यसरी सुरु भयो राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक यात्रा !
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार १९:५९:२३
२९ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको जन्म आमा ऋषिमाया र बुबा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साबिक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनका श्रीमती सविता पौडेल तथा चार छोरी शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा र एक छोरा चिन्तन रहेका छन् ।
मध्यमवर्गीय किसान परिवारमा जन्मिएका पौडेलको स्थायी बसोबास तनहुँको व्यास–८ बेलथुम्की हो । हाल काठमाडौँ महानगरपालिका–१६ बोहोराटारमा बस्दै आएका पौडेलले संस्कृत साहित्यमा शास्त्री र नेपाली साहित्यमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । पौडेललाई अध्ययनशील, बौद्धिक, सादगी, जुझारु एवम् संघर्षशील व्यक्तिका रूपमा लिइन्छ ।
विसं २०१६ मा पोखरामा हिमालयन छात्र संघ स्थापना गरेका पौडेल पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दै गर्दा २०१७ जेठ-असारमा नेपाल संस्कृत छात्र संघको काठमाडौँ अधिवेशनका लागि प्रतिनिधि भएका थिए । विसं २०१७ पुस १ गते जननिर्वाचित संसद भंग गरी प्रधानमन्त्री बीपी कोइरालालगायत नेतालाई जेलमा राखिएकामा त्यसको विरोध गर्दै पौडेल प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए ।
विसं २०१९ मा नेपाल संस्कृत विद्यार्थी संघको सचिवको हैसियतले २०१९–२०२० सालमा भएको उपत्यकाव्यापी विद्यार्थी आन्दोलनमा र २०२०–२०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा पौडेल गिरफ्तार भएका थिए । नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य (२०३४) र जिल्ला उपसभापति (२०३६) को जिम्मेवारी सम्हालेका पौडेल जनमत संग्र्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचार–प्रसार गर्न गठित कांग्रेस तनहुँ जिल्ला समितिको संयोजक (२०३७), कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख (२०४०) र २०४३ सालमा कांग्रेस केन्द्रीय सदस्य भए ।
नेपाली कांग्रेस पार्टीको केन्द्रीय महामन्त्री (२०६२–२०६४), केन्द्रीय उपसभापति (२०६४–२०७२) र कांग्रेस संसदीय दलको नेता (२०६४–२०७०) भएका पौडेल २०७२ सालमा कांग्रेस पार्टीको कार्यवाहक सभापति भएको थिए । भरतपुर कब्जा गर्ने कांग्रेसको सशस्त्र संघर्षमा संलग्न भएको आरोपमा २०१८ सालमा काठमाडौँबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासत सजाय भोगेका पौडेल विद्यार्थी आन्दोलनका क्रममा पटकपटक गिरफ्तार भएका थिए । विद्यार्थी आन्दोलनसहित नेपाली कांग्रेस पार्टीको जिल्लादेखि केन्द्रसम्म विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्रममा पौडेलले १४ वर्षभन्दा बढी जेलजीवन व्यतीत गरेका छन् ।
पौडेल २०४८ सालमा तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने त्यसपछि तनहुँ क्षेत्र नं २ बाट २०५१, २०५६, २०६४ र २०७० सालमा लगातार प्रतिनिधिसभा निर्वाचन तथा संविधानसभा निर्वाचनमा निर्वाचित भए । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । पौडेल पहिलोपटक २०४८ सालमा स्थानीय विकासमन्त्री, २०४९ सालमा कृषिमन्त्री र २०५१ पुस २ गते प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका थिए । उनले २०५६ साल र त्यसपछि उपप्रधानमन्त्री तथा सूचना/सञ्चारमन्त्री, स्थानीय विकासमन्त्री, उपप्रधानमन्त्री तथा गृहमन्त्रीका साथै शान्ति समितिको संयोजक (२०६१–२०६२), शान्ति तथा पुनःनिर्माणमन्त्री (२०६३–२०६४), कांग्रेस संसदीय दलको नेता तथा संसदमा प्रमुख प्रतिपक्षी दलको नेता (२०६४–२०७०)समेत जिम्मेवारी सम्हालेका थिए ।
पौडेलले मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कार, महेन्द्रविक्रम शाह पुरस्कार (महेन्द्रविक्रम शाह नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक हुन), जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’को सम्मान (सन् २०२०) लगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् । यसैगरी, सशस्त्र द्वन्द्वरत तत्कालीन नेकपा माओवादीलाई मूल प्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह गरेका पौडेल विस्तृत शान्ति सम्झौताका मस्यौदाकार तथा सहमति र सहकार्यका पक्षपातीसमेत हुन् ।
यसरी २००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मेका पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुख बनेका छन् । कांग्रेस पार्टीबाट ६ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेका पौडेल अब संबैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा आइपुगेका छन् । पौडेल ६ पटक सांसद, ५ पटक मन्त्री र एकपटक प्रतिनिधिसभाको सभामुख बने । २०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसदमा १७ पटकसम्म चुनावी प्रतिस्पर्धामा भाग लिएपनि जित हासिल गर्न नसकेका पौडेल नौ दलीय सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएपछि पहिलो प्रयासमै राष्ट्रपति बन्न सफल भए ।
नवनिर्वाचित राष्ट्रपति पौडेल २०१६ सालमा हिमालयन छात्र संघको सदस्य बनेका थिए । २०१७ सालमा राजाले संसद् भङ्ग गरी वीपीलाई जेल हालेको विरोधमा उनी प्रजातान्त्रिक आन्दोलनमा सहभागी भए । र त्यसपछि सक्रिय राजनीतिमा अघि बढे । २०२७ सालमा नेविसंघको संस्थापक सदस्य बनेका पौडेल २०३४ सालबाट आफ्नै जिल्ला तनहुँबाट जिल्ला सदस्य भएर मूल पार्टी नेपाली कांग्रेसमा सक्रिय भए । २०४३ सालमा केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हुँदै निरन्तर केन्द्रीय सदस्य रहेका पौडेल २०६२ सालमा केन्द्रीय महामन्त्री, २०६४ सालमा केन्द्रीय उपसभापति, २०७२ सालमा कार्यवहाक सभापति बने ।
२०४८ सालपछि भएका ७ वटा संसदीय चुनावमध्ये २०७४ सालको बाहेक अन्य सबै निर्वाचतमा उनले तनहुँबाट जित हात पारेका थिए । २०५१ सालमा प्रतिनिधि सभाको सभामुख बनेका पौडेल २०६५ मा कांग्रेस संसदीय दलको नेता बने र विपक्षी दलको नेताको भूमिका निर्वाह गरे । २०४८ सालमा पहिलोपटक स्थानीय विकास मन्त्री बनेका पौडेल, २०४९ सालमा कृषिमन्त्री, २०५६ सालमा उपप्रधानमन्त्रीसहित सूचना÷सञ्चारमन्त्री, स्थानीय विकास र गृहमन्त्री बने । २०६३ माओवादी शान्तिप्रक्रियामा आएपछि उनी शान्ति तथा पुनःनिर्माण मन्त्री बने ।
प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार र १५ वर्ष जेल जीवन बिताएका पौडेल २०७९ फागुन २५ गते बिहीबार भएको चुनावबाट गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भए । अब उनको काँधमा संविधानको संरक्षक भएर राष्ट्रको अभिभावकत्व गर्ने जिम्मेवारी आइपुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार