यो सम्झिने मन छ, म बिर्सु कसरी …….?
कुसुम सेञ्चुरी
फागुन २, २०७९ मंगलबार १८:२०:१
२ फागुन, काठमाडाैं । समय सधै एकनासको नहुने रैछ । न सोचे जस्तो न चाहे जस्तो बितेको समय न फर्केर आउछ । त्यो पल अनि बितेका यादगार समय सम्झनाका पानामा सीमित रहेका छन् । बडो अचम्मको छ यो मानव मष्तिस्क पनि, नसम्झनुपर्ने कुरा सजिलै सम्झन्छ, नबिर्सनुपर्ने कुरा बिर्सन्छ ।
यही दिमाग र मुटुको जिद्दीले नै त हो प्यारो मान्छे, तिमीले दिएको माया होस् वा तिमीले पलपलमा सम्झाएको ज्ञानका कुरा सबै उत्तिकै ताजा छन् । र, तिनै ताजा सम्झनाहरु बिझाउने सुइला बनेका छन् र त घाेच्छन् घरिघरि मन मुटुमा च्वास्स–च्वास्स पारेर ।
अँ साच्चि ! आज प्रेम दिवस,, तिमीलाई मुटुभरिको माया अनि मिठो सम्झना छ, प्यारो मान्छे । यो प्रेम दिवसमा अनगिन्ती सम्झना र अलौकिक प्यार, प्यारो मान्छे । तिमीप्रतिको अमूर्त र अतुलनीय प्रेमभावलाई हुन त न यो पत्रले के पुरा गर्ने थियो र ! प्यारो मान्छे ! यो प्रेम दिवसमा तिमीलाई बिनासितै अझै धेरै सम्झिरहेकी छु, के तिमी पनि मलाई यसरी नै सम्झिरहेका छाै र ? के तिमीले पनि मलाई मैलै तिमीलाई गरेको जस्तै माया गर्छौ होला र ? यो सम्झिने मन न हो ।
हेर प्यारो मान्छे ! मेरो मन तिमीलाई बगैंचामा ढकमक्क फुलेको सुन्दर फूल सम्झन्छ । मेरो मन अस्ताउन लागेको सूर्य बनेर बगैंचाको फूललाई देख्ने बित्तिकै क्षितिजभित्र बिलाउन चाहँदैन । मन त, उदाउँदै गरेको घाम बनेर दिनभरि त्यही फूललाई चिहाइरहन चाहन्छ । आफ्ना रंगीन किरणहरु त्यही फूलका पत्र–पत्रभित्रका अनेक रंगहरुसँगै घुलाउन चाहन्छ । आफ्नो प्रकाशले दिनभरि फूलका पातहरुलाई खाना बनाउन सघाइरहन चाहन्छ । तिनै फूलका पातलाई स्पर्श गर्दै जरा–जरासम्म बग्न चाहन्छ ,मेरो मन, घामको किरण बनेर तिमीसँगै रमाउन चाहन्छ, प्यारो मान्छे ।
प्यारो मान्छे ! प्रेम शाश्वत छ । महान छ र, दूरताले यसलाई अझ गाढा बनाउँछ । प्रेममा एक अर्काको अनुपस्थितिले यादलाई अझ प्रगाढ बनाउँछ र माया चरमोत्कर्षमा पुग्छ । विश्वभरिका राता गुलाफहरु जोडेर मैले तिमीलाई विराजमान गराउन सिंहासन तयार गरेकी छु । फूलको राजा गुलाफ भएझैं तिमी मेरो जिन्दगीको राजा हौ । सधैंको लागि तिम्रो सवारी होस् अनि सुस्तरी बस है, यो गुलाफमय रक्तिम सिंहासनमा । प्रेमजस्तै कोमल र नाजुक छ यो पनि र भत्किन सक्छ . बस ! यस्तै यस्तै सम्झिरहन्छ यो सम्झिने मनले, प्यारो मान्छे ।
कहिले काँही त म रातको शून्यतामा तिम्रो पदचापको आहटले पटकपटक ब्युँझिन्छु । तिमी आउने छौ, मेरो छेउमा बस्छौ, अङ्गाल्ने छौ अनि मलाई चुम्ने छौ कपालका रेसा रेसा । म्वाई खाने छौ यो प्यासी अधरमा अनि मलाई न्यानो पार्न आफ्नो छातीमा टाँस्ने छौँ, त्यसपछि दुवै जना हामी त्यो मिलनलाई हर्षोल्लास र उन्मादसहित मनाउने छौं । यो सम्झिने मन नै त हो । बस, यस्तै कल्पना कल्पनामा बित्छन रात ।
तिम्रो प्रेमलाई मैले कसरी ग्रहण गरेकी रहेछु, कति अनुभूत गरेकी छु भन्ने कुरा त तिमीले जति मलाई बुझेका छौ त्यति नै मेरो भावलाई पनि बुझेका छौ भन्ने पूर्ण विश्वासमा रहेकी छु म । थाहा छ प्यारो मान्छे ! प्रेमलाई विशुद्ध रुपमा अनुभूत गर्न मैले तिमीबाटै सिकेको हुँ । प्रेमलाई परिभाषित होइन, अनुभूत गर्नुपर्छ भन्ने ज्ञान तिमीबाट नै सिक्ने मौका पाएकी हुँ । तिम्रो प्रेमको तुलना अरु कुनै व्यक्ति वा वस्तुसँग हुन त सक्दै सक्दैन । र, यस्तो विशिष्ट प्रेमभावलाई तुलना गर्न मेरो आत्माले पनि अनुमति दिँदैन ।
प्यारो मान्छे ! थाहा छ आज प्रेम दिवस हो । संसारभर प्रेमका कयौँ उपमाहरु सिर्जिएका छन् । प्रेमका पूजारीहरुले प्रेमलाई संसारका अमूल्य, अटल र कहिल्यै अस्तित्व नाश नहुने अजरअमर वस्तुहरुसँग तुलना गरेको पढेकी छु, सुनेकी छु । तर मेरा निम्ति तिमी एक अतुलनीय अनुभूति हौं । प्रेमको एउटा पूर्ण स्वरुप हौं । हाम्रो प्रेम कसरी यस्तै अमूर्त रितले हुर्कँदै आएको छ भन्ने हामी दुवैले महसुस गरेका छौँ ।
तिमी मलाई कति प्रेम गर्छौ भन्ने कुरा न शब्दले व्याख्या नै गर्न सक्छु प्यारो मान्छे, न त अङ्कले गणना नै गर्न सक्छु । तिमी नै एउटा पूर्ण प्रेमको प्रतिमूर्ति हौं । तिमी अर्थात प्रेम एउटा त्यस्तो अनुभुति रहेछ जसलाई म अनुभूत गर्नुमा मात्रै न्यायोचित ठान्छु । शब्दमा उतार्दा त्यो सग्लो भाव टुक्रिन्छ कि भन्ने डर लागेको छ । मेरा निम्ती तिमी त्यो अद्भूत चिज हौं प्यारो मान्छे । प्रेमले हामीलाई यति तरल बनाएको छ कि हामी एकअर्कामा सजिलै मिल्छौँ, मिसिन्छौँ । मैले जे ओकल्छु, तिमी त्यसलाई ठ्याक्कै त्यसरी नै बुझ्छौ ।
प्यारो मान्छे ! तिमी कति महान छौ, हैं । म चाहन्छु तिमीलाई आराम भएको, न्यानो भएको, तिमी तन्दुरुस्त भएको देख्दा म आफैँलाई बिर्सिन्छु । त्यो पूर्ण विस्मृतिको क्षणमा तिमीलाई अनुभूत गर्दा म चङ्गा भएको महसुस गर्छु । तिम्रो सुस्वास्थ्य र खुशीको लागि जस्तोसुकै तपस्या गर्न पनि म तयार छु प्यारो मान्छे । तिमी खुशी भएको देख्दा मेरो खुशी दोब्बर भएर आउँछ, तिमी स्वस्थ भइरहँदा ममा स्फुर्ति बढ्छ, तिमी हाँसेको बखत मेरो चेहरामा एक हजार वाटको चमक आउँछ । बस, यो सम्झिने मन हो प्यारो मान्छे ।
प्यारो मान्छे तिमीसँगको प्रेमिल उठबसले मैले कयौँ ज्ञान लिएकी छु । तिम्रो एक शब्दमा मैले कत्रो-कत्रो उर्जा भेटेकी छु । नसिकाएरै सिकाउने, नबुझाएरै बुझाउने तिम्रो अद्भुत कलामा मैले अनौठो गुरुत्व भेटेकी छु । हरेक क्षण म भगवानप्रति आभारी छु, आफ्नो अन्तरहृदयको प्रेम पाएकोमा । तिमीप्रति हरक्षण कृतज्ञ छु तिमीलाई यो प्रेम दिवसको धेरै धेरै शुभकामना प्यारो मान्छे ………
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अष्ट्रेलियामा अब १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बारामा एकैदिन १० फरार प्रतिवादी पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे रविसँग बयान सुरु
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार