ऐनमा बाझिने गरी वालिङका सामूदायिक विद्यालय वडा अध्यक्षलाई दिने तयारी
मोहन गुरुङ
माघ ४, २०८० बिहिबार १६:४९:२
४ माघ, स्याङजा । वालिङ नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन मिति तोकिएको छ । नगरका कूल ७२ विद्यालयहरूमा आगामी माघ १० गतेका लागि विद्यालय व्यवस्थापन समिति गठन गर्न/गराउन वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गत पुस २८ सम्पन्न वालिङ नगरपालिकाको १५ औं नगर सभाद्वारा संशोधित वालिङ नगरपालिकाको स्थानीय शिक्षा (दोस्रो संशोधन) ऐन, २०८० अनुसार नयाँ व्यवस्थापन समिति गठन प्रमुख खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ । वर्तमान व्यवस्थापन समितिको कार्यअवधि आगामी माघ ९ गते सकिने उल्लेख गर्दै नगरभित्रका सम्पूर्ण विद्यालयहरूमा एकैदिन अर्थात् माघ १० मा व्यवस्थापन समिति गठन गर्न निर्देशन दिइएको छ ।
भर्खरै संशोधित ऐनको उपदफा १ को ‘ग’मा विद्यालय रहेको सम्बन्धित वडाका जनप्रतिनिधिहरू मध्येबाट माध्यमिक तहमा वडा अध्यक्ष र आधारभूत विद्यालयमा वडा कार्यसमितिले तोकेको जनप्रतिनिधि व्यवस्थापन समितिको अध्यक्ष रहने उल्लेख गरिएको छ । तर काबु बाहिरको परिस्थिति उत्पन्न भई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिक्त हुन आएमा नगरप्रमुखको परामर्शमा वडा कार्यसमितिले तोकेको जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनेछ ।
त्यसै गरी उपदफा २ मा माध्यमिक तह वा उपल्लो तह लागि विद्यालय व्यवस्थापन समितिमा रहन एस.एल.सी वा सो सरहको योग्यता हुनुपर्नेछ । तर, निर्वाचित स्थानीय जनप्रतिनिधिहरूको हकमा यो दफा लागु हुनेछैन ऐनमा उल्लेख गरिएको छ ।
यता संघीय सरकारले सामुदायिक र सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित विद्यालयको गठन, काम, कर्तव्य र अधिकारबारे अभिभावकले आफूमध्येबाट छानी पठाएका दुई जना महिलाहरूसहित चार जना सदस्य, विद्यालय रहेको सम्बन्धित वडाको वडा अध्यक्ष वा वडा समिति सदस्यहरू मध्येबाट सो वडा समितिले मनोनयन गरेका सदस्य, र विद्यालयका संस्थापक, स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर सहयोग गर्ने वा १० दश लाख भन्दा बढी नगद वा जिन्सी सहयोगलाई व्यवस्थापन सदस्य बन्न सक्ने उल्लेख गरिएको छ । विद्यालयका शिक्षकहरूबाट छानी पठाएको मध्येबाट एक जना र विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने गरी व्यवस्थापन समिति गठन गर्न सकिने उल्लेख गरिएको छ ।
नगर प्रमुख कृष्ण खाँण दुई तिहाइ बहुमतले पारित ऐन कार्यान्वयन हुनेमा विश्वस्त छन् । उनले स्थानीय सरकार स्वायत्त संगठन भएकाले सरकार सञ्चालनका लागि आवश्यक ऐन नियम र कार्यविधि आफै तयार गरिने बताए । नगर प्रमुख खाँणले भने, ‘जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिले बनाएको ऐनको कार्यान्वयन हुनेमा ढुक्क छु । जनताकै लागि आवश्यक ठानेर ऐन संशोधन गरिएको हो ।’ संघीय सरकारसँग बाझिने बारे प्रश्न गर्दा त्यसको अन्तिम फैसला अदालतको रहेको बताए ।
उपप्रमुख तिवारीद्वारा विरोध
१५ औं नगर सभाद्वारा संशोधित वालिङ नगरपालिकाको स्थानीय शिक्षा (दोस्रो संशोधन) ऐन, २०८० लाई नगर उपप्रमुख कविता तिवारीद्वारा विरोध गर्दै आएकी छन् । उपप्रमुख तिवारीको नेतृत्वमा नगरसभा बहिष्कार गरेका थिए । उपप्रमुख सहित १५ जनाद्वारा विज्ञप्ति मार्फत बहिष्कार गरेको जानकारी गराइएको थियो ।
संशोधित ऐनलाई लिएर कुटाकुट
भर्खरै सम्पन्न नगर सभाद्वारा दुई तिहाइ बहुमतले पारित ऐनबारे नगरपालिकाको कार्यालय परिसरभित्र कार्यपालिका सदस्यबीच कुटाकुट भएको थियो । वडा नम्बर १० का वडा अध्यक्षले वडा नम्बर ५ बाट निर्वाचित वडा सदस्यलाई नगर परिसरमा कुटपिट गरेका हुन् । कुटपिटबारे नेपाली कांग्रेस नगर समितिको पटक पटक बैठक बसेको थियो ।
विभिन्न राजनीतिक दल, संगठन र व्यक्तिहरूको विरोध
संशोधित ऐनले वालिङको राजनीतिक माहोल तातिएको छ । ऐनबारे एक विज्ञप्ति निकाल्दै राष्ट्रिय स्वतन्त्र पार्टी वालिङ नगर समितिले नगरपालिकाको ध्यानाकर्षण गराएको छ । कांग्रेस निकट मानिने नेपाल शिक्षक संघ वालिङ नगर कार्यसमिति एक विज्ञप्ति जारी गर्दै नगरपालिकाको ध्यानाकर्षण गराएको छ । यस्तै नगर शिक्षा समितिका सदस्य द्वय जीवलाल काफ्ले र यमकान्त खनालले शिक्षा ऐन २०८० को खुलेरै विरोध गरेका छन् । काफ्ले रणवीर जनहित माध्यमिक विद्यालय वालिङ १ खहरेका व्यवस्थापन समितिका अध्यक्ष हुन् ।
उता नेकपा (एमाले) र शिक्षक संगठनले भने संशोधित ऐनबारे कुनै आधिकारिक धारण व्यक्त गरेका छैनन् । एमालेबाट निर्वाचित नगर प्रमुख हुँदा एमाले र तिनका भातृसंगठनलाई खुलेर विरोध गर्न सकिरहेको छैन ।
यस्तो छ नजिर
सम्बन्धित वडाका वडा अध्यक्षलाई विद्यालयका व्यवस्थापन समिति बनाउने ऐन निर्माण गर्ने पालिका वालिङ दोस्रो हो । यसअघि काठमाडौं महानगरपालिकाले वडा अध्यक्षहरुलाई सम्बन्धित विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बनाउने कार्यपालिकाद्वारा गरिएको निर्णयलाई सर्वोच्च अदालत बदर गरिदिएको थियो ।महानगरले कानुनको पालना गर्ने भन्दै आफ्नो निर्णयबाट पछि हटेको थियो ।
वालिङमा कक्षा १ देखि सञ्चालित विद्यालय ४८, कक्षा १ देखि ८ सम्म ८ वटा, कक्षा १ देखि १० सम्म ५ वटा र १ देखि १२ सम्म ११ वटा विद्यालय रहेका छन् । जसमा ६ हजार ६ सय ५७ विद्यार्थी अध्ययनरत छन् ।
मोहन गुरुङ
नेपालबहस डटकमका सह–सम्पादक मोहन गुरुङ एक दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । स्याङजा दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका गुरुङले अकला आवाज साप्ताहिक, रेडियो वालिङ, सौर्य न्युज र नागरिक दैनिकमा काम गरिसकेका छन् । भ्रष्टाचार, अनियमितता, विकृति एवं विसंगतिका विरुद्ध तिखो कलम चलाउने गुरुङ आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर हुन् ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार