राहतको भ्रष्टाचारमा महासचिव गुरुङको संलग्नताबारे प्रचण्ड मौन, जिल्लामा हलचल
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार १२:३०:३७
१७ माघ, काठमाडौं । सरकार सञ्चालनको प्रमुख हिस्सेदार रहेको नेकपा माओवादीभित्र छिमेकी देशले दिएको राहतमा पनि विवाद भएको छ । चीनको "चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्ट"ले रुकुम पश्चिमका भूकम्पपीडितका लागि भनेर पठाएको राहत वितरणलाई लिएर माओवादी केन्द्रभित्र विवादमात्र होइन महासचिव देव गुरुङलाई गम्भीर आरोप समेत लगाइएको छ । पार्टीको महासचिवमाथि राहतमा भ्रष्टाचार गरेको आरोप लाग्दा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' मौन छन् ।
राहत वितरणको विषयलाई लिएर माओवादी केन्द्रका महासचिव देव गुरुङ र वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसीबीच जुहारी नै चलेको छ । ‘उहाँहरूबीच एकप्रकारले ‘इगो हर्ट’ देखियो’, माओवादीका एक पदाधिकारीले भने । फाउन्डेसनले नेपालका चार वटा पार्टी कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमार्फत राहत बाँड्ने भनेर सामग्री पठाएको थियो । अन्य पार्टीले आ–आफ्नो कोटाअन्तर्गतको राहत वितरण गरे पनि माओवादी केन्द्रले आफ्नो भागमा परेको राहत वितरण गर्दा विवाद मात्र होइन एकले अर्कालाई आरोप प्रत्यारोप समेत लगाइएको छ ।
गत मंसिर २० गते राहत बाँड्न भनेर आएका चिनियाँ नागरिक सोउ सिच्याङको टिम र नेपालको प्रतिनिधि संस्थाका कन्ट्री डाइरेक्टर मुक्ति मरासिनीको माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य केसीसँग विवाद भएको थियो । विवाद एक–अर्कालाई हात-हालाहालसम्मको अवस्थामा पुगेको र उक्त विवाद स्थानीय प्रहरी कार्यालयसम्म पुगेर तत्काललाई मिलाइएको थियो ।
पछि फेरि चिनियाँ नागरिकले आफूमाथि हातपात नै भएको भनेर जाजरकोट जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न तम्सिएपछि प्रहरीले उक्त घटनाबारे प्रतिवेदन तयार गरेर अभद्र व्यवहार गर्न नहुने अन्तर्गत मुद्दा दर्ता गरेको थियो । माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य केसीले उक्त राहत सामग्री वितरण गर्ने जिम्मा पाएको नेपालको प्रतिनिधि संस्थाका कन्ट्री डाइरेक्टर मुक्ति मरासिनी महासचिव देव गुरुङका भदैनीका श्रीमान् भएको र दुवैको मिलिभगतमा राहत सामग्रीमा ठूलो भ्रष्टाचार भएको भन्दै यसको छानबिन हुनुपर्ने माग गरेका थिए ।
जाजरकोट जिल्ला प्रहरी कार्यालयले त्यस प्रकरणमा चिनियाँ महिलाले न्यायको माग गरेपछि केसी, मुकेश रावल र अमर खत्रीका नाममा मुद्दा दर्ता गरेको थियो । जाहेरीमा उल्लेख भएकामध्ये अमर खत्री ५ हजार धरौटीमा रिहा भएको र बाँकी २ जना फरार छन् । त्यस विषयमा महासचिव देव गुरुङले केन्द्रीय सदस्य केसीलाई ‘स्पष्टीकरण सोधेका थिए । सो स्पष्टीकरणमा माओवादी केन्द्रका महासचिव गुरुङलाई सम्बोधन गरेर लेखिएको ६ पृष्ठको उक्त स्पष्टीकरणमा केसीले भूकम्पपीडितका लागि आएको राहतमा भ्रष्टाचार भएको उल्लेख गरेका छन् ।
केसीले महासचिव गुरुङ र माओवादी केन्द्रकी कर्णाली प्रदेश इन्चार्ज विमला केसी उक्त ‘भ्रष्टाचारमा जोडिएको’ आरोप लगाएका थिए । 'चाइना फाउन्डेसन फर रुलर डेभलभमेन्ट'मार्फत ग्लोबल कर्पोरेसन डेभलपमेन्टले हालसम्म जिल्ला विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति रुकुम पश्चिमलाई कुनै पनि राहत सामग्री हस्तान्तरण नगरेको लिखित प्रष्टीकरण जिल्ला प्रशासन कार्यालयले दिएको छ । भूकम्पपीडितका लागि आउने हरेक राहत सामग्री जिल्लामा दर्ता गरेर मात्रै हस्तान्तरण गर्नुपर्ने एकद्वार प्रणालीको नियम विपरीत यस संस्थाले राहत बाँडेको थियो ।
माओवादी केन्द्रका महासचिव गुरुङले जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलन नै गरेर चाइनाको सहयोगमा आएको राहत सामग्री प्रति भूकम्पपीडितलाई २३ हजार रूपैयाँ बराबरको सामान वितरण गर्ने बताएकापनि बाँडिएको सामान पाँच हजार बराबरको पनि नभएको स्थानीयको दावी छ । इन्चार्ज विमलाले आठबीसकोटका लागि आएको राहतसमेत सानीभेरीमा लगेर बाँडेको र भर्पाइ भने आठबीसकोटकाे गराएका थिए ।
महासचिवलाई सम्बोधन गरिएको स्पष्टीकरणमा देव गुरुङ र इन्चार्ज विमलामाथि गोर्खबहादुरले गालीगलौजपूर्ण भाषासमेत प्रयोग गरेका छन् । आफूलाई पार्टीले बेलाबेलामा दिने पद र जिम्मेवारीसँग कुनै मतलब नभएको भन्दै उनले आफूलाई जनताको साथ भएको र यही नै आफ्ना लागि ठूलो कुरा भएको समेत बताएका छन् । गत पुस २८ गते बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गोर्खबहादुर केसीलाई ‘स्पष्टीकरण सोध्ने र आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने’ निर्णय पनि गरेपछि यो विवाद अहिले सतहमै आएको छ ।
राहत सामग्रीमा भ्रष्टाचार गरेको आरोपबारे माओवादी केन्द्रका महासचिव गुरुङले यसमा कुनै सत्यता नभएको बताएका छन् । ‘यो त चाइनास्थित संस्थाले नेपालको संस्थासँग नियमसंगत साझेदारी गरेर सबै प्रक्रिया पुर्याएर राहत वितरण गरेको हो,’ उनले भने, ‘हामीले त राहत बाँड्ने कुरामा यो–यो ठाउँमा बाँड्नुपर्छ भनेर मात्रै भनेका हौं । यस बाहेक के–कसरी बाँड्ने भन्ने त संस्थाको कुरा भयो ।’
यो विवादलाई केन्द्रसँग जोडिएर हेरिएको छ । खासगरी माओवादीका महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माबीचको प्रतिस्पर्धालाई लिएर हेर्न थालिएको हो । विगतमा महासचिवको दावी गरिरहेका शर्मालाई प्रचण्डले गुरुङलाई अघि सारेका थिए । पार्टीमा बर्षमान पुन र शर्माको प्रतिस्पर्धा भएपछि प्रचण्डले गुरुङलाई अघि सारेका थिए । गुरुङलाई महासचिव भएकोमा शर्मा र पुन सन्तुष्ट छैनन् । जसले गर्दा अहिलेको विवाद अनन्तकालसम्म लम्बिने माओवादी वृत्तमा चर्चा हुन थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले मंगलबार विहानसम्म प्रधानमन्त्रीको निर्णय कुर्ने
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
प्रधानमन्त्रीको निर्णय कुर्दै कांग्रेसले स्थगित गर्यो संसदीय दलको बैठक
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
कांग्रेसले मंगलबार विहानसम्म प्रधानमन्त्रीको निर्णय कुर्ने
बैशाख ३१, २०८१ सोमबार
के तपाई फिट रहन प्रोटिन पाउडर खानुहुन्छ ? होसियार
बैशाख ३१, २०८१ सोमबार
जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट गरिने
बैशाख ३१, २०८१ सोमबार
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरूलाई ब्याग वितरण
बैशाख ३१, २०८१ सोमबार
भारतमा लोकसभाको चौथो चरणको मतदान जारी
बैशाख ३१, २०८१ सोमबार
मुक्तिनाथ विकास बैंकद्वारा धादिङका विद्यार्थीहरूलाई स्टेशनरी सामान वितरण
बैशाख ३१, २०८१ सोमबार