स्थानीय तह निर्वाचन खानेपानी ल्याइदिनेलाई भोट
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार १८:४३:३८
– सुशीला रेग्मी
२७ बैशाख रामपुर, पाल्पा । रामपुर नगरपालिका–१० होस्दीका नुनबहादुर राना ८३ वर्ष पुगे । तर अहिलेसम्म पनि खानेपानीकै समस्याका बाबजुद जीवन गुजारा चलाउन बाध्य छन । आफ्नो जीवनकालमा उनले धेरै पटक मतदात गरे । उनका समस्याको पहिलो प्राथमिकतानै खानेपानी हो । तर, अहिलेसम्म सो समस्या कायमै छ । राना यस पटकको निर्वाचनमा गाउँमा खानेपानीको प्रबन्ध मिलाइदिने उम्मेदवारको पक्षमा मतदान गर्ने बताए ।
उनले धेरै पटक खानेपानीको आशैआशामा मतदान गरेपनि अहिलेसम्म गाउँमा खानेपानीको कुनै व्यवस्था नभएको गुनासो गरे । “मेरो बाउबाजेदेखि छोरानातिका पालासम्म पनि पानीकै समस्या भोगिरहेका छौँ, निर्वाचन आउँदैपिच्छे हामी भोट बैंक भएर बस्नु परेको छ, अझै कति समय गाउँमा पानीको सुविधा कुर्नपर्ने हो थाहा छैन ” उनले दुःखेसो पोखे्।गाउँका सामान्य विकास निर्माणमा चासो नदिँदा नागरिकले दुःख पाइरहेको उनीले बताए । व्यक्तिगत र राजनीतिक स्वार्थभन्दा माथि उठेर आफ्नो गाउँ, देशको भविष्य बनाउने खालको नेतृत्व आजको आवश्यकता रहेको ।
उनीले भनिन्, “धेरै पटक मतदान गरियो, हाम्रो माग भनेकै खानेपानी हो तर अहिलेसम्म पानीकै समस्यामा हामी जीवन बिताइरहेका छौँ, हाम्रो प्राथमिकता र माग खानेपानी हो, अरु कुरा बिस्तारै हुदैँ जानेछ ।” स्थानीय श्यामकला दमइँ भने ‘एक घर एक धारा’ गाउँमा आवश्यक रहेको बताइन् । दुई छोरीका आमा उनलाई गाउँमा खानेपानी सुविधा नहुदा गर्मीयाममा निकै सास्ती भोग्नु परेको छ । छोरीको स्याहारसुसार, घरायसीधन्दासँगै पानीको जोहो गर्नुपर्दा निकै कष्ठ भएको बताइ्न ।
यस गाउँका स्थानीयलाई नुहाउन, कपडा धुनका लागि कालीगण्डकीमा जानुपर्ने बाध्यता छ । गाउँदेखि करिब तीन किलोमिटर पर रहेको भालुखोला खानेपानी योजनाबाट ल्याइएको पानी पर्याप्त छैन । जनघनत्व बढ्दै गएको छ, तर पानीको दीगो व्यवस्थापन नहुँदा दैनिक उपभोग्य पानीको समस्या रहेको बताइन, अर्का स्थानीय जय परियार । सिँचाइको अभावमा आफूहरुलाई आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने समस्या भएको उनको भनाइ छ ।
“गाउँको समस्या भनेको खानेपानी हो, गर्मीमा सानो पाइपबाट ल्याइएको पानी पर्याप्त छैन, मुहानमै पुगेर पानी बोक्नुपर्ने समस्या छ, अब हाम्रो पहिलो समस्या खानेपानीको समाधान हुनुप¥यो” उहाँले भन्नुभयो । यहाँका स्थानीयको एउटै माग भनेको तत्काल शुद्ध खानेपानी सुविधा र खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था छ ।
भुल्के खानेपानी योजनालाई व्यवस्थित गरी सबैका घर–घरमा धारा जडान गरेर पानी वितरण गर्न माग गरेपनि अहिलेसम्म वडा तहबाट यस सम्बन्धमा कुनै काम नभएको नीरबहादुर रानाले बताए । जति पटकका निर्वाचनमा उनले भोट दिएपनि नेताहरुले खानेपानी व्यवस्थापनको आश्वासन मात्रै पाएको बताए । “यसअघिका चुनावमा भोट माग्न गाउँ आउने नेतालाई पानीको व्यवस्था गर्न आग्रह गरेपनि आश्वासन मात्रै दिएर जान्छन्”, उनले भने ।
होस्दी गाउँमा मात्रै करिब ५० बढी घरपरिवार छन् । अरु चुनाव जस्तै यो चुनावमा पनि खानेपानीको व्यवस्था गर्ने आश्वासन नेताहरुले दिएको स्थानीय बताउँछन् । गाउँमा खानेपानी नहुँदा विशेष गरेर महिला तथा बालबालिकालाई समस्या हुने गरेको छ । हिउँदको समयमा पानीको मुहान चहार्दै हिँड्नुपर्नेसमेत बाध्यता छ स्थानीयलाई ।
दिनहुँ विभिन्न दलका नेता, कार्यकता र उम्मेदवारले भोट माग्न आउने गर्छन् । विकास निर्माणलगायत विभिन्न समस्या समाधान गर्ने आश्वासन दिँदै उनीहरुले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्ने गर्छन् तर यहाँका मतदाताले पानी दिनेलाई मात्र मतदान गर्ने सोचाइमा पुगेका छन् । यो चुनावमा पनि नेताहरुले खानेपानी समस्या समाधान गर्ने पुरानै एजेण्डा लिएर गाउँमा पुगेको पाइन्छ ।
राजनीतिक नेतृत्व स्थानीय नागरिकका समस्या समाधान गर्न चुकेकाले उनीहरुप्रतिको विश्वास गुमेको छ । नागरिकको मन जित्न ठूलो काम चाहिँदैन । स–साना कामलाई समेत प्राथमिकता दिनुपर्छ । तब मात्रै राजनीतिप्रति वितृष्णा हट्दै जाने बताइन्छ ।
मतदाताले उम्मेदवारलाई विगतका वर्षको निर्वाचनलाई सम्झिँदै जनतामाझ आफूले बोलेका कुरा पूरा गर्न सक्ने योजना मात्रै लिएर आउन सुझाव दिएका छन् । निर्वाचन आउँदैपिच्छे झुट्टा आश्वासन बाड्ने त्यस पश्चात् गाउँका सामान्य समस्या सुल्झाउन चासो नदिने प्रवृत्तिप्रति स्थानीयवासी असन्तुष्ट छन् ।
खानेपानी, सडक, सिँचाइ, स्वास्थ्य, रोजगार जस्ता योजना सबै दलका प्राथमिकतामा पर्छन् । यस्ता समस्या ग्रामीण भेगमा चुनाव केन्द्रित बनेका छन् । होस्दी गाउँका बासिन्दाले भने अझैपनि आधारभुत समस्यामै जीवन गुजारिरहेको पाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
पुष २४, २०८१ बुधबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान
पुष १९, २०८१ शुक्रबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार