हलिउडका चलचित्रसँगै बाफ्टामा प्रतिस्पर्धा गरेर इतिहास बनाउँदै ‘गोर्खा वारियर’
नेपालबहस संवाददाता
मंसिर २५, २०८० सोमबार १६:१५:४७
२५ मंसिर, काठमाडौं । नेपाली चलचित्र ‘गोर्खा वारियर’ ले एकपछि अर्को इतिहास बनाईरहेको छ । पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली चलचित्रको स्तरीयता र महत्व दर्शाउन सफल चलचित्रले पुनः नयाँ इतिहास बनाएको छ । यो चलचित्र पहिलोपटक ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलोचरणमा प्रवेश पाएको छ ।
अर्थात् नेपाली भाषाको चलचित्रले पहिलोपटक अवार्डमा प्रवेश पाएको हो । निर्देशक मिलन चाम्सले प्रवेश पाएर अन्तिम लिस्टमा छनोट भएपछि नोमिनेसन सार्वजनिक हुने जानकारी दिए । ‘हाम्रो विषय र कलाकार विश्वका ठुला चलचित्रसँग प्रतिष्पर्धा गर्न उभिनु नै हाम्रो जीत हो । हाम्रो विषयलाई विश्वले कति प्राथमिकता दिन्छ भन्ने तथ्यलाई गोर्खा वारियरले प्रस्ट्याईरहेको छ’,निर्देशक चाम्सले भने ।
सिनेवर्ल्डमा प्रिमियर हुनु, बेलायतका प्रधानमन्त्री ऋषी सुनकले शुभकामना संदेश पठाउनु, प्रिमियरमा व्रिटिश गोर्खाका उच्चस्तरीय सैनिक उपस्थित हुनु लगायतले यो चलचित्र नेपाल भन्दा विदेशमा बढी चर्चित छ । गोर्खालीको वीरताको कथा भएकोले पनि विश्वका मिडियाले यसलाई प्राथमिकता दिएर खबर सम्प्रेषण गरिरहेका छन् ।
यही कारण बाफ्टामा चलचित्रले प्रवेश पाएको हो । निर्देशक चाम्सले बेलायतमा रहेको लन्डन सिनेआई प्रोडक्सन भएको कारण पनि बाफ्टामा प्रवेश पाईएको बताए । ‘हामी सफल हुनु वा असफल हुनु फरक पाटो हो । हामीले हाम्रो चलचित्रको स्तरीयता र विषयलाई त्यहाँ पुर्याएका छौं । आउँदो समयमा नेपाली चलचित्रलाई हेर्ने शैलीमा बाफ्टामा भिन्नता हुनेछ’,निर्देशक चाम्सले भने ।
गोर्खा वारियरले हलिउडका प्रसिद्ध चलचित्रहरु गार्डियन्स अफ द ग्यालेक्सी भोल्युम ३, हार्ट अफ स्टोन, द स्केपर, बार्बी, मिसन इम्पोसिबल डेड रिकोनीङ पार्ट वान, इन्डियाना जोन्स एण्ड डायल अफ डेस्टीनि, जोन विक च्याप्टर ४, ड इक्युलाइजर ३ जस्ता चलचित्रसँग प्रतिष्पर्धा गरिरहेको छ । चलचित्रका अभिनेता रितेश चाम्ससँगै उल्लेखित चलचित्रका अभिनेता प्रतिष्पर्धामा छन् । यो नेपाली चलचित्रको लागि गौरवको विषय हो । गोर्खालीले रचेको इतिहास र विषयको महत्वलाई बुझेर चलचित्र तयार भएकाले पछिल्लो समय बाफ्टामा नेपाली चलचित्रले विश्व प्रसिद्ध चलचित्रकर्मीको ध्यान तानेको छ ।
गतवर्ष बाफ्टामा ‘आरआरआर’ र ‘गंगुवाई कठियावाडी’ जस्ता चलचित्र पहिलोचरणका लागि छनौट हुँदा भारतीय मिडियामा निकै चर्चा भएको थियो । जबकि उल्लेखित चलचित्रले दोस्रो चरणमा प्रवेश नै पाएनन् । सोही कारण पनि बाफ्टामा लङलिस्टका लागि चयन हुनु निकै गौरवको विषय मानिन्छ । अभिनेता रितेश चाम्सले पहिलो चलचित्रमार्फत नै यस किसिमको चर्चा पाउनु सपना झैँ महसुश भएको बताए ।
उनले भने,‘हाम्रो चलचित्रले पाइरहेको सम्मान र बनाईरहेको इतिहास मेरा लागि सोच भन्दा निकै माथि छ । अन्तर्राष्ट्रिय मिडियामा गोर्खा वारियरलाई दिइएको स्थानले हाम्रो गोर्खाली प्रतिको सम्मान झल्काउँछ । विशेषत डेब्यु चलचित्रमै मिलन चाम्स जस्तो राष्ट्रिय पुरस्कार विजेता निर्देशकसँग काम गर्न पाए । उहाँकै कारण यो सफलता सम्भव भईरहेको छ ।’
उनले डेब्यु चलचित्रमा अन्तर्राष्ट्रिय मिडिया पाइरहेको चर्चा सायदै नयाँ कलाकारले बनाउन सक्छन् । त्यसैले पनि उनले आफ्नो अभिनयको श्रेय निर्देशक चाम्सलाई दिएका छन् । किनकि निर्देशक चाम्स आफैँ पूर्व गोर्खा सैनिक भएकाले चलचित्रलाई तयार गर्न सकेका थिए ।
विदेशी चलचित्र उद्योगमा वीरताको कथा प्रस्तुत गरिएको धेरै भएता पनि नेपालमा भने बल्ल सुरू हुँदैछ । मिलनले चलचित्रलाई वास्तविक युद्धको शैलीमा निर्माण गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए ।
हलिउड र बलिउडका ठूला स्टारको चलचित्र प्रिमियर हुने सिनेवर्ल्डमा नेपाली चलचित्रको पहिलोपटक प्रिमियर भएको हो । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने ।
युद्ध विधामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाईएको छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले गरेका छन् ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रुपमा सुरेश राई छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रकाशको बसन्त फिल्मको टिजर सार्वजनिक
बैशाख २३, २०८१ आइतबार
मैथली फिल्म ‘लेबर’ घोषणा
बैशाख २०, २०८१ बिहिबार
मेगा प्रोजेक्ट 'बलिदान'को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?
बैशाख १६, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
ढकमक्क फुलेका ज्याकाराण्डा
बैशाख २४, २०८१ सोमबार
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुलाई छलफलमा बोलाए
बैशाख २४, २०८१ सोमबार
अतिक्रमण गरी बनाएको घरटहरा हटाउँदै
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्धारा विभिन्न विद्यालयमा पुस्तकालय निर्माण गरेर हस्तान्तरण
बैशाख २४, २०८१ सोमबार
समयमा पानी नपरेपछि अदुवा उत्पादक कृषक मारमा
बैशाख २४, २०८१ सोमबार
पोखरा–सेतीवेणी–रिडी सडकको ट्रयाक खुल्यो
बैशाख २४, २०८१ सोमबार