एक तिरले दुई सिकार गर्ने प्रयासमा कांग्रेस
देवेन्द्र चुडाल
माघ २६, २०७९ बिहिबार २०:७:४४
अहिले नेपाली कांग्रेस न सत्ता गठबन्धन हौँ भन्ने अवस्थामा छ न त संघीय संसदको प्रमुख विपक्षी दल हौँ भन्ने अवस्थामा नै रहेको छ । यसले गर्दा कांग्रेस जसरी भएपनि अहिलेको सत्ता गठबन्धनलाई भत्काएर सरकारमा सहभागि हुन खुट्टा उचालिरहेको छ । त्यही कारणले गर्दा उसले २०७९ मंसिर ४ गतेभन्दा अगाडि रहेको कांग्रेस, माओवादी सहितको गठबन्धनलाई ब्युँताउने रणनीतिमा कांग्रेस लागि परेको छ ।
कांग्रेसले अहिलेको सत्ता गठबन्धनलाई भत्काएर माओवादी केन्द्रका अध्यक्ष एवं हालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै पुरै पाँच वर्ष प्रधानमन्त्रीमा नै निरन्तरता दिने सन्देश प्रधानमन्त्री दाहाल समक्ष पुर्याइसकेको छ । कांग्रेसले आउँदो फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उम्मेद्वारलाई माओवादी केन्द्रले सहयोग गरेको खण्डमा विनासर्त प्रधानमन्त्री दाहाललाई सहयोग गर्ने रणनीति लिएको छ । प्रधानमन्त्री दाहाललाई पहिला प्रधानमन्त्री स्वीकार गर्न नसकेको कांग्रेसले सत्ता मोहकै कारण अहिले आफ्नो पुरानो हठ त्यागेर दाहाललाई प्रधानमन्त्री स्वीकार गर्न तयार रहनुको अर्थ हो नेकपा एमालेसँगको गठबन्धन तोड्न दाहाललाई सहयोग गर्नु ।
अहिलेको सत्ता गठबन्धन तोडिएको अवस्थामा सातै प्रदेश सरकारहरुमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी सहितको सरकार निर्माण हुनसक्ने र हैसियत गुमाएको काँग्रेस फेरी संघीय सरकारदेखि प्रदेश सरकारहरुमा समेत सहभागी हुन सक्ने आकंलन गरेरै उसले अहिलेको सत्ता गठबन्धनलाई भत्काउने रणनीतिक उद्देश्य लिएको छ । नेपालको राजनीतिमा प्रधानमन्त्री दाहाललाई राजनीतिक अस्थिरताका पात्र मानिन्छन् । उनी सत्ता प्राप्तिका लागि जोसँग जस्तोसुकै सहमति गर्न तयार रहन्छन् भन्ने पुष्टि त दाहालले पटक पटक गरिरहेका छन् ।
कांग्रेससँग गठबन्धन गरेका दाहालले मंसिर ४ गतेको संघीय संसद र प्रदेशसभाको निर्वाचन पछि आएको निर्वाचन परिणामले कांग्रेस नै ठुलो पार्टी भएकाले गर्दा कांग्रेसले दाहाललाई प्रधानमन्त्री बनाउन चाहेन् । त्यसबेला कांग्रेसले राष्ट्रपति पनि आफ्नै पार्टीले पाउनुपर्ने अडान लिएको र आफूले प्रधानमन्त्री पनि नपाउने भएपछि दाहाल छटपटाएर एमाले अध्यक्ष केपी ओलीकहाँ पुगेका थिए । पुष १० गते उनले केपी ओलीसँग आफूले प्रधानमन्त्री पाए एमालेलाई राष्ट्रपति र संघीय संसदको सभामुख दिने सहमति गरे ।
अहिले त्यही सहमति अनुसार सभामुखमा एमालेका उम्मेद्वार सभामुखमा निर्वाचित भएका छन् । त्यसबोलको सहमति अनुसार सातै प्रदेशमा मुख्यमन्त्रीहरु नियुक्त भई सरकार समेत गठन भईसकेको अवस्था रहेको भएपनि जब कांग्रेसले प्रधानमन्त्री दाहाललाई पुस २६ गते संसदमा विश्वासको मत दियो, त्यो दिन देखि दाहालले राष्ट्रिय सहमतिको माला जपिरहेका छन् । कांग्रेस, माओवादी सहितको सरकार हुँदा राष्ट्रिय सहमति कता हराएको थियो ? त्यसबेला किन सबै दल मिलेर नेकपा एमालेलाई एक्ल्याइयो ? र अहिले फेरी किन र कस्को स्वार्थमा उसलाई एक्ल्याउने प्रयास भईरहेको छ ? राष्ट्रिय सहमति जनताका समस्याहरु समाधान गर्न र देश विकासका लागि हुनुपर्नेमा एउटा पदका लागि राष्ट्रिय सहमतिको माला जप्नुको अर्थ सत्ता मोह र व्यक्तिगत स्वार्थ बाहेक अन्य केही हुन सक्दैन ।
कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री बन्न सफल भएका दाहालले अहिलेको सत्ता समिकरणमा सहजता महसुस गर्न नसकेको कांग्रेसको ठम्याई रहेको छ । यदि त्यसो हो भने प्रधानमन्त्री दाहालले सत्ता गठबन्धन भित्रै त्यो कुरा किन राख्न सकिरहेका छैनन् ? सत्ता गठबन्धनबाट रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि उसले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको हुनाले सरकारलाई कुनै संकट छैन ।
कांग्रेसका नेताहरुले पनि राष्ट्रपतिको निर्वाचनसम्म अहिलेको सत्ता गठबन्धन चल्ने र राष्ट्रपतिको निर्वाचन पछि आफूहरु सत्तामा पुग्ने टर्निङ्ग प्वाइन्ट हुने बताइरहेकाले गर्दा कांग्रेसलाई सत्तामा पु¥याउनकैका लागि प्रधानमन्त्री दाहालले अहिलेको सत्ता गठबन्धनलाई भत्काई हाल्छन् भन्नेमा कांग्रेस ढुक्क भएको जस्तो देखिएको छ । कांग्रेसका नेताहरुले दाहाललाई प्रधानमन्त्रीमा स्वीकार नगर्ने पुस १० गतेको गल्ती र कमजोरीलाई सच्चाएर अघि बढ्ने रणनीतिका विषयमा कांग्रेसका सभापति शेरबहादुर देउवा र पुष्पकमल दाहालबीचमा पुस २५ गते बेलुका नै सहमति भएको र त्यही सहमति अनुसार कांग्रेसले पाँच वर्षसम्म दाहाललाई नै प्रधानमन्त्री बन्न दिने रणनीति लिएको र त्यसको बदलामा माओवादीले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भएकाले कांग्रेसका उम्मेदवार राष्ट्रपति निर्वाचित भएकै दिन वर्तमान सत्ता गठबन्धन भत्किने उद्घोष गरेका छन् ।
कांग्रेसका नेताहरुले त्यस्तो उद्घोष गर्नुको पछाडि पनि प्रधानमन्त्रीकै सहयोग र समर्थन रहन सक्ने अवस्था देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिर राजनीतिक चरित्रलाई कांग्रेसले आफ्नो स्वार्थमा पटक पटक प्रयोग गरि सकेको हुनाले प्रधानमन्त्री दाहालले यसै गर्दछन् भनेर अहिले ठ्याक्कै यसै भन्न सकिने अवस्था नभएपनि अहिले सम्मको उनको चरित्र हेर्दा आफ्नो व्यक्तिगत स्वार्थका लागि दाहाल जेसुकै जस्तोसुकै सहमति गर्न पछि पर्दैनन् भन्न सकिने अवस्था रहेको छ ।
माओवादी केन्द्र भित्रपनि अहिल दुईधार देखिएको छ । एक धारले अहिलेको सत्ता गठबन्धनलाई भत्काएर कांग्रेस सहितको गठबन्धन बनाउनुपर्ने एक धारमा केही नेताहरु लागि परेका छन् भने केही नेताहले अहिलकोे गठबन्धनलाई नै निरन्तरता दिएर अघि बढ्नुपर्ने बताउँदै आएका छन् । उनीहरुका अनुसार कांग्रेसले किन दाहाललाई प्रधानमन्त्री बनाउन पहिला चाहेन ? उसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद आफैँले लिने हठका कारण एमाले सहितको गठबन्धन बनेको हुनाले यो गठबन्धन भत्काउनका लागि मात्र कांग्रेसले दाहाललाई विश्वासको मत दिएको र अहिले प्रधानमन्त्री स्वीकार गर्न तयार रहेकाले गर्दा कांग्रेससँग तत्काल गठबन्धन गर्न नहुने तर्क अघि सारेका छन् । दाहालको नेतृत्वमा सरकार बनेको १०० दिन नपुग्दै दाहाल अर्को गठबन्धनमा जाने भनेको राजनीतिक बेइमानी र राजनीतिक अस्थिर चरित्र बाहेक अन्य केही हुन नसक्ने भएकाले गर्दा अहिलेको सत्ता गठबन्धनलाई भत्काउन नहुने आवाज ठुलो मात्रामा माओवादी केन्द्रमा उठ््ने गरेको छ ।
कांग्रेसले माओवादीलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्न सक्ने सम्भावना देखिएको भन्दै माओवादीका केही नेताहरुले प्रधानमन्त्री दाहाललाई अहिलेको सत्ता गठबन्धनलाई नै बलियो बनाएर अघि बढ्नुपर्ने राय सल्लाह दिएका छन् । दुई तीन महिनामा नै सत्ता गठबन्धन फेर्दै हिड्दा पार्टी नै कमजोर अवस्थामा पुग्ने उनीहरुको विश्लेषण रहेको भएपनि पार्टी अध्यक्ष दाहालले के गर्दछन् ? भन्नेमा उनीहरु नै आशंकित भएका छन् । कांग्रेसले पुस २६ गते संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत मायाले दिएको होइन भनेर अहिले प्रमाणित भएको छ । त्यो विश्वासको मतभित्र गम्भीर षड्यन्त्र लुकेको रहस्य अहिले खुलेको छ । आफूलाई अप्ठ्यारो पर्दा सहयोग गर्नेहरुलाई चटक्कै भुलेर अवसरवादी कांग्रेसको विश्वास गरेर दाहालले अहिलेको सत्ता समिकरण भत्काएको खण्डमा त्यो नै प्रधानमन्त्री दाहालको आजसम्मकै भुलमात्र नभएर महाभुल हुनसक्ने राजनीतिक विश्लेषकहरुको राय रहेको छ ।
कांग्रेस भनेको आफ्नै पार्टीभित्रकालाई सिध्याउने षड्यन्त्र गर्नसक्ने पार्टी भएको कांग्रेसका नेताहरुले भनिरहेको अवस्थामा दाहाललाई सिध्याउन कांग्रेसले कुनै आइतबार कुर्नु पर्दैन । अहिलेको सत्ता समिकरण भत्काएर दाहाललाई प्रधानमन्त्रीमा स्वीकार गर्ने र केही समयपछि दाहाललाई दिएको विश्वासको मत झिकेर दाहाललाई सडकमा ल्याउने रणनीतिक उदेश्य कांग्रेसले खेल्न सक्ने सम्भावना रहेको छ । त्यसबेला अहिलेको सत्ता सकिकरणमा रहेका दलहरु समेत दाहालको पक्षमा उभिन तयार नहुने र कांग्रेसले पनि समर्थन नगर्ने अवस्था आएमा राष्ट्रपतिले बाध्य भएर संविधानको धारा ७६ को ३ अनुसारको सरकार निर्माण गर्न आह्वान गर्नुपर्ने हुन्छ ।
संविधानको धारा ७६ को ३ भनेको संसद्को सबैभन्दा ठुलो पार्टीको नेतृत्वको सरकार निर्माण गर्नु हो, त्यसरी निर्माण भएको सरकारले संसद्बाट विश्वासको मत लिन नसकेको खण्डमा पुन मध्यावधि निर्वाचन हुनेछ । त्यस्तो अवस्थामा कांग्रेसले नै सरकारको नेतृत्व गरेको हुनाले उसैको नेतृत्वमा निर्वाचन हुने भएकाले अहिले कांग्रेसले त्यही चाहिरहेको छ । त्यही रणनीतिक उदेश्यका साथ कांग्रेसले प्रधानमन्त्री दाहाललाई प्रयोग गर्ने रणनीतिक उदेश्यले कांग्रेस अघि बढेको छ । माओवादीका सहयोगमा राष्ट्रपतिमा कांग्रेसका उम्मेद्वार निर्वाचित भएमा कांग्रेसलाई सहज हुने भएकाले गर्दा नै अहिले कांग्रेसले दाहाललाई मायाको जालमा फसाएर सबै राजनीतिक दलहरुप्रति दाहालको विश्वास सकिने वातावरण कांग्रेसले सिर्जना गरिरहेको छ ।
कांग्रेसको माया जालमा फसेर दाहालले अहिलेको गठबन्धन तोडेर कांग्रेसको समर्थनमा पाँच वर्षसम्म प्रधानमन्त्रीमा रहिरहने सपना देखेको भए दाहालका लागि त्यो भन्दा ठुलो दुर्भाग्यको विषय अरु केही हुन सक्दैन । त्यसबेला कांग्रेस भन्दछ ‘न रहे बास न बजे बासुरी’ त्यही अवस्थामा दाहाल पुग्न सक्छन् । त्यसैले कांग्रेसको रणनीतिक योजनामा दाहाल नबस्नुनै बेस पार्टीलाई बचाउने हो भने । कांग्रेसले एक तिरले दुई शिकार गर्ने प्रयास गरिरहेको हुनाले दाहालले कांग्रेसको त्यो प्रयासलाई विफल बनाउँछन् कि कांग्रेसको ढोक्सामा आफैँ पर्दछन् त्यो भने हेर्न बाँकी छ ।
देवेन्द्र चुडाल
वरिष्ठ पत्रकार देवेन्द्र चुँडाल काठमाडौंबाट प्रकाशित हुने अभियान साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक हुन् । विगत चार दशकदेखि नेपाली पत्रकारिता जगतमा निरन्तर क्रियाशील उनी राजनीतिक, सामाजिक विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँछन् ।
लेखकबाट थपआर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
पृथ्वी नारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार