राज्यका नजरमा त्यो बेलाका सीके राउत र अहिलेका दुर्गा प्रसाईं !
केदार भट्टराई (काका)
मंसिर १२, २०८० मंगलबार १३:५३:२९
११ मंसिर, काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको अभियानका केही समर्थकहरू प्रहरीले पक्राउ गरेको छ । प्रसाईंलाई अहिलेसम्म राज्यले नियन्त्रणमा लिन नचाहेको देखिन्छ । व्यवस्थाविरुद्धको अभियान भनेर प्रसाईंले अनेक हर्कत गर्दा पनि उसलाई समाएर कानुनी कारबाही गर्दा आफू थप बदनाम भइन्छ भने डर नेताहरूमा छ । यसकारण प्रसाईंमा जे गर्दा पनि हुने साहस छ ।
प्रसाईंका गतिविधि बढेपछि केही दिनयता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समवेदना दिनुपर्ने कार्यक्रममा भएपनि गणतन्त्र विरोधी गतिविधिहरू बढिरहेको भनेर गुनासो गरिरहेका छन् । उनमा व्यवस्था विरुद्धका गतिविधिलाई राज्यले नियन्त्रण गर्नुपर्छ र त्यस्तालाई कारबाही गर्छ भन्ने आँट देखिँदैन । प्रसाईंले बैंक तथा वित्तीय संस्थाको ऋण तिरिँदैन, ऋण र ब्याज माग्न आउने बैंकका कर्मचारीलाई कालोमोसो दलेर लखेट्नुपर्छ भन्ने कुरा नै राज्यका लागि बढी हो ।
देशमा यतिबेला सकि नसकी व्यवस्था विरुद्ध जनमत भड्काउने प्रयास जारी छ । कानुनी राज्यमा व्यवस्था विरुद्धका हर्कतमाथि कानुनी कारबाहीका प्रबन्ध पनि छन् । संविधानले पनि व्यवस्था विरुद्ध नजान भनेको छ । गएमा त्यसका लागि नियन्त्रण गर्ने उपाय पनि तोकिदिएको छ । व्यवस्था विरुद्धका अभियन्ता भन्नेहरू खुल्लमखुल्ला धावा बोलिरहेका छन् । डराउनुपर्ने उनीहरू तर, डराइरहेको छ सरकार ।
कोहिले अहिलेका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतका यसअघिका गतिविधिसँग दुर्गा प्रसाईंसँग जोडेर पनि हेर्ने गरेका छन् । राज्य र व्यवस्था विरोधी गतिविधिहरू गरेको भनेर २०७४ सालमा सिके राउत पक्राउ परेका थिए । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै धनुषा प्रहरीले उनलाई पक्राउ गरिएको थियो । राउतले सिराहाको लहानमा सभा गरेर देश टुक्राउने अभिव्यक्ति दिएका थिए ।
त्यो बेला राउतविरुद्ध राज्य विप्लवको मुद्दा लगाइएको थियो । त्यसअघि पनि राउतविरुद्ध विशेष अदालत काठमाडौंमा राज्य विप्लवको मुद्दा चलेको थियो । तर, धरौटीमा छुटेका थिए । आरोप प्रमाणित भए जन्म कैद हुन्छ भनिएको थियो । तर, उनी अहिले दल खोलेर राजनीतिमा आएका छन् । दुर्गा प्रसाईं यो भन्दा उदण्डका नारा लगाएर राज्य व्यवस्था विरुद्धका गतिविधिमा संलग्न छन् ।
प्रसाईंविरुद्ध राज्य विरुद्धको अपराध र राज्य विप्लवको अपराध वा उद्योग गरेको ठहरिए भन्न मिल्छ की मिल्दैन भन्ने बहस पनि चलिरहेकै छ । यो अभियोगमा १० वर्षदेखि जन्मकैदसम्म सजाय हुने व्यवस्था छ । राज्यविरुद्धको अपराध ऐनअनुसार कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा उसलाई जन्म कैद हुने कानुनी व्यवस्था छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने भन्दै मेडिकल व्यवसायी प्रसाईंले एक्लो प्रयासमा गत बिहीबार काठमाडौंमा सर्वसाधारण उतारेर विरोध प्रदर्शन मात्रै गरेनन्, विद्यमान शासन प्रणाली र व्यवस्था नै उल्टाइदिने हाँक दिए । तर देशको शासकीय सुधार र प्रणालीको पहरेदारी गर्नुपर्ने जिम्मेवारीमा रहेको सरकार मौन छ बोलेको छैन ।
यतिबेला सर्वसाधारणको आक्रोश प्रणाली र व्यवस्था विरुद्धभन्दा पनि राजनीतिक दल र नेतृत्वका क्रियाकलाप तथा शासकीय बेथितिका विरुद्धमा भएको देखिन्छ । यस्तो परिस्थितिमा सवै पार्टीका नेतृत्व डराएर बोलिरहेको अवस्था छ । गणतन्त्रमा जनताले के पाए भन्ने प्रश्न आज हरेकको मनमा गढेको छ भने अर्कोतर्फ संघीयताप्रति आम धारणा राम्रो बन्न सकेको छैन् । अहिले सडकमा जति प्रश्न र आक्रोश उठेका छन्, यसलाई बेलैमा समाधान गर्ने तिर नजाने हो भने यसले अर्को रूप लिन सक्ने प्रवल सम्भावना छ ।
प्रसाईंले राजतन्त्र फर्काउने, लघु वित्त र सहकारीका २० लाखसम्मको ऋण मिनाहा गर्नेदेखि विदेशमा रहेका नेपालीलाई फर्काउने आश्वासन दिएर सडकमा मान्छे उतारेका छन् । राजनीतिक दलका नेता र सरकारप्रतिको वितृष्णालाई व्यवस्था र प्रणालीका विरुद्धमा उतार्न खोज्ने प्रसाईंको गतिविधिलाई राज्य नियन्त्रण गर्ने प्रयास गरेको छैन । एमाले अध्यक्ष केपी ओलीले प्रसाईंका गतिविधिमा सरकारको साथ रहेको बताएका छन् ।
संविधान विपरीत सामाजिक सद्भाव, धार्मिक, विद्वेष र नागरिकमा त्रास फैलाउने कदमप्रति सरकार जागरूक देखिँदैन । यस्ता क्रियाकलापले राज्यलाई नै हानी गरिरहेको छ । ऋणीबाट लिएको ऋण नतिर्नका लागि आपराधिक बाटोमा लाग्नुपर्छ भन्ने जस्ता सन्देश प्रसाईंले दिइरहेका छन् । राज्यविरुद्धका गतिविधिमा उनले जनतालाई उक्साइरहेका छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपसयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
बैशाख २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २२, २०८१ शनिबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार