७० अर्बभन्दा माथि पुग्यो वाणिज्य बैंकहरूको मुनाफा, नविलपछि ग्लोबल आईएमईले कमायो सवा ७ अर्ब
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १२:५३:२८
२१ साउन, काठमाडौं । बाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् । देशका २० वटै वाणिज्य बैंकले गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा नाफा बढेको देखिएको छ । बैंकहरूले सार्वजनिक गरेका चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणानुसार २० वाणिज्य बैंकले ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यी बैंकको नाफा औसत २४.९५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८ र ७९ को अन्त्यसम्म यी बैंकहरूले ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
वित्तीय विवरणानुसार गएको वर्ष सर्वाधिक नाफा कमाउने र वृद्धि गर्नेमा नबिल बैंक अगाडि छ । यो बैंकले उक्त अवधिमा सात अर्ब ५२ करोड ७१ लाख रुपैयाँ नफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बैंकले चार अर्ब २५ करोड ६० लख रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा ७६.८६ प्रतिशले वृद्धि भएको हो ।
बढी नाफा गर्नेमा दोस्रोमा ग्लोबल आइएमई बैंक लिमिटेड छ । यो बैंकले सात अर्ब २५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तर, अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा ४६ प्रतिशतले मात्र वृद्धि भएको छ । प्रतिशतको हिसाबमा सर्वाधिक नाफा वृद्धि गनर्मो दोस्रोमा स्ट्यान्डर्ड चार्टर्ड बैंक छ । यो बैंकले ५६।२७ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो बैंकले तीन अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी ६६ प्रतिशतले बढेर १७ अर्ब ११ करोड रूपैयाँ नाघेको छ । बैंकको निक्षेप ५४ प्रतिशतले बढ्दा ऋण ३८ प्रतिशतले बढेको छ । बैंकको निक्षेप ४ खर्ब २६ अर्ब पुगेको छ भने ऋण ३ खर्ब ५६ अर्ब रूपैयाँ पुगेको छ । बैंकक खराब ऋण १.२८ प्रतिशतबाट बढेर ३.०८ प्रतिशत पुगेको छ ।
यस्तै गएको आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा हिमालयन बैंकको मुनाफा बढेको छ । बैंकले आइतबार सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा मुनाफा ३७.९६ प्रतिशतले बढेको हो । गएको आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले तीन अर्ब २६ करोड ६१ लाख रूपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ३६ करोड ७५ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा उलेख्य मात्रामा बढेकाले मुनाफा वृद्धिमा सहयोग पुगेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी १००.९५ प्रतिशत बढेको छ । खुद फी तथा कमिसन आम्दानी ५.४४ प्रतिशतले बढेको छ । बैंकले गएको वर्ष ९ अर्ब ९३ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद फी तथा कमिसनबाट बैंकले ९६ करोड ३३ लाख रूपैयाँ आर्जन गरेको छ । बैंकलाई उक्त अवधिमा पाँच अर्ब ४९ करोड ११ लाख रूपैयाँ सञ्चालन मुनाफा भएको छ ।
गएको आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ७१ करोड १४ लाख रूपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष यस्तो मुनाफा दुई अर्ब ५६ करोड ७७ लाख रूपैयाँ थियो । बैंकको निक्षेप ६३.४७ प्रतिशतले बढेको छ । कर्जा लगानी ५६.४२ प्रतिशतले बढेको छ । बैंकले असार मसान्तसम्म दुई खर्ब ७५ अर्ब ३१ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ । दुई खर्ब ३० अर्ब १२ करोड रूपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रूपैयाँ छ । बैंकले जगेडा कोषमा १४ अर्ब ९१ करोड ४८ लाख रूपैयाँ सञ्चित गरेको छ । बैंकको खराब कर्जा ४.५७ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष यस्तो खराब कर्जा १.५९ प्रतिशत थियो । यो बैंकको प्रतिशेयर आम्दानी १९ रूपैयाँ १९ पैसा छ । प्रतिशेयर नेटवर्थ १६५ रूपैयाँ ५८ पैसा छ ।
यसैगरी लक्ष्मी सनराइज बैंकको मुनाफा ४९.४५ प्रतिशतले वृद्धि भएको छ । गएको आर्थिक वर्षमा बैंकले दुई अर्ब २६ करोड १८ लाख रूपैयाँ मुनाफा आर्जन गरेको छ । आइतबार सार्वजनिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ५१ करोड ३४ लाख रूपैयाँ खुद मुनाफा कमाएको थियो ।
लक्ष्मी बैंक र सनराइज बैंक १ः१ सेयर स्वाप रेसियोमा एकापसमा मर्जरमा भएका हुन् । मर्जरपछि बैंकको यो पहिलो वित्तीय विवरण हो । बैंकले गएको वर्ष पाँच अर्ब ५० करोड ७१ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद फी तथा कमिसनबाट बैंकले ९९ करोड ६ लाख रूपैयाँ आर्जन गरेको छ । बैंकलाई उक्त अवधिमा तीन अर्ब ४२ करोड २७ लाख रूपैयाँ सञ्चालन मुनाफा भएको छ । बैंकले असार मसान्तसम्म दुई खर्ब ९६ अर्ब २४ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ । दुई खर्ब ५३ अर्ब ६९ करोड रूपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड दुई लाख ३८ हजार रूपैयाँ छ । बैंकले जगेडा कोषमा १४ अर्ब पाँच लाख रूपैयाँ सञ्चित गरेको छ । गएको आर्थिक वर्षको अन्त्यसम्म बैंकको वितरण योग्य मुनाफा एक अर्ब ९३ करोड ७१ लाख रूपैयाँ छ । अघिल्लो वर्षको तुलनामा बैंकको वितरणयोग्य मुनाफा वृद्धि भए पनि लाभांश क्षमता घटेको छ । अघिल्लो वर्ष १०.४० प्रतिशत लाभांश क्षमता थियो । यो वर्ष बैंकको लाभांश क्षमता ८.९४ प्रतिशत मात्र छ ।
बैंकको खराब कर्जा २.८१ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष खराब कर्जा ०.८९ प्रतिशत थियो । बैंकको प्रतिशेयर आम्दानी १९ रूपैयाँ ४४ पैसा छ । प्रतिशेयर नेटवर्थ १७३ रूपैयाँ ५५ पैसा छ ।
यस्तै मेगा बैंक नेपाललाई गाभ्दा त्यहाँ बिग्रिएको ऋणका कारण मर्जरपछि बनेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा र नोक्सान हिसाब खाता केही खराब देखिएको छ । खुदा मुनाफामा केही सुधार देखिए पनि वितरणयोग्य मुनाफा उल्लेख्य घटेको छ । खराब ऋण अनुपात पनि बढेको छ ।
अघिल्लो वर्ष निकै राम्रो प्रदर्शन गरेको नेपाल इन्भेस्टमेन्ट बैंकको हिसाबकिताब मेगा गाभेपछि खराब भएको वित्तीय विवरणमा देखिन्छ । बैंकको खुद मुनाफा ४ अर्ब २९ करोड रूपैयाँ पुगेको छ । मर्जरका कारण निक्षेप, ऋण, ब्याज आम्दानी सबै लगभग दोब्बरले बढेको छ । साथै खराब ऋण त्यो भन्दा बढीले वृद्धि भएको छ ।
खुद ब्याज आम्दानी १११ प्रतिशतले बढेर १२ अर्ब २७ करोड नाघेको छ । ऋण लगानी ९३ प्रतिशतले बढेर ३ खर्ब नाघेको छ । निक्षेप पनि ९२ प्रतिशतले बढेर साढे ३ खर्ब नाघेको छ । खराब ऋण डेढ प्रतिशतबाट बढेर ४.३५ प्रतिशत पुगेको छ ।
सिटिजन्स बैंकको आर्थिक वर्ष २०७९–८० को अपरिस्कृत वित्तीय विवरणअनुसार यो बैंकले २ अर्ब २१ करोड मुनाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७८–७९ को तुलनामा १०.४१ प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५६ करोड मुनाफा आर्जन गरेको थियो । बैंकको कुल सञ्चालन आम्दानी १०.७९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९३ करोड पुगेको छ ।
बैंकको आम्दानीमा वृद्धि भए पनि सम्भावित कर्जा नोक्सानीबापतको व्यवस्थाका लागि ७३ करोड ३ लाख छुट्याएको छ । अघिल्लो आर्थिक वर्षमा ५५ करोड २५ लाख छुट्याइएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा १३.४३ प्रतिशतले बढाएर गत आर्थिक वर्ष बैंकले ३ अर्ब ७ करोड सञ्चालन मुनाफा आर्जन गरेको हो । यो बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ७० करोड सञ्चालन मुनाफा आर्जन गरेको थियो । गत असार मसान्तमा बैंकको निष्क्रिय कर्जा २।२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ ।
सानिमा बैंकको मुनाफामा उल्लेख्य सुधार भएको छ । बैंकले २५.१३ प्रतिशतले खुद मुनाफा बढाएको छ । यो बैंकको मुनाफा २ अर्ब ६१ करोड नाघेको छ । खुद ब्याज आम्दानी पनि ३९.५० प्रतिशतले बढेको छ । बैंकको खराब ऋण भने धेरै नै बढेको छ । अघिल्लो वर्ष ०.३३ प्रतिशत रहेको सानिमा बैंकको खराब ऋण यसपालि १.३० प्रतिशत पुगेको छ ।
बैंकको निक्षेपको तुलनामा ऋणको वृद्धि दर घटेको छ । तर, मुनाफामा उल्लेख्य सुधार छ । बैंकको ऋण साढे ६ प्रतिशतले बढेर एक खर्ब ४५ अर्ब रूपैयाँ पुगेको छ भने निक्षेप साढे ११ प्रतिशतले बढेर १ खर्ब ७५ अर्ब नाघेको छ । बैंकले स्प्रेड दर बढाएका कारण नाफामा सुधार भएको हो । ३.८६ प्रतिशतको स्प्रेड दर ४ प्रतिशत पुर्याएको छ ।
वाणिज्य बैँकहरू वित्तीय विवरण सार्वजनिक गर्ने क्रममै छन । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले २१ साउनभित्र गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ । अन्य सूचीकृत कम्पनीहरूले साउन मसान्तभित्र वित्तीय विवरण सार्वजनिक गर्न सक्छन् ।
गत आर्थिक वर्षको असार मसान्तसम्म नेपाल बैंकको नाफा १६.७० प्रतिशतले बढेर ३ अर्ब ४१ करोड रूपैयाँ पुगेको छ । अघिल्लो आवमा यो बैंकको मुनाफा २ अर्ब ९२ करोड थियो । बैंकको सञ्चालन नाफा २१.१९ प्रतिशतले बढेर ४ अर्ब ४० करोड पुगेको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख छ । १४ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको नेपाल बैंकको जगेडा कोषमा २० अर्ब ९१ करोड छ । बैंकको खराब कर्जा १.८३ बाट २.८५ प्रतिशत पुगेको छ ।
यसै गरी गत वर्ष कृषि विकास बैंकको खुद मुनाफा ३९.२४ प्रतिशत बढेको छ । गत वर्ष बैंकले ३ अर्ब ९ करोड रुपैयाँ खुद मुनाफा कमाएको हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले २ अर्ब २२ करोड खुद मुनाफा गरेको थियो । एक वर्षमा बैंकले ८७ करोड ३५ लाख रूपैयाँ खुद नाफा बढाएको छ ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार २ अर्ब रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ । बैंकको चुक्ता पुँजी १३ अर्ब ४५ करोड छ । यो बैंकको खराब कर्जा अनुपात बढेर २.४८ प्रतिशत पुगेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म प्रभु बैंकको मुनाफा ४८.५४ प्रतिशतले बढेर २ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो आवको यही अवधिमा बैंकको मुनाफा १ अर्ब ९० करोड थियो । बैंकको सञ्चालन मुनाफा ४७.५२ प्रतिशतले बढेर ४ अर्ब २० करोड पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा भने १६ करोड १६ लाख छ । यो बैंकको खराब कर्जा १.८६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेको छ । यसका कारण लोन लस प्रोभिजनमा २ अर्ब ४३ करोड रूपैयाँभन्दा बढी रकम छुट्याउनु परेको छ ।
गत आवमा सिद्धार्थ बैंकको प्रोभिजन रकम बढ्दा ब्याज आम्दानीको अनुपातमा मुनाफा बढ्न सकेको छैन । व्यवसाय उल्लेख्य विस्तार नभए पनि बैंकले ब्याजदर अन्तरलाई व्यवस्थापन गर्दा खुद ब्याज आम्दानीमा भने वृद्धि भएको छ, जसले गर्दा प्रोभिजन बढ्दा पनि बैंकको मुनाफामा वृद्धि भने भएको छ ।
बैंकले गत आर्थिक वर्षमा ३ अर्ब १९ करोड खुद मुनाफा आर्जन गरेको छ । यो अघिल्लो आवको भन्दा ९.९१ प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९० करोड मुनाफा आर्जन गरेको थियो । बैंकले गत आर्थिक वर्षमा बोनस शेयरमार्फत चुक्ता पुँजी १२.५ प्रतिशतले बढाएर १४ अर्ब ९ करोड पुर्याएको छ । चुक्ता पुँजी बढाउँदा पनि बैंकको मुनाफामा भएको वृद्धिले प्रतिशेयर आम्दानी अघिल्लो वर्ष २० रूपैयाँ ६० पैसा रहेकोमा गत आर्थिक वर्षमा २२ रूपैयाँ ४३ पैसा पुगेको छ । २०७९ असार मसान्तमा १.०७ प्रतिशत रहेको यो बैंकको निष्कृय कर्जा २०८० असार मसान्तमा बढेर २.०१ प्रतिशत पुगेको छ ।
यस्तै, माछापुच्छ्रे बैंकको निष्क्रिय कर्जा वृद्धि हुँदा सम्भावित कर्जा नोक्सानी बापतको प्रोभिजन रकम बढेको छ । यद्यपि आम्दानीमा भएको वृद्धिसँगै मुनाफा पनि बढेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८५ करोड मुनाफा कमाएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अघिल्लो आवको भन्दा ९.७५ प्रतिशत बढी हो । बैंकले आर्थिक वर्ष २०७८–७९ मा १ अर्ब ६८ करोड खुद मुनाफा आर्जन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार