मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १४:१०:५३
७ असार, वीरगञ्ज । मधेस प्रदेशको शतप्रतिशत गाउँबस्तीमा विद्युत सेवा पुगेको छ । प्रदेशका सबै टोलबस्तीमा विद्युत सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरिएको छ ।
विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख ई मुनिन्द्र ठाकुरले अघिल्लो आर्थिक वर्ष २०७८/७९ सम्म मधेस प्रदेशका ९९ प्रतिशत बस्तीमा विद्युत सेवा पुगेको जानकारी दिए । “बाँकी रहेको एक प्रतिशत घरमा चालु आर्थिक वर्ष २०७९/८० मा विद्युत पुर्याएपछि प्रदेशका शतप्रतिशत बस्तीमा विद्युतीकरण पुगेको छ”, उनले भने ।
प्रमुख ठाकुरले केही दिनमा प्रदेशलाई ‘शतप्रतिशत विद्युतीकरण प्रदेश’घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए । प्रदेशका सबै गाउँबस्तीमा विद्युतीकरण सकिएपछि सिँचाइ कार्यक्रममार्फत किसानको खेतबारीसम्म विद्युत पुर्याउने अभियान सुरु गरिएको उनले बताए ।
विद्युत प्राधिकरणले चालु आर्थिक वर्षदेखि रू ५५ करोड बराबरको सिञ्चाइ पूर्वाधार कार्यक्रमका लागि स्थानीय सरकारसँगको सहकार्यमा सिँचाइ विद्युतीकरण सुरु गरेको छ । “उक्त कार्यक्रम अन्तर्गत स्थानीय सरकारले आफ्ना पालिका भित्रका किसानलाई निःशुल्क बत्ती दिने र सिँचाइ बत्ती महसुल बापतको रकम स्थानीय तहले प्राधिकरणलाई बुझाइने व्यवस्था गरेको छ”, प्रमुख ठाकुरले भने । हालसम्म सिँचाइ पूर्वाधार कार्यक्रमका लागि धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका ८० स्थानीय तहले निःशुल्क सिँचाइ बत्ती पुर्याउन निर्णय गरेर पठाएको उनले बताए ।
सिँचाइ मिटर प्रयोग गर्ने किसानलाई प्रतियुनिट रू दुईका दरले मात्र महसुल तिराउने नीति लिएर विद्युत् प्राधिकरणले सिँचाइ विद्युतीकरण सुदृढीकरण कार्यक्रमका लागि रू पाँच अर्ब बजेट छुट्याएको जनाएको छ ।
प्राधिकरणले विद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत रिडिङमा सुधारलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रम पश्चात् प्राधिकरण सेवा विस्तार प्रणाली सुदृढीकरण भएको र निरन्तर विद्युत चुहावट घट्दै गएको प्रमुख ठाकुरले जानकारी दिए ।
मधेस प्रदेशमा गत आर्थिक वर्ष २०७७/७८ मा १६ दशमलव ५४ प्रतिशत विद्युत चुहावट हुँदै आएकामा आर्थिक वर्ष २०७८/७९ मा १४ दशमलव १७ प्रतिशतमा चुहावट झरेको विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ ।
सबैभन्दा बढी सर्लाहीको मलङ्गवा र सिमरौनगढ क्षेत्रमा ४१/४१ प्रतिशत, महोत्तरीको जलेश्वर, रौतहटको मौलापुर तथा गौर क्षेत्रमा ३५/३५ प्रतिशत विद्युत चुहावट हुँदै आएको थियो ।
औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत चुहावट भने शून्य दशमलव ३२ प्रतिशत रहेको जनाएको छ । चुहावट नियन्त्रण अभियानका क्रममा हुकिङ गर्ने दुई हजार ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ ।
मधेस प्रदेशमा लामो समयदेखि विद्युत महसुल नतिर्ने २२ हजार छ सय ६३ ग्राहकको विद्युत लाइन काटिँदा १८ हजार आठ सय २९ ग्राहकले पुनः विद्युत जडान गराएका प्रमुख ई ठाकुरले बताए । उनका अनुसार पुनः विद्युत जडानबाट रू एक अर्ब ४३ लाख ४३ हजार एक सय १५ बक्यौता असुली भएको छ ।
विद्युत मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत लाइन कट्टा गर्ने अभियान चलाएको प्रमुख ई ठाकुरको भनाइ छ । चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म मधेस प्रदेशमा रू १४ अर्ब ३३ करोड मूल्य बराबरको विद्युत बिक्री हुँदा रू १२ अर्ब ९३ करोड महसुल सङ्कलन भएको उनले जानकारी दिए।
“मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०७९/८० मा ६१ हजार सात सय ६३ नयाँ ग्राहक थपिएका छन् । योसँगै प्रदेशमा ग्राहकको सङ्ख्या दश लाख ४४ हजार सात सय ८६ रहेका छन्”, प्रमुख ठाकुरले भने । वि.सं २०७८ देखि अनलाइनबाट विद्युत महसुल बुझाउनुका लागि अनलाइन सेवा सुरु गरेको उहाँले जानकारी दिए । उनका अनुसार कुल ग्राहकमध्ये हाल २६ प्रतिशतले अनलाइन सेवामार्फत विद्युत महसुल तिर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै
जेठ ५, २०८१ शनिबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
बागलुङको नर्जाखानीमा प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार