सुन तस्करी, भ्रष्टाचार र तीन शीर्ष नेताबारे कांग्रेस नेता शेखर कोइरालाले किन उठाए गम्भीर प्रश्न ?
केदार भट्टराई (काका)
साउन १८, २०८० बिहिबार १७:३४:२७
१८ साउन, काठमाडौं । सितिमिति अरूलाई दोषारोपण नगर्ने र देशका गहन विषयमा समेत रिजर्भमा बस्दै आएका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बिहीबार नेपाल प्रेस युनियन काठमाडाैं जिल्ला शाखाको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देशका जल्दा बल्दा तीन विषयमा गम्भीर प्रश्न उठाए । छोटो समयमा आफ्ना भनाइहरु राखेका कोइरालाले देशको वर्तमान वस्तुस्थिति कसरी अगाडि गइरहेको छ र यसले कालान्तरमा कस्तो असर पार्छ भन्ने कुराको संकेत गरे पनि गरे ।
उनले उठाएको पहिलो विषय हो, अहिलेको सुन तस्करी प्रकरण र त्यसमा भइरहेको अनुसन्धान र छानविनको विषय । उनले छिमेकी मुलुक भारतमा १३ सय टन भन्दा बढी सुन खपत हुने रेकर्ड रहेको र त्यसमा मुस्किलले ८/९ सय टनसम्म मात्र भारत सरकारले वैधानिक रुपमा खरिद गरिरहेको उनले बताए । बाँकी ५ सय टन सुन कसरी भारत पुग्छ र यो सुन पुर्याउने गिरोह कस्तो छ भन्ने तर्फ उनको संकेत थियो । नेपालमा दैनिक १५ किलो सुन सरकारले दिन्छ । सरसर्ती मूल्यांकन गर्दा र अहिलेको बजारलाई हेर्दा यो परिमाणको सुनले न्युरोडका आधा पसललाई पनि पुग्दैन ।
देशभरी कति सुन पसल छन र तीनमा कति सुन खपत हुन्छ भन्ने कुरा सरकारी तथ्याङ्कमा छैन । कोइरालाले यहीनेर नेपालमा सुन कति चाहिन्छ र कसरी आइरहेको छ भन्ने कुरा कसैले पनि नउठाएको प्रति संकेत गरे । अहिले समातिएको त अनुमानित सय किलो मात्र हो । यसबीचमै कति सुन आयो र कता पुग्यो भन्ने अनुमान लगाउनै नसकिने उनको भनाइ थियो । सुन तस्करीको कारोबारमा राज्यका माथिल्लो निकायकै संलग्नताप्रति कोइरालाको आशंका थियो । उनले सुनको विषयलाई लिएर नेपालको सुरक्षा निकायको अवस्थामाथि पनि प्रश्न उठाए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाका हिसाबले पनि अति महत्वपूर्ण ठाउँ हो । यहाँ सबै खालका राज्यका संयन्त्रहरु रहन्छन् । यस्तो ठाउँबाट सुन बाहिर आउनुले नेपालको सुरक्षाको स्थिति विश्वकै अगाडि नाजुक सावित भएको उनको भनाइ थियो । सुन कसरी आयो भन्ने भन्दा पनि समातिएको सुनको छानविन प्रति कोइरालाले निकै गम्भीर प्रश्न उठाएका छन् । उनले यत्रो काण्ड मच्चिइरहँदा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई किन बाहिर राखियो भन्ने कुराले नै यसको अनुसन्धान कसरी भइरहेकाे छ भन्ने कुरामा शंका उब्जिएको बताए ।
उनले भने, ‘सुन काण्ड राजश्वले मात्रै हेरिरहेको छ, सीआईबीले किन हेरिरहेको छैन, अचम्म छ । राजश्व अनुसन्धान विभागको महानिर्देशक केही दिन अगाडि प्रधानमन्त्रीको पीए हुनुहुन्थ्यो ।’ कोइरालाले सुनकाण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत संलग्नता हुनसक्ने आशंका व्यक्त गरे । उनले सुन काण्डमा अहिले राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको र पहिले प्रधानमन्त्रीको निजी सचिव रहेका व्यक्ति नै अहिले सो विभागको प्रमुख रहनुले घटनामा प्रधानमन्त्रीको भूमिकाबारे प्रश्न उब्जिएको बताए ।
कोइरालाले भने, ‘सुन काण्डमा रोचक के छ भने यसमा प्रहरी वा सीआईबी इन्भल्व छैन । राजश्व अनुसन्धान मात्रै इन्भल्व छ । त्यसमा पनि इन्ट्रेस्टिङ त के छ भने राजश्व अनुसन्धान पहिला अर्थ मन्त्रालयको अन्डरमा हुन्थ्यो, ओली जी प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याउनुभयो, शेरबहादुरजी आइसके पछि उहाँले पनि फर्काउनु भएन, अहिले प्रधानमन्त्रीजीले पनि फर्काउनुभएको छैन । अहिले त्यहाँ जो डिजी हुनुहुन्छ, सुन काण्डभन्दा ७ दिन पहिला प्रधानमन्त्रीजीको पीए हुनुहुन्थ्यो । यसबाट प्रश्न उठ्छ, देशमा के हुँदैछ ? कहाँ पुग्न खोज्दैछौँ ।’
राजश्व अनुसन्धान विभागको महानिर्देशकमा हाल नवराज ढुंगाना महानिर्देशक छन् । उनी त्यहाँ सरुवा हुनुभन्दा अघि प्रधानमन्त्रीको निजी सचिवका रुपमा कार्यरत थिए । उनलाई सरकारले १२ असारमा राजश्व अनुसन्धान विभागको महानिर्देशक बनाएको थियो । नेता कोइरालाले सो प्रकरणमा प्रहरीलाई बाहिर राखेर अनुसन्धानमा राजश्व अनुसन्धान मात्रै संलग्न हुनुले प्रश्न उब्जिएको बताए । नेता कोइरालाले भ्रष्टाचार र अपराधलाई राजनीतिक लेप लगाउने कार्यले देशलाई अराजकतातिर धकेल्ने काम गरिरहेको बताए ।
दोस्रो कोइरालाले उठाएको विषय दण्डहीनता हो । उनले हालै संसदबाट पारित भएको कानुनप्रति संकेत गर्दै राजनीतिक दल र तिनका शीर्ष नेताहरूले देशलाई थप दण्डहीनता तिर लान खोजेको बताए । जानाजानी यसरी देशलाई दण्डहीनता तिर धकेल्नु भनेको देशलाई स्थिर राख्न खोज्नु भएको उनको भनाइ थियो । उनले भने, ‘मान्छे मार्नेलाई राजनीतिक लेप लगाइएको छ । यसलाई ठीक ठाउँमा नराखे देश अराजकतातिर जान्छ । भ्रष्टाचारले देशलाई हरेक सेक्टरमा गाँजेको छ । अब दण्डहीनतालाई पनि प्रोत्साहन गर्ने हो भने के हुन्छ । कस्तो परिस्थिति निम्तिन्छ र कति अराजकता बढ्छ ?
प्रमुख प्रतिपक्षी दल भएर पनि नेकपा एमालेले गलत बाटो लिएको कोइरालाको भनाइ थियो । संसद अवरोधले कुनै पनि विषयलाई निष्कर्षमा नपुर्याउने भएपनि एमालेले संसद अवरोध गरेर संसदीय मान्यतालाई चुनौती दिन खोजेको बताए । उनले संसद बन्द गरेर हैन अहिले भइरहेका भ्रष्टाचार र तस्करी जस्ता विषयमा सांसदहरुले धारण राख्नुपर्ने र जसले जति सूचना पाउँछ त्यसलाई संसदमा ल्याएर छलफल चलाउनुपर्ने बताए । यसरी संसद अवरोध भइरहनुको पछाडि पनि केही कारण भएको तर्फ उनको संकेत थियो ।
नेकपा एमालेले संसद अवरुद्ध पार्दा देशलाई क्षति भइरहेको उनले बताए । संसद अवरुद्ध हुँदा सत्ता पक्षले पनि विचार गर्न आवश्यक रहेको उनले बताए । ‘संसदलाई अवरुद्ध गर्यो भने देशको लागि कति क्षति भइरहेको छ भनेर सत्ता पक्ष र विपक्ष दुवैले बुझ्न आवश्यक छ । कुनै घटना आउँछ तर विपक्षले संसद अवरुद्ध गरिहाल्छ, उनले भने, ’यो त राम्रो होइन । संसद त चल्न दिनुपर्यो । संसदमा कुरा राखे राम्रै हुन्छ । पक्ष विपक्ष दुवैले विचार राखेको राम्रो हुन्छ । तर संसदलाई नै अवरुद्ध पारेर त भएन ।’
अर्को देशमा भइरहेका यस्ता अनेकौं घटना र त्यसको निकासका लागि बस्ने तीन नेताको बैठकप्रति पनि कोइरालाले प्रश्न उठाएका छन् । नेपालको भ्रष्टाचार र त्यसमा हुने छानविन माथि पनि प्रश्न उठाउँदै कोइरालाले देश भ्रष्टाचारले गाँजेको र यसले देशमा दण्डहीनता बढाएको अवस्थामा मुख्य राजनीतिक नेतृत्व के गरिरहेको छ भनेर बुझ्न नसकिएको बताए । कोइरालाले देशमा एक पछि अर्को काण्ड भइरहँदा त्यसमा माथिल्लो तहको संलग्नता हुने तर्फ आशंका गर्दै यस्ता घटनाहरू बाहिर आउने बित्तिकै दलका शीर्ष तीन नेताहरू मात्र बैठक बसिहाल्नुकाे अर्थ के हो भन्ने पनि उनले प्रश्न गरे ।
उनले भने, ‘अहिले अर्को नयाँ घटनाक्रम छ, जे घटना हुन्छ, तीन जना नेताहरू बसिहाल्नुहुन्छ, किन बस्नुहुन्छ के छलफल हुन्छ ? केही थाहा छैन । हिजो–अस्ति मात्र पनि बसिराखेको जस्तो लाग्छ । यसले के सन्देश दिइरहेको छ ? के भइरहेको छ ? यसले देशलाई कहाँ पुर्याउँछ ? त्यसैले हामीले भ्रष्टाचारको अन्त्य गरेर सुशासनको बाटोमा अघि बढाउने हो भने मात्रै देश बनाउन सकिन्छ ।’
उनले भ्रष्टाचारले देश गाँजेको बेला, दण्डहीनता बढेको बेला एउटा प्रकरण निस्किएर छानविन भइरहेको बेला अर्को इस्यु अघि बढाउने र पहिलाको इस्यु साइड लगाउने जस्ता कुरामा तीन नेताको बैठकले किन केही भन्न नसकिरहेको भन्ने मै प्रश्न उठाए । भुटानी शरणार्थीपछि ललिता निवास जग्गा प्रकरण आयो, भुटानी शरणार्थी प्रकरण रोकियो । झ्याप्प किन रोकियो भने माथि कोही न कोही मान्छे परिरहेको हुन्छ भन्ने शंका हुन्छ । सुन काण्ड आयो यो आउने बित्तिकै तीन दलका तीन शीर्ष नेताहरू बैठक बस्नु भो तर उपलब्धि केही आएन ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
पुष २३, २०८१ मंगलबार
जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो
पुष २३, २०८१ मंगलबार
मंगलबार बिहानको भूकम्पले नेपालमा पुर्याएको क्षति बुझ्न सशस्त्रले खटायो २५०० जनशक्ति
पुष २३, २०८१ मंगलबार
राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाइ बल्ल दिइयो जानकारी
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
के तपाईलाई अत्यधिक रिस उठ्छ ? त्यसो भए यी कुरा जान्नुहोस्
पुष २३, २०८१ मंगलबार