सीआईबीको ‘रुट टु रुट’ अप्रेशनः १५ जना खाग तस्कर पक्राउ
नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार १६:५७:२७
२७ माघ, काठमाडौं । प्रहरीले गैंडाको खाग तस्करी गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा केही समयदेखि मृत गैंडाहरु फेला पर्न थालेपछि केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ‘रुट टु रुट’ अप्रेशन अन्तरगत १५ जना आरोपीलाई पक्राउ गरेको हो । सीआईबीले उनीहरु संगठित रुपमा गैंडाको खाग तस्करीमा संलग्न रहेको जनाएको छ । सीआईबीले चितवनमा गैंडाको शिकार गर्ने मुख्य शिकारीलाई पनि पक्राउ गरेको दावी छ ।
सीआईबीका अनुसार गैंडा शिकारी सोमबहादुर चेपाङ उर्फ राजु पक्राउ परेका छन् । चितवनको कालिका नगरपालिका वडा नम्बर–९ शेरबास बस्ने ३९ वर्षका सोम बहादुरलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता (एसपी) सञ्जय सिंह थापाले जानकारी दिए । मंसिर १८ मा चितवनको खगेडी खोलामा गैंडा मृत भेटिएको थियो । चतुरमुखी सामुदायिक वन उपभोक्ता समूह र भरतपुर महानगरपालिका–११ स्थित नव जागृति सामुदायिक वन उपभोक्ता समितिको सिमानामा भेटिएको सो गैंडा मारेर राजुको समूहले खाग काटेर लगेको प्रहरीको अनुसन्धानमा देखिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार सोमबहादुरले सो गैंडालाई गोली हानेर मारेका हुन् ।
एसपी थापाका अनुसार राजुसँगै पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका घर भएकी ३० वर्षीया तुलसी चेपाङ, ३९ वर्षीय वीरमान वाइबा, कालिका नगरपालिका घर भएका ३० वर्षीय राधाकृष्ण चेपाङ, भरतपुर महानगरपालिका–८ गौरिगञ्ज घर भएका ५२ वर्षीय आइत बहादुर तामाङ छन् । एसपी थापाका अनुसार चितवनको खगेडी खोलाबाट तस्करी गरेको गैंडाको खाग बेच्न दुईजनाले काठमाडौंमा कुराकानी गरिरहेका बेला काठमाडौं महानगरपालिका–७ स्थित सरस्वती नगरमा खाग बेच्न खोज्दा दुईजना पक्राउ परेपछि गिरोह नै फन्दामा परेको प्रहरीको दावी छ । झापाको भद्रपुर नगरपालिका–१० घर भएका ४५ वर्षीय ईन्द्रमणी आचार्य र बाँकेको कोहलपुर घर भएकी ४१ वर्षीया जमुना कुमारी शर्मा पनि पक्राउ परेका छन् । जमुना र इन्द्रमणीलाई गैंडाको खागसहित प्रहरीले पुस १९ मा पक्राउ गरेको थियो । उनीहरुले सो खाग २० लाखमा बेच्न ‘डिल’ गरेका थिए । उनीहरुको बयानको आधारमा शिकारीसहित थप १३ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पाल्पाको भुवनपोखरी घर भएका ६२ वर्षीय बाबुलाल भट्टराई, कैलाली मसुरियाका ६१ वर्षीय गजाधर सापकोटा उर्फ गणेश, कैलालीको घोडाघोडी नगरपालिका घर भएका ३६ वर्षीय प्रताप चौधरी छन् । माघ २० मा ब्यूरोको टोलीले भोजपुर घर भएर चाबहिल बस्ने ४५ वर्षीय डम्बर कुमार आले, गोरखा पालुङटार बस्ने दान बहादुर राना र स्याङ्जा पुतलीबजारका ४६ वर्षीय निर्मल शाहीलाई पक्राउ गरेको थियो । माघ २२ मा स्याङ्जाको वालिङ नगरपालिका–८ घर भएकी ३८ वर्षीया हरिमाया राना पक्राउ परिन् । माघ २४ मा चितवनको शक्तिखोरबाट ४० वर्षीया सम्झना चेपाङ भन्ने कमला तामाङ पक्राउ परिन् ।
उनलाई चितवनको भरतपुर नगरपालिका–८ स्थित गौरिगञ्जबाट पक्राउ गरिएको एसपी थापाले बताए । २०७९ माघ ६ मा पनि नवलपरासीको मध्यबिन्दु नगरपालिका–२ स्थित नारायणी नदीको उत्तरी किनारमा दुईवटा गैंडा मृत भेटिएका थिए । ती गैंडालाई विद्युतीय धरापमा पारेर मारेको प्रहरीको दावी छ । मृत दुइटा गैंडा मध्ये शिकारीले एउटाको खाग काटेर लगेका छन् । त्यसबारे अनुसन्धान भइरहेको तिवारीले बताए । उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा बाघ, हात्ती र गैंडा शिकार गरेर अंग बेचेको आरोपमा ९० जना भन्दा धेरै फरार छन् । गैंडा शिकारी सोमबहादुर चेपाङले कमला तामाङ उर्फ संझनासँग मिलेर खाग बेच्ने योजना बनाएको अनुसन्धानबाट थाहा भएको छ । सम्झनाले गैंडाको खागको तस्बिर हरिमाया रानाको मोबाइलमा पठाइन् । हरिमायाले निर्मल शाहीलाई खागको तस्बिर पठाएर ग्राहकको खोजी गर्ने योजना बनाएका थिए ।
चितवनको भरतपुर महानगरपालिका–८ बस्ने सम्झना चेपाङ भन्ने कमला तामाङले बिरमान वाइबाको सहयोगमा सो खाग मंसिर १ मा काठमाडौं पठाएको थाहा भएको छ । आरोपीहरुले काठमाडौंमा खाग ल्याएर २० लाखमा बेच्ने गरी निर्मल शाहीलाई दिएका हुन् । निर्मलले सो खाग दान बहादुर राना र डम्बर बहादुर आले मगरको सहयोगमा बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीको समूहलाई दिएको प्रहरीको दावी छ ।
खाग बेच्नेदेखि गैंडा मार्नेसम्मका आरोपीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ को दफा २६ (१) अनुसार ५ वर्षदेखि १५ वर्ष कैद वा ५ लाखदेखि १० लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । प्रहरीले उनीहरुलाई सोही व्यवस्था अनुसार कारवाही प्रकृया अघि बढाउने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार