मकर सङ्क्रान्तिः पुण्यप्राप्तिका लागि कालीगण्डकी किनारमा स्नान गर्ने भक्तको भीड
नेपालबहस संवाददाता
माघ १, २०८० सोमबार १४:५८:२
१ माघ, पर्वत । मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी किनारमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने विशेष दिनको अवसरमा भक्तजनको बिहानैदेखि स्नानका लागि भीड लागेको हो ।
उत्तरायण सुरु हुने आजको दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिने भएकाले बिहानदेखि कालीगण्डकीका विभिन्न स्थानमा भक्तजनको भीड लागेको हो । कालीगण्डकीअन्तर्गत पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी धाम, सेतीवेणी, पुर्तिघाट, जैमिनिघाट, नयाँपुललगायत स्थानमा बिहानदेखि भीड लागेको हो । मोदीवेणीमा बिहानदेखि भजनकीर्तन पनि सुरु भएको छ ।
बिहान कालीगण्डकीमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वासका साथ उनीहरु स्नान गर्न आएका हुन । नजिकका भक्तजन बिहान कालीगण्डकीमा पुगेका छनभने टाढाटाढाबाट आउनुपर्नेहरु भने आइतबार नै सदरमुकाम कुश्माबजार, फलेवास, शालिग्रामलगायत बजार क्षेत्रमा बसोबास गरी बिहान स्नान गर्न पुगेका हुन ।
माघे सङ्क्रान्तिका दिन कालीगण्डकीमा स्नान गरेर घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन रहेको छ ।
यसैबीच, पर्वत, स्याङ्जा र गुल्मीका सङ्गमस्थलमा अवस्थित कालीगण्डकी नदीको तट सेतीवेणीमा आज विशेष मेला लागेको छ । तीन जिल्लाको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शन गर्न र कालीगण्डकी स्नान गर्नका लागि स्वदेश तथा विदेशबाट भक्तजनको भीड लागेको स्थानीय तिलक पराजुलीले जानकारी दिए ।
कालीगण्डकी ‘ए’ जलविद्युत निर्माणका क्रममा बनेको जलाशयमा सञ्चालित स्टिमरमार्फत शालिग्रामको दर्शन गर्न आउनेको सङ्ख्या उल्लेख्य रहेको उनले बताए । अन्य चाडपर्वमा भन्दा माघे सङ्क्रान्तिमा यहाँ बढी भीड लाग्ने गर्दछ । उक्त स्थानमा माघे सङ्क्रान्तिमा एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य भक्तजन आउने गरेका छन ।
रुरुक्षेत्रमा भक्तको भीड
यसैगरी, मकर सङ्क्रान्तिका अवसरमा गुल्मीको धार्मिक एवं ऐतिहासिकस्थल रुरुक्षेत्रको कालीगण्डकीमा स्नान गर्नका लागि आज बिहानदेखि श्रद्धालु भक्तजनको घुइँचो बढेको छ । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरु क्षेत्रमा अवस्थित कालीगण्डकी नदीमा स्नान गरी त्यस नजिकै रहेको भगवान ऋषिकेष मन्दिरमा पूजाआजा गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त हुने जनविश्वास रहिआएको छ ।
आजका दिन कालीगण्डकीमा स्नान गर्नाले आफूले अन्जानमा गरेका सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास छ । नेपालकै चार धाममध्येको एक धामका रुपमा प्रसिद्ध धार्मिकस्थलका रुपमा चिनिएको रुरुक्षेत्रमा स्नान गर्नका लागि नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
त्यस अवसरमा स्थानीय रुरु फ्रेन्ड्स क्लब र फ्रेन्ड्स क्लबको मुख्य आयोजनामा आजदेखि छ दिनसम्म रमाइलो मेला सञ्चालन गरिएको छ । कालीगण्डकी नदीमा सञ्चालन हुन लागेको रिडी मेलामा हातबाट बुनेका कम्मल, काम्ला, राडी–पाखीलगायत बाँस तथा चोयाबाट निर्मित सामग्रीका साथै ओखरका घाँजी, गुँड, सुन्तलालगायत वस्तुको राम्रो व्यापार हुने गर्दछ ।
मकर सङ्क्रान्तिमा रिडी क्षेत्रमा हजारौँ श्रद्धालु भक्तजन आउने भएका कारण रिडी मेलामा व्यापार गर्नका लागि गुल्मी, पाल्पा, अर्घाखाँचीलगायत स्याङ्जा, प्यूठान, बाग्लुङ्, रुकुम, रोल्पा, पर्वतलगायत ठाउँबाट समेत व्यापारी रिडी आउने गर्दछन ।
मेलामा रुरुक्षेत्र गाउँपालिका र कृषि ज्ञान केन्द्रको आयोजनामा कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ । प्रदर्शनीमा घरेलु उत्पादनका सामग्रीलगायत कृषि उपजका वस्तु राखिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए ।
मेला अवधिभर स्थानीय एवं राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति राखिएको छ । मेलालाई व्यवस्थित रुपमा सञ्चालनका लागि स्थानीय एक दर्जनभन्दा बढी सङ्घसंस्थाको पनि सहयोग रहेको मेला आयोजक संस्था रुरु फ्रेन्ड्स क्लबका अध्यक्ष सोबित थापाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार