पत्रकारको श्रमका पक्षपाती सुशील दा'
नेपालबहस संवाददाता
माघ २७, २०८० शनिबार १५:५४:१६
२७ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघको एउटा महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भन्नुभएको थियो । “अब पत्रकारहरू पनि गाडी चढ्न सक्ने हुनुपर्दछ ।” उहाँको त्यो सम्बोधन हुँदै गर्दा प्रज्ञा–प्रतिष्ठानको हल हाँसो र तालीले गुञ्जायमान भयो । पत्रकारले पारिश्रमिक पाउने र गाडी किन्ने अवस्थाको निर्माण असम्भव जस्तै लाग्थ्यो त्यो बेला । त्यसैले हल हाँसोसहित गुञ्जायमान भएको थियो । तर कोइरालाको त्यो भनाइको अन्तर्य निकै गहन थियो ।
श्रम गर्ने पत्रकारले श्रमको उचित सम्मान नपाउने कुरा एउटा लोकतान्त्रिक नेतृत्वका लागि स्वीकार्य थिएन । उहाँले पत्रकारको यो पीडा राम्रोसँग महसुस गर्नुभएकाे थियाे । कोइरालाले भने झैँ यति बेला सबै श्रमजीवी पत्रकार गाडी चढ्न नसके पनि सम्पादक गाडी चढ्न थालेका छन् । पत्रकार सम्मेलन गर्नका लागि आयोजकहरूले सहज गाडी पार्किङ भएको स्थान खोज्न थालेका छन् ।
सुशील कोइराला नेपाली राजनीतिमा एउटा आदर्श, सादगी अनि सहज नेताका रुपमा चिनिनु हुन्छ । उहाँले आफूलाई जीवनपर्यन्त वीपी कोइरालाको एउटा असल अनुयायीका रुपमा प्रस्तुत गर्ने प्रयत्न गरे भन्ने गरिन्छ, २०१७ सालको ‘कु’ नभएको भए सुशील कोइराला फिल्मको हिरो बन्नुहुन्थ्यो । हिरो हुनु भनेको सृजनशील हुनु हो ।
राजनीतिमा सृजनशीलता सधैं अपेक्षित हुन्छ । त्यसैले दार्शनिकहरुले भन्ने गरेका छन्, राजनीति कला पनि हो, विज्ञान पनि हो । विज्ञानले परिणाम निकाल्छ, कलाले त्यो परिणाम निकाल्नका लागि भूमिका खेल्छ । त्यसकारण कला अर्थात् सृजनशील पक्षको अभाव भएको नेतृत्वले राजनीतिमा कुनै परिणाम दिन सक्दैन । सृजनशील सुशील कोइरालाले आफ्नो जीवनमा परिणाम मात्र दिए । उनी प्रधानमन्त्री हुँदा असम्भव झैं लाग्ने संविधान नै जारी गरे ।
संविधानका पिताको विशेषण आफ्ना नामका अगाडि थपेर उनको निधन भयो । उनी हिरो हुने सपनामा रमाउँदै गर्दा उनलाई कसैले पनि राजनीतिमा जम्ला भनेर सोचेका थिएनन् तर तानाशाही व्यवस्था प्रारम्भ भएपछि उनले आफ्नो व्यक्तिगत चाहनाको क्षेत्र छाडेर लोकतान्त्रिक आन्दोलनको सिपाही हुने निधो गरे । कोइराला परिवारको व्यवस्थापनका नाममा लोकतान्त्रिक आन्दोलनसँग जोडिए । उहाँ सबै निजी स्वार्थभन्दा टाढा हुनुहुन्थ्यो । यतिसम्म कि उहाँले विवाहका प्रशस्त सम्भावनालाई नकार्दै एउटा आन्दोलनमा प्रतिबद्ध सिपाहीका रुपमा आफूलाई समर्पित गर्नुभयो ।
लोकतन्त्रका पक्षमा यसरी समर्पित कोइरालाले नागरिक अधिकारभन्दा ठूलो केही कुरालाई पनि मान्नु भएन । लोकतन्त्रलाई उहाँले संसारको उत्तम शासन व्यवस्था ठान्नुभयो । लोकतान्त्रिक पद्धतिको पक्षमा उहाँले आफूलाई सधैं उभ्याइरहनु भयो । एउटा रोचक सन्दर्भ छ उहाँको । उहाँ बाँकेबाट चुनाव लड्दै गर्दा उहाँसँग स्थानीयले खानेपानीको धाराको अपेक्षा गरे । चुनावको बेलाको अपेक्षालाई उम्मेदवारले ‘हुन्छ’ भन्छन् र भन्नुपर्छ भन्ने आम अपेक्षा थियो । तर कोइरालाले खरो जवाफ दिनुभयो, “धारा देनेका काम म्युनिसिपालिटी वाले करेङ्ग, मै तो कानुन निर्माण के लिए पार्लियामेन्ट के मेम्बर के लिए इलेक्सन में आया हुँँ, पानी के नल आप लोगोको मुझसे नहीं माग्नी चाहिए ।” उहाँको यो जवाफ उहाँका लागि प्रत्युत्पादक भयो । उहाँले २०५१ सालको चुनाव हार्नुभयो । २०६४ सालको चुनाव पनि हार्नुभयो । तर उहाँले आफ्नो अभिव्यक्तिलाई कहिल्यै गलत ठान्नुभएन । उहाँले भन्नुहुन्थ्यो, “लोकतन्त्र गतिशील भयो भने आवश्यकता अनुसारको विकास अनिवार्य हुन्छ ।” उहाँको यो आदर्श नेपालको सन्दर्भमा कहिले कार्यान्वयन हुने हो वा हुने हैन ? यो कुराको जवाफ समयले देला । तर उहाँको यो पवित्र सोच नेपालका सबै राजनीतिक नेतृत्वमा देखियो भने अवस्था परिवर्तन हुन कुनै समय लाग्ने छैन ।
राजाको प्रत्यक्ष शासन प्रारम्भ भएपछि कोइराला नेपालगञ्जको प्रहरी कार्यालयमा कैदी भए । संयोगले भेट्ने अवसर भयो । लामो कुराकानी पछि उहाँले भन्नुभयो, “गणतन्त्रको पक्षमा तपाईंहरु (पत्रकारहरु)ले जनमत बनाई दिनुस्, अनि कुरा गरम्ला ।” उहाँको यो अभिव्यक्तिसँगै कोइराला बसेको कोठाको माथि टाँगिएका राजा रानीको फोटो देखाउँदै मैले भने, ‘सुशील‘दा त्यो फोटोको ठाउँमा म राष्ट्रपति सुशील कोइरालाको फोटो हेर्न चाहन्छु ।” मैले यसो भन्दा उहाँका आँखाबाट आँसु झरेका थिए । पत्रकार महासङ्घका तत्कालीन सभापति तारानाथ दाहाल, सदस्य विनोद ढुङ्गेल, पोषण केसी र नेपालगञ्जका पत्रकार कृष्ण अधिकारी यो संवादका साक्षी थिए ।
कोइरालाको आँसुमा मैले गणतन्त्रको चित्र देखे । जनमत निर्माणमा लागियो । अनि उहाँकै नेतृत्वमा गणतान्त्रिक संविधान बन्यो । मिडियासँगको यो ढङ्गको अपेक्षा र विश्वास कमै राजनीतिक नेतृत्वले गरेका हुन्छन् । सुशील कोइरालामा त्यो तहको विश्वास थियो । उहाँ प्रधानमन्त्री हुँदा संविधानका विषयमा छलफल हुँदा पत्रकारिताका सन्दर्भमा छलफल हुँदा उहाँले सधैं ‘पत्रकार महासंघले के भन्छ यो विषयमा ?’ भनेर सोध्ने गर्नुहुन्थ्यो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वीपी कोइराला अनि गिरिजाप्रसाद कोइरालाको जस्तै प्रस्ट दृष्टिकोण थियो सुशील कोइरालाको । लोकतन्त्रको निरन्तर अभ्यासको कडा पक्षपाती कोइरालाले मिडियालाई लोकतन्त्रको निरन्तर अभ्यासका लागि ‘मोविल’को संज्ञा दिनुहुन्थ्यो ।
मिडियाको महत्वलाई यसरी बुझ्न सक्ने राजनीति नेतृत्व हुने हो भने नेपाली मिडियाका धेरै समस्याको समाधानका लागि राज्य सहयोगी हुन्थ्यो होला । उहाँ पत्रकारिताका पक्षपातीमात्र नभएर नेपाली राजनीतिका असल पात्र हुन् । त्यही असल बाटो हो, जुन यात्राले उहाँलाई नेपाली जनतामाझ लोकप्रिय बनायो र राजनीतिमा सफल पनि गरायो । उहाँ राजनीतिलाई असल मार्ग हिँडाउन खोज्दथे । कम बोल्ने, तर मीठो बोल्ने उनको प्रवृत्ति, व्यवहार र सरलताको प्रत्यक्ष साक्षी भएका कारण पनि यो अनुभव भएको हो ।
दोस्रो निर्वाचित संविधानसभाले संविधान बनायो । प्रधानमन्त्री कोइरालाले सबैको योगदानलाई समेटेर संविधान जारी गर्ने सफल वातावरणलाई नेतृत्व दिन सके आन्तरिक तनाव र बाह्य दबावका कारण बनेर संविधान आउने, नआउने वा कहिले आउने अनिश्चयका बीच सहमति, सहकार्य, एकता र मेलमिलाप सूत्र पढाएर उहाँले त्यो सफलता नेपाली राजनीतिलाई दिन सकेका हुन् । राजनीतिलाई स्वच्छ नैतिक दायित्व मान्ने उहाँले आफ्नो जीवनको अन्तिम ध्येय संविधान बनाउन निश्चित गरेका थिए । नेपाली राजनीतिका ती मूर्धन्य असल पात्र एवं राष्ट्रिय ध्येयमा समर्पित राजनीतिज्ञ सुशील कोइराला बित्नुभएको नवौँ वर्ष प्रवेश गरेको छ । नवौँ स्मृति दिवसमा उहाँप्रति भावभिनीश्रद्धा, श्रद्धाञ्जली । रासस ( लेखक नेपाल पत्रकार महासंघका सभापति हुनुहुन्छ ।)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
कृत्रिम बौद्धिकता 'एआई'को प्रयोगद्वारा जीवनको खोज
पुष १७, २०८१ बुधबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार
चितवनमा तोरीखेती बढ्यो
पुष २४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार