँ गठबन्धन दलहरूबीच भएको तालमेलप्रति असन्तुष्ट हुँदा नेता विमलबहादुर कार्की बागी उम्मेदवार छन् ।
कांग्रेसबाट बागी बनेका उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरी हटाएको छ । तर, उनका कारण गठबन्धन दलका साझा उम्मेदवार आचार्यलाई निर्वाचन जित्न चुनौती थपिएको छ । चुनौती भएपछि देउवा मत माग्न त्यहाँ पुगेका हुन् । आज भने प्रधानमन्त्री देउवा धनगढी पुगेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साथ धनगढी पुगेका उनले गठबन्धनको उम्मेदवार नृपबहादुर वडलाई भोट माग्ने भएका हुन् ।
वडसँग यसअघि चुनावी प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच भएको थियो । यस पटक पनि हमाल प्रतिस्पर्धी छन् । चर्को प्रतिस्पर्धा हुने आँकलन भएको त्यहाँ गठबन्धनका साझा उम्मेदवार वडलाई मत माग्न देउवा पुगेका हुन् ।
आजै देउवा गृहजिल्ला डडेल्धुरा पनि पुग्ने भएका छन् । निवर्तमान कांग्रेस जिल्ला सभापति कर्ण मल्लले नेपाली कांग्रेस (विपी) ब्युँताएर नेकपा एमालेसँग तालमेल गरेपछि निर्वाचन जित्न कांग्रेस उम्मेदवारहरूमाथि चुनौती थपिएको छ । त्यहाँ गठबन्धन दलहरूबीच तालमेल पनि छैन । एक्ला एक्लै ‘मित्रवत् प्रतिस्पर्धा’ गर्ने भन्दै चुनावी मैदानमा छन् ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार देउवा प्रधानमन्त्रीको नभई कांग्रेस सभापतिको हैसियतमा चुनावी अभियानमा निस्किएका हुन् । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार भने मतदान अबको चार दिनमा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार
घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै मजदुर
पुष २१, २०८१ आइतबार
मानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति पौडेल
पुष २१, २०८१ आइतबार