मधेश प्रदेशमा लागुऔषध अपराध भयावह, महोत्तरी पछि पर्सामा बढी अपराध
नेपालबहस संवाददाता
मंसिर ३०, २०८० शनिबार १०:४२:१५
विशाल बस्नेत
३० मंसिर, महोत्तरी । महोत्तरी बर्दिवासका युवराज फुयालको जिन्दगी काठमाडौं बसुन्जेल राम्रै चलेको थियो । २०६५ सालमा अङ्ग्रेजी विषयमा मास्टर डिग्री सकाएपछी उनी बर्दिवास फर्किए । बर्दिवासमा पुराना विद्यालयका साथीहरूसँगको संगतले सुरुमा फुयालले गाजा तान्न सिके । बिस्तार-विस्तार लागूपदार्थको दुर्व्यसनको दलदलमा भासिँदै गए ।
यो गलत हो भन्ने चै लाग्थ्यो तर म यसरी यस्को नशामा डुबेछ कि निस्कनको लागी निक्कै समस्या बन्यो, ३९ बर्षिय फुयालले भने, १३ बर्षसम्म यही दलदलमा भासिए पछी झण्डै २ बर्षदेखी पुर्ण रुपमा मुक्त भएको छु ।
अहिले फुयाल काठमाडाैं एक विद्यालयमा अध्यापन गराउँछन । काठमाडाैंलाई कर्मभुमी बनाए तापनी लागुपदार्थ दुर्व्यसनको चाहेर वा नचाहेर नशामा डुबेका किशोरहरूलाई पुनःस्थापन गराउनुपर्छ भन्ने उद्देश्यले फुयालले अहिले महोत्तरीमा अभियान सुरू गर्न खोजेका छन् ।
१३ बर्षसम्म मैले मात्र पिडा भोगेको छैन त्यो भन्दा ठुलो पिडा मेरो परिवारले भोगेको छ,फुयाँलले पुराना दिन सम्झँदै भने, नशा पनि एक प्रकारको रोग हो, अझ भनौ यो मेन्टल डिजेज हो, त्यसैले यसको उपचार हुन्छ भन्ने भावना जगाउनु छ ।
नशाबाट मुक्त भइसके पछी पनि सामाजिक र पारिवारिक विभेदका कारणले कतिपय पुरानो अवस्थामा नै फर्किएको फुयाँलको भनाई छ । यसका लागी सबै जनाको सहयोग जरुरी हुने उनको बुझाई छ । मनदेखी छाडने प्रतिज्ञा गर्ने हो भने कुलतबाट मुक्त बन्न सकिन्छ, फुयालले आफ्नो अनुभव सम्झँदै भने, परिवारलाई दिएको दु:ख सम्झँदा अहिलेपनी आत्मग्लानी हुन्छ ।
फुयालको जस्तै १० बर्षसम्म यहि कुलतको नशामा रन्जित बस्नेत पनि डुबेका थिए । बस्नेतले आफुसगैँ लागुपदार्थ प्रयोग गर्ने ९ जना साथीभाइलाईसमेत गुमाए । कतिपय दुर्घटनामा परे भने कतिपय अहिले पनि अंगभंगको अवस्थामा छन् ।
लागूपदार्थ प्रयोग गर्न कै लागी बस्नेतले साथीहरुसगैँ मिलेर कयौपटक चोर्ने, घर परिवारलाई दु:ख दिने गरेको अहिले पनि झलझल्ती सम्झि रहन्छन् । वास्तवमा नशामा डुवेपछी मैले भरोसा मात्र गुमाइन सामाजिक तिरस्कार पनि भोगे,बस्नेतले भने, मलाई के लाग्छ भने स्थानीय सरकारले लागुपदार्थ न्युनिकरणको लागी हामीलाई जिम्मेवारी देओस ।
एउटा ब्यक्ती नशामा कसरी डुब्छ अनि लामो समयसम्म कसरी भासिन्छ भन्ने बस्नेतलाई राम्रोसगँ थाहा छ । त्यसैले दुर्व्यसन मुक्त समाज निर्माणको लागी सरोकारवालाहरुले आफुहरु जस्तो पुर्व प्रयोगकर्तालाई अभियन्ता बनाउनुपर्ने बताउँदै लागुपदार्थको मेन्टल डिजेजको उपचार र न्यूनीकरण गर्न धेरै काम गर्न सकिने उनी बताउँछन् ।
लागुपदार्थ दुर्व्यसनको जालो खुल्ला सिमा नाकाकै कारण समस्या बनेको बस्नेतको बुझाइ छ । किशोर किशोरीहरुलाई मात्र सुरक्षाकर्मीहरुले पारी किन जादैछन भन्ने विषयमा चासो दिएर कडाइ गर्ने हो भने लागुपदार्थको समस्या आधा हुन्छ, बस्नेत भन्छन् ।
सबैभन्दा ठूलो त म सुध्रिन्छु भन्ने प्रतिज्ञा चाहिने फुयाल र बस्नेतको अनुभव छ । उनिहरु त मधेसका प्रतिनिधि उदाहरण मात्र हुन । उनिहरु जस्ता हजारौं जना कोही पुनःस्थापित भएका छन भने कतिपय सामाजिक र पारिवारिक तिरस्कारका कारण पुरानो अवस्थामा फर्किएका कयौ उदाहरणहरू छन ।
दुर्व्यसनको दलदलमा फसेर पुनःस्थापित भएका बस्नेत र फुयालजस्ता युवाहरूको खोजी गरि मनोपरामर्शदाताको रुपमा तयार गर्ने हो भने पनि लागूपदार्थ न्यूनीकरण हुन सक्ने बिज्ञहरु बताउँछन् ।
किन भने दुर्व्यसनमा फसेकाहरूलाई उनीहरूले नै पहिचान गर्न सक्छन,मधेश प्रदेशका पूर्व गृहमन्त्री भरत साहले भने, अभियानकर्मीको रुपमा निगरानी गरेर पुनर्स्थापित भएकाहरूलाई नै परिचालन गर्नुपर्छ ।
तर मधेसमा बस्नेत र फुयालजस्ता दुर्व्यसनबाट मुक्त भएका हजारौ युवाहरूलाई सामाजिक पुनःस्थापना कसरी गराउन सकिन्छ भन्ने सरोकारवालाहरुको ध्यान पुग्न सकेको छैन । त्यसैका कारण पनि मधेसमा दुर्व्यसन भयावह अवस्थामा फैलँदै गएको विभिन्न तथ्यहरूले पुष्टि गरेका छन् ।
यस्ता बिषयहरुबारे ध्यान दिन नसक्दा मधेश प्रदेश लागूपदार्थ कै कारण अपराधमा बन्दै गएको प्रहरी कै तथ्याङ्कले पुष्टि गरेको छ । प्रहरीका अनुसार ८० प्रतिशत भन्दा बढी अपराध लागुपदार्थसँग जोडिएका छन् । हत्या, हिंसा, अपहरण, जवरजस्ती करणी जस्ता घटनाहरू लागूऔषध कै कारण घटेता पनि पछि मुद्दाको रुपमा अन्य शीर्षकमा परिणत हुने गरेको पाइएको छ ।
गत आर्थिक बर्ष २०७९ को लागूऔषध सम्बन्धी तथ्याङ्क हेर्ने हो भने पनि निक्कै भयावह छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार मधेसमा लागूऔषध कै कारण १३ सय ४ जना मानिस पक्राउ परेका छन । सोही अवधिमा ५६ सय ८३ किलो गाँजा, ४९ ग्राम ब्राउन सुगर, २५० किलो चरेस, ७१२ ग्राम हिरोइन, ६६ हजार ८ सय ६५ पिस ट्यावलेट, ८ हजार २ सय २८ बोत्तल, ६२ हजार ९ सय ६ पिस इन्जेक्सन बरामद भएको थियो ।
यी तथ्याङ्कहरूले पनि मधेश लागूऔषध कै कारण कसरी आक्रान्त बन्दै छ भन्ने प्रष्ट बनाउँछ । मधेसका ८ वटा जिल्ला मध्य महोत्तरी थप यसकै कारण भयावह बन्दै गएको विभिन्न तथ्याङ्कहरूले पुष्टि गर्दै आएका छन ।
प्रहरी उपरीक्षक तथा महोत्तरीका प्रमुख प्रकाश मल्लका अनुसार आर्थिक बर्ष २०७७ / ७८ देखि २०८० सम्म १९८ वटा लागुपदार्थसगँ जोडिएका मुद्दाहरू जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन । यी मुद्दाहरूले मात्र जम्मा मुद्दाको २० प्रतिशत हुन । यसैसँग सम्बन्धित यो अवधिमा २६४ जना भन्दा बढी पक्राउ परेका छन ।
यसको साथै प्रहरीले थुप्रै लागुपदार्थहरु बरामत गरेको छ । जसमध्ये ५ हजार ४ सय ५४ ट्यावलेट, १३ सय ८० बोत्तल र १०१ इन्जेक्सन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्याङ्क छ।
महोत्तरी पछि लागुऔषध कारोबार तथा प्रयोगकर्ताका हिसाबले पर्सा जिल्ला दोश्रो बनेको छ । आर्थिक बर्ष २०८० को यो मंसिरसम्म आई पुग्दा पर्सामा ९६ जना पक्राउ परेका मध्ये ६८ जनालाई त मुद्दा नै चलाइएको छ । यो अवधीमा १९६ किलो गाँजा, ४७ किलो चरेस, १५ किलो हिरोईन, ३६ सय ११ वटा ट्याव्लेट, ५ हजार ४ सय ४० बोत्तल र १३ सय ९४ इन्जेक्सन बरामद गरेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
त्यस्तै लागुऔषध बरामद गरेको र सम्बन्धित मुद्दाका आधारमा महोत्तरी र पर्सा पछि सर्लाही, धनुषा, सिरहा, बारा, सप्तरी र रौतहट देखिएका छन । खुल्ला सिमाना र सुरक्षाकर्मीहरुको कडा निगरानीका कारणले लागुऔषधकै कारण मधेस अपराधमय बनेको आरोप लागिरहेको वेला प्रहरीहरू नवपर्वतन अभियानमा लागेका छन । नवपर्वतन अभियान अन्तर्गत मधेसमा लागूऔषधसम्बन्धी क्याम्पियनमा जुटेका छन ।
यसरी जुटदै छ प्रहरी एण्टी ड्रग क्याम्पियनमा
मधेसमा लागुपदार्थ भयावह बन्दै गएपछी प्रहरी नै विभिन्न अभियानमा जुटेको छ । जसअनुसार मधेस प्रदेश प्रहरीले गत आइतबार एक कार्यक्रमबीच लागूपदार्थ रोकथामको लागी मुख्यमन्त्री सरोज यादवको उपस्थितिमा मधेसमा उक्त अभियानको औपचारिक शुभारम्भ गरेको छ ।
साउनको पहिलो हप्ताबाट महोत्तरीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक प्रकाश मल्लले सुरुवात गरेको अभियान निक्कै नतिजामुखी बने पछी मधेश प्रदेश प्रहरीले ८ वटै जिल्लामा उक्त क्याम्पियनको शुभारम्भ गरेको हो । अभियानका क्रममा लागुपदार्थ ओसारपसार देखि प्रयोगकर्तालाई पहिचान गर्ने र मनोपरामर्शको रुपमा क्याम्पियनहरु समेत संचालन गर्ने मधेस प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख जनक भट्टराईका अनुसार सिमा नाकामा कडाइ गर्ने देखी लिएर प्रत्येक जिल्लाका नाकामा अत्याधुनिक परीक्षण मेसिन समेत प्रदेश सरकारसँग माग गर्ने बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी गर्ने पक्राउ
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार